+
+
नाडा अटो शो :

नयाँ गाडी किन्नेलाई यी हुन सक्छन् ‘इन्ट्री लेभल’ विकल्प

आफैं गाडी किनेर चढ्ने मन धेरैको हुन्छ, तर एकैचोटि महँगो गाडी कसरी किन्ने भन्ने प्रश्न टड्कारो छ । यस्तो समस्या समाधानका लागि नाडा अटो शो पुग्दा धेरैको समस्याको समाधान हुन्छ । ३० लाख रुपैयाँभित्रै नयाँ गाडीबाट ‘इन्ट्री’ लिने ग्राहकलाई शोमा उपयुक्त गाडी आएका छन्, त्यो पनि विशेष छुटमा ।

अमृत चिमरिया अमृत चिमरिया
२०८१ भदौ १२ गते २०:२५

१२ भदौ, काठमाडौं । ठूला चाडबाड सुरु हुन थालेको छ । चाडपर्वको मौसम यसै पनि रमाइलो हुन्छ । ठूला चाडबाडमा नयाँ केही न केही किन्ने नेपालीको परम्परा नै हो ।

नयाँ लत्ताकपडासँगै पछिल्लो पटक मध्यम वर्गमा नयाँ सवारीसाधन किन्ने मौसम सुरु भएको छ । यही मेसोमा राजधानीको भृकुटीमण्डपमा दुई दिनदेखि जारी ‘नाडा अटो शो २०२४’ सही गन्तव्य हो ।

आफैं गाडी किनेर चढ्ने मन धेरैको हुन्छ, तर एकैचोटि महँगो गाडी कसरी किन्ने भन्ने प्रश्न टड्कारो छ । यस्तो समस्या समाधानका लागि नाडा अटो शो पुग्दा धेरैको समस्याको समाधान हुन्छ ।

३० लाख रुपैयाँभित्रै नयाँ गाडीबाट ‘इन्ट्री’ लिने ग्राहकलाई शोमा उपयुक्त गाडी आएका छन्, त्यो पनि विशेष छुटमा ।

तपाईं अहिले बाइक चढिरहनुभएको छ, तर अब गाडी चढ्ने मन छ भने बजारमा उपयुक्त गाडी आएका छन् ।

यी हुन् इन्ट्री लेभलका गाडी

टियागो

टाटा मोटर्सले कम मूल्यको विद्युतीय गाडी (ईभी) सेग्मेन्टका रूपमा रहेको ह्याचब्याक टियागो नयाँ ग्राहकका लागि गाडी किन्ने सबैभन्दा उपयुक्त देखिन्छ । टाटाले नेक्सन र टिगोरपछि तेस्रो ईभीका रूपमा टियागो लन्च गरेको थियो ।

नेपाली बाटो अनुसार रहेको यो गाडी धेरै बजारमा आइसकेकाले ‘न्यु इन्ट्री’ लाई कन्फिडेन्स पनि दिन्छ ।

यो ईभीमा डीसी फास्ट चार्जिङ पोर्ट भएकाले जम्मा ५७ मिनेटमा १० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज हुन्छ । होम चार्जरले चार्ज गर्दा भने फुलचार्ज गर्न ८ घण्टासम्म लाग्ने छ ।

कम्पनीका अनुसार टियागो ईभीमा २४ किलोवाट आवरको ब्याट्री प्याक भर्सनले एक पटकको फुलचार्जमा ३ सय १५ किलोमिटर र १९.२ किलोवाट आवर ब्याट्री प्याक भर्सनले २ सय ५० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । टियागो ईभी लङ रेन्जको सुरुवाती मूल्य २७ लाख ४९ हजारदेखि २९ लाख ९९ हजारसम्ममा पाइन्छ ।

गाडी चलाउन सजिलो, पार्किङका लागि सहज, किफायती र वातावरणमैत्री भएका कारण पनि टियागो ईभी लोकप्रिय रहेको कम्पनीको दाबी छ ।

