+
+

ब्रोकर कम्पनीको ‘टीएमएस’ सञ्चालनमा किन भयो ढिलाइ ?

ब्रोकर कम्पनीले आफ्नै टीएमएस प्रयोग गर्ने गरी कारोबार परीक्षण गरे पनि नेप्सेको सिस्टमसँग ‘म्याचिङ’ मा ढिलाइ भएपछि यो प्रक्रिया लम्बिने भएको हो ।

कमल नेपाल कमल नेपाल
२०८१ भदौ १३ गते ८:५७

१३ भदौ, काठमाडौं । ब्रोकर कम्पनीकै कारोबार प्रणाली (टीएमएस) सञ्चालन गर्ने तयारी अझै अपूरो देखिएको छ । सेयर र अन्य धितोपत्र किनबेच गर्न लगानीकर्ता तथा कारोबारीले अहिले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को ‘विजट्रेड म्यानेजमेन्ट सिस्टम’ (टीएमएस) प्रयोग गर्दै आएका छन् ।

ब्रोकर कम्पनीले आफ्नै टीएमएस प्रयोग गर्ने गरी कारोबार परीक्षण गरे पनि नेप्सेको सिस्टमसँग ‘म्याचिङ’ मा ढिलाइ भएपछि यो प्रक्रिया लम्बिने भएको हो ।

श्रीलंकाको आइरन वान टेक्नोलोजीले विकास गरेको टीएमएस यहाँ डीजी हबमार्फत ब्रोकर कम्पनीलाई पूर्ण तयार गरी हस्तान्तरण गर्ने तयारी भइरहेको थियो । तर, यो तयारी क्रममा नेप्सेको सिस्टमसँग म्याचिङका लागि नेप्सेबाट थप सहयोग पाएपछि मात्रै प्रक्रिया अघि बढ्ने डीजी हबका एक उच्च अधिकारीले बताए ।

उनका अनुसार नयाँ टीएमएसबाट कारोबार सकिएपछि फेरि त्यसको सूचना टीएमएसमै ग्राहकले पाउनुपर्नेमा अहिले त्यो सूचना पाउने विषय मिलाउनुपर्ने भएको छ । यसअघि कारोबारको लाइभ परीक्षण कार्य सेक्योर्ड सेक्युरिटिज मार्फत भइसकेको छ । ‘सीमित दक्ष केहीले नयाँ टीएमएसबाट लाइभ कारोबार गरिसक्नुभएको छ,’ सेक्योर्ड सेक्युरिटिज अध्यक्ष सन्तोष मैनालीले भने ।

केही डेटाका विषयमा नेप्सेको सिस्टमसँग पूर्णरूपमा तालमेल मिलाउने प्रक्रियागत कार्य बाँकी रहेकाले पनि यसलाई हाल अघि बढाउन नसकिएको उनको भनाइ छ । दसैंअघि नै नयाँ टीएमएस आम सर्वसाधारणले प्रयोग गर्ने गरी तयारी भइरहेको उनले बताए ।

सीडीएससीका एक उच्च अधिकारीका अनुसार पूँजीगत लाभकरको तथ्यांकको विषय डिजी हबको नयाँ सिस्टममा मिलाउनुपर्ने देखिएको छ ।

‘पूँजीगत लाभकरको तथ्यांकका विषयमा डिजी हबको सिस्टममै केही त्रुटिपूर्ण देखिएको थियो, हाम्रोतर्फ कुनै समस्या छैन,’ ती अधिकारीले भने । यो विषयलाई अहिले मिलाइसकिएको डीजी हबका  अधिकारीले बताए ।

हाल दैनिक कारोबार उच्च भइरहेकाले र धेरै लगानीकर्ताले कारोबार गरिरहेकाले पनि तत्काललाई आम लगानीकर्ता माझ लाइभमा लैजाने कार्यमा जोड नगरिएको स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटाले बताए ।

‘अहिले कारोबारमा उत्साह देखिएका बेला नयाँ टीएमएस लाइभमा सिफ्ट भइसकेपछि लगानीकर्तालाई केही समस्या देखिएमा अप्ठेरो हुन सक्छ,’ सापकोटाले भने, ‘सिफ्ट हुने बेला पनि बजारको संवेदनशीलता विचार पुर्‍याउनुपर्ने भएकाले रोकिएको हो ।’

हाल ३३ ब्रोकर कम्पनीले डीजी हबमार्फत टीएमएस लिनेछन् भने पछि क्रमशः अरू पनि जोडिँदै जान सक्ने छन् । ‘केही ब्रोकर कम्पनीले नयाँ टीएमएसबाटै लाइभ कारोबार थालिसकेपछि अरू पनि थपिन्छन् नै, नयाँ टीएमएस आधुनिक प्रविधियुक्त हुने भएकाले लगानीकर्ता/कारोबारीले पनि अवलम्बन गर्नेछन् ।’

नयाँ टीएमएस चलाउने तरिकाबारे भिडियो सामग्री बनाएर लगानीकर्ता तथा कारोबारीलाई प्रदान गरिने र भिडियो हेरेर सहजै कारोबार गर्न सक्ने उनको भनाइ छ ।

नेप्से पनि नयाँ टीएमएस लाइभमा लैजान सकारात्मक छ । ‘संसारभरि नै कारोबार प्रणाली ब्रोकर कम्पनीकै हुन्छ, हामीले अस्थायी रूपमा अहिले टीएमएस दिएका हौं,’ नेप्से प्रवक्ता मुराहरि पराजुलीले भने, ‘ब्रोकर कम्पनीहरूले आफ्नै टीएमएस प्रयोग गर्नुपर्छ, त्यसो हुँदा आधुनिक प्रविधि अवलम्बनमा उनीहरूबीच प्रतिस्पर्धा पनि हुन जान्छ ।’

हाल ब्रोकर कम्पनीले नेप्सेको टीएमएस प्रयोग गर्दा मासिक २५ हजार रुपैयाँ शुल्क बुझाउँदै