+
+

एकीकृत समाजवादीभित्र प्रस्ट गुटबन्दी

सोमबार मतदान हुँदा विशेषगरी उपाध्यक्ष र उपमहासचिव पदमा बलियो गुटगत प्रतिस्पर्धा देखियो ।

सइन्द्र राई सइन्द्र राई
२०८१ भदौ ११ गते २२:०५

११ भदौ, काठमाडौं । एकीकृत समाजवादीभित्रको अन्तरसंघर्ष चुनावी प्रतिस्पर्धासम्म पुगेको छ । मंगलबार पदाधिकारी र पोलिटब्यूरो सदस्यका लागि भएको मतदानमा गुटगत प्रतिस्पर्धा भएको हो ।

वरिष्ठ उपाध्यक्षसहित १८ पदका निम्ति मनोनयन दर्ता गर्दा प्रस्ट गुटगत उम्मेदवारी देखिएको थियो ।

तर वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे सर्वसम्मत भए । घनेन्द्र बस्नेतलाई उम्मेदवारी फिर्ता लिन सहमत गराएर पाण्डेलाई निर्विरोध वरिष्ठ उपाध्यक्ष बनाइएको थियो । स्रोतका अनुसार बस्नेतलाई वरिष्ठ नेताको आश्वासन दिइएको छ । ‘प्रमेश हमाल, घनेन्द्र बस्नेत र बेदुराम भुसाल लगायतलाई वरिष्ठ नेता बनाउने आश्वासन दिइएको छ’, ती स्रोत भन्छन् ।

एकीकृत समाजवादीको विधानमा २१ जना पदाधिकारी बाहेक वरिष्ठ नेताहरु समेत राख्न सकिने व्यवस्था छ । त्यही व्यवस्था बमोजिम वरिष्ठ नेता बनाउने आश्वासन बस्नेतलाई दिइएको छ ।

तर वरिष्ठ उपाध्यक्षमा निर्विरोध गराउन पहल गरेका नेताहरुले अरु पदमा भने चुनावी प्रतिस्पर्धा हुन दिए । ३४४ जना केन्द्रीय सदस्यबाट निर्वाचित भएर आउने बाटो खुला गरिदिएपछि १७ पदका निम्ति ६७ जनाको उम्मेदवारी पर्‍यो ।

महिला उपाध्यक्षमा जयन्ती राई र रामकुमारी झाँक्रीको उम्मेदवारी पर्यो । मधेशी समुदाय तर्फका उपाध्यक्षमा धर्मनाथप्रसाद साह र रामचन्द्र झाले उम्मेदवारी दिए । चार जना खुला उपाध्यक्षका निम्ति ११ जनाले उम्मेदवारी दिए ।

चार उपमहासचिव पदका निम्ति १९ जनाको उम्मेद्वारी पर्यो । दलित र जनजाति तर्फको एक/एक सचिवमा तीन/तीन जनाले उम्मेद्वारी दिए । ५ पदको खुला सचिवमा २७ जनाको उम्मेदवारी परेको थियो ।

तर शीर्ष नेताहरुले उम्मेदवारी दिएकाहरुलाई स्वतन्त्र प्रतिस्पर्धा हुन दिएनन् । अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भूसाल पक्षका नेताहरुले मतदान गर्नुपर्ने पदाधिकारीको सूची नै बनाएर बाँडे ।

उम्मेदवार धेरै भएकाले पटकपटक फरक-फरक सूची बनिरहँदा प्रमुख नेताहरुको नाम छुटेनन् । मुख्यगरी महिला उपाध्यक्ष, मधेशी समुदायका उपाध्यक्ष र खुला उपाध्यक्षहरुमा प्रष्ट गुटबन्दी देखियो ।

अध्यक्ष नेपालका तर्फबाट जारी गरिएको सूचीमा महिला उपाध्यक्षमा रामकुमारी झाँक्रीको नाम राखिएको थियो । यद्यपि यही समूहको चर्को सूचीमा रामकुमारी झाँक्री र जयन्ती राई दुवैको नाम थियो । ‘जयन्ती र रामकुमारी जसलाई भोट हालेपनि हुन्छ भनेर एउटा चिट बनाइएको थियो, फेरि रामकुमारीको मात्र राखेर बनाइयो’, एक नेताले भने ।

रामकुमारीलाई माधव नेपाल तर्फको सूचीमा राखिएपछि जयन्ती राईको नाममा घनश्याम भूसाल पक्षका नेताहरुले मत मागे । मधेशी समुदायको उपाध्यक्षमा माधव नेपाल समूहले रामचन्द्र झालाई मत मागे भने धर्मनाथप्रसाद साहलाई भूसाल पक्षका नेताहरुले मत मागे ।