नामी

डोङफेङ मोटर्सको उत्पादन ‘नामी’ का गाडी पनि इन्ट्री लेभलका लागि उपयुक्त गाडी हो । नामीले मोडेल ई१, ई२ र ई३ नेपाल ल्याएको छ । ई१ र ई२ मा ब्याट्री अप्सन ३१.४ किलोवाट छ भने ई३ मा ४२.३ किलोवाट आवरको ब्याट्री अप्सन छ । १७५ एमएम अग्लो ग्राउन्ड क्लियरेन्स छ ।

त्यस्तै लिथियम आइरन फस्फेट ब्याट्री प्याकसँग पिक पावर ७० किलोवाटको इलेक्ट्रिक मोटर तीनवटै भेरिएन्टमा दिइएको छ । ई१ र ई२ को ३ सय ३० र ई३ को ४ सय ३० किलोमिटरसम्म रेन्ज छ ।

डिसी फास्ट चार्जर प्रयोग गरी यसलाई ३० मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । यो गाडीको अगाडि दुइटा मात्रै एयरब्याग छ । नामी ई१ को मूल्य २९ लाख ९९ हजार ई२ को मूल्य ३१ लाख ९९ हजार र ई३ को मूल्य ३४ लाख ९९ हजार तोकिएको छ । उपयुक्त मूल्य र आरामदायी यात्राका लागि नयाँ सवारीसाधन किन्नेलाई नामी राम्रो विकल्प हुन सक्छ ।

सेरेसको मिनी ईभी

नेपाली बजारमा सेरेसको नयाँ मोडेलमा सस्तो ईभी आएको छ, जुन नयाँ ग्राहकका लागि उपयुक्त हुन सक्छ । नेपाली बजारमा मध्यम वर्गले पनि सहजै किन्न सक्ने सेरेसको ‘मिनी ईभी १८० टप’ १७ लाख ४९ हजार रुपैयाँ र ‘मिनी इभी २२० टप’ १८ लाख ९९ हजार रुपैयाँमात्र पर्छ । १८० टप मिनी ईभीमा फुल अप्सन हो भने ग्राउन्ड १४० एमएम छ । ४ सिटे यो गाडीमा पिक पावर २५ किलोवाट छ ।

यसको ब्याट्री क्षमता १३.८ किलोवाट छ । १ सय ८० किलोमिटर रेन्ज दिन्छ । यस्तै २२० टप मिनी ईभी फुल अप्सन हो भने यसको पनि ग्राउन्ड १४० एमएम छ । यसको ब्याट्री क्षमता १६.८ किलोवाट छ भने ४ सिटे यो गाडीमा पिक पावर ३० किलोवाट छ ।

केईको ई–क्युट

लक्ष्मी मोबिलिटी र जियो अटोमोबाइलले नेपाल ल्याएको ‘ई–क्युट’ ह्याचब्याक गाडी पनि ईभीमा सस्तो मूल्यमा धेरै रेन्ज दिने गाडीमध्ये हो । यो ब्रान्डका गाडी नयाँ मोडेलमा ‘ई–क्युट ०२’ को दुइटा भर्सन र ‘ई–क्युट ०४’ को एउटा गाडी सार्वजनिक भइसकेको छ ।

ई–क्युट ०२ मोडेल दुई भेरिएन्टमा उपलब्ध छ, जसमा २ सय किलोमिटर रेन्ज दिने र ३ सय किलोमिटर रेन्जको छ । जसको मूल्य क्रमशः १९ लाख ९६ हजार र २२ लाख ९६ हजार तोकिएको छ । ई–क्युट ०२ मा २८.०८ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर छ भने अधिकतम टर्क ११० एनएम छ ।

त्यसै गरी ई–क्युट ०४ को मूल्य २४ लाख ९६ हजार रहेको छ । यसले ३ सय किलोमिटर रेन्ज दिने कम्पनीको भनाइ छ । ई–क्युट ०४ मा २८.०८ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर छ । यसको अधिकतम टर्क ११० एनएम छ ।

आफूसँग भएको पेट्रोलियम गाडीबाट ईभीमा कन्र्भट हुन चाहने वा नयाँ किन्न चाहनेका लागि ई–क्युट उपयुक्त देखिन्छ ।

ब्रम्बी

बेइजिङ अटोमोबाइल वर्क (बीएडब्लू) ले उत्पादन गरेको चिनियाँ गाडी ब्रम्बी पनि नाडामा राखिएको सस्तोमध्ये एक हो । एलआरआर ग्रुपले नेपाल भित्र्याएको यो ईभी नाडा अटो शोमा २१ लाख ९० हजार रुपैयाँमा पाइन्छ ।

यसको नियमति मूल्य २३ लाख हो । त्यसकारण पनि ब्रम्बी गाडीका लागि उपयुक्त समय अहिले देखिन्छ । ब्रम्बी ह्याचब्याकमा ३० किलोवाट पिक पावर भएको इलेक्ट्रिक मोटर दिइएको छ । यसको रेटेड पावर १५ किलोवाट छ ।

चार जनाले यात्रा गर्न सक्ने ५ ढोका भएको ब्रम्बी इलेक्ट्रिक ह्याचब्याकमा १७.२८ किलोवाट आवरको ब्याट्री दिइएको छ । उक्त ब्याट्रीलाई फुल चार्ज गर्दा २ सय ५ किलोमिटर गुडाउन सकिने कम्पनीको दाबी छ । यसमा २२७५ एमएम लामो ह्विलबेस पाउन सकिन्छ । रियर ह्विल ड्राइभ मोटर दिइएको कारमा अगाडि चक्कामा डिस्क र पछाडि चक्कामा ड्रम ब्रेक छ ।

भोल्ट्स

नाडा अटो शोमा सानो र कम मूल्यमै पाइने गाडीका रूपमा ‘भोल्ट्स’ गाडी देखिएको छ । एसक्युब इन्टरप्राइजेजले भोल्ट्सका दुइटा ईभी मोडेल ल्याएको हो । कम्पनीले भोल्ट्सका ‘एचईभी–३००’ र ‘एच’ मोडेल ल्याएको हो ।

एचईभी–३०० को मूल्य २५ लाख ९५ हजार तोकिएको छ भने यसको नियमित मूल्य २८ लाख रुपैयाँमा बिक्री गरिने कम्पनीले जनाएको छ । भोल्ट्सको एचको मूल्य नाडामा १९ लाख ९५ हजार छ ।

नियमित मूल्य भने २१ लाख ५० हजार पर्छ । कम्पनीका अनुसार एचईभीमा ३३ किलोवाट आवर ब्याट्री छ । एचईभी–३०० कारमा ३५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर छ भने गाडीले ३ सय ३५ किलोमिटर रेन्ज दिन्छ । ह्याचब्याक डिजाइनमा गाडी बनेको छ । यसमा २४१५ एमएमको ह्विलबेस छ भने यसको ग्राउन्ड क्लियरेन्स १७५ एमएम छ । भोल्ट्स एचमा १७.२८ किलोवाट ब्याट्री छ भने ३५ किलोवाटको मोटर छ । यसले २ सय ५ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।

यी गाडी नाडा अटो शो २०२४ मा उपलब्ध छन् । १६ भदौसम्म सञ्चालन हुने अटो शोमा ५५ ब्रान्डका गाडी प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा २४ ब्रान्डका चार पाङ्ग्रे, १९ ब्रान्डका दुई पाङ्ग्रे र १२ ब्रान्डका हलुका व्यावसायिक गाडी प्रदर्शनीमा राखिएका छन् ।



तस्वीरहरू : आर्यन धिमाल/अनलाइनखबर

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?