बाँकी चार खुला उपाध्यक्ष पदमा माधव नेपाल पक्षले डा.गंगालाल तुलाधर, जगनाथ खतिवडा, उर्वादत्त पन्त र विरोध खतिवडाको नाम राखेको थियो । खतिवडा र तुलाधर यसअघि उपमहासचिव थिए ।

खतिवडा र तुलाधरसँगै उपमहासचिव रहेका डा.विजयकुमार पौडेल र प्रकाश ज्वाला भने महासचिव भूसालको समूहमा उभिए । ‘माधव नेपालको सूचीमा नपरेपछि उहाँहरु स्वतः फरक टीमबाट उम्मेदवार हुनुभयो’, महासचिव भूसाल निकट एक नेताले भने । भूसाल समूहले अर्का उपाध्यक्षमा भानुभक्त जोशीको नाम राखेको छ ।

गत १६–२१ असारमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनकै क्रममा यस्तो पक्षधरता देखिएको थियो । घनेन्द्र बस्नेत, जयन्ती राई, धर्मनाथप्रसाद साह, विजय पौडेल, प्रकाश ज्वाला, जीवनराम श्रेष्ठहरु नेतृत्व परिवर्तनको पक्षमा उभिएका थिए । उनीहरुले घनश्याम भूसाललाई अध्यक्ष बनाउन लबिङ गरेका थिए ।

तर अध्यक्ष, सम्मानित नेता र महासचिव पदमा निर्विरोध भयो । महाधिवेशन हलकै चाहना निर्विरोध नेतृत्व चयन होस् भन्ने रहेको भन्दै अध्यक्ष मण्डलका अध्यक्ष रहेका झलनाथ खनालले तीन पद घोषणा गरेका थिए ।

अध्यक्षमा माधव नेपाल, सम्मानित नेतामा आफैं र महासचिवमा भूसालको नाम घोषण गरेर बाँकी पद यी तीन जनाले टुंग्याउने भनेका थिए । जसअनुसार, तत्कालीन पोलिटब्यूरोमा रहेका ९३ जनालाई केन्द्रीय सदस्य मनोनीत गरिएको थियो ।

महाधिवेशन सकिएको एक महिनापछि गत १८ साउनमा थप २५१ जना केन्द्रीय सदस्य मनोनीत गरेर ३४४ सदस्यीय केन्द्रीय कमिटीको नाम सार्वजनिक गरिएको थियो । यसरी महाधिवेशनबाट निर्विरोध नेतृत्व टुंग्याउने क्रममा अध्यक्ष नेपालसहित नेताहरुले भर्खरै बनेको पार्टीमा चुनाव गराउन नहुने तर्क गरेका थिए ।

तर आइतबारदेखि सुरु भएको केन्द्रीय समितिमा बैठकमा पदाधिकारी र पोलिटब्यूरो छान्न मतदानको प्रक्रिया अवलम्बन गरिएको छ ।

मतदान हुँदा एकीकृत समाजवादीभित्रको अन्तरसंघर्ष छरपष्ट भएको छ । ‘भर्खरै बनेको पार्टीमा मतदानबाट नेतृत्व नछानौं भनेर महाधिवेशन प्रतिनिधिहरुलाई घर पठाइयो, अहिले आफैंले छानेको केन्द्रीय सदस्यबाट मतदान गरियो’, एक जना केन्द्रीय सदस्यले भने ।

मंगलबार मतदान हुँदा विशेषगरी उपाध्यक्ष र उपमहासचिव पदमा बलियो गुटगत प्रतिस्पर्धा देखियो । माधव नेपालको सूचीमा उपमहासचिव पदका निम्ति रामकुमार भट्टराई, राजेन्द्र राई, नागेन्द्र चौधरी र अम्मर थापाको नाम समावेश थियो ।

यही समूहले अर्को चिटमा बाँडेको थियो । जहाँ नागेन्द्र चौधरीको नाम हटाएर लक्ष्मण केसीको नाम समावेश छ भने उर्वादत्तको नाम हटाएर प्रकाश ज्वालाको नाम राखिएको छ ।

भूसाल समूहले उपसचिव पदमा जीवनराम श्रेष्ठ, गरिमा साह, हरि पराजुली र शत्रुध्न महतोको नामको सूची बाँडेको थियो । सचिव पदमा पनि गुटगत मत मागिएको छ ।

ठूलो संख्या भएकाले पोलिटब्यूरो सदस्यमा भने प्यानल देखिएन । १०४ सदस्यीय पोलिटब्यूरोका निम्ति २०२ जनाले उम्मेदवारी दिएका थिए ।

अपडेट : चुनिए एकीकृत समाजवादीका पदाधिकारी

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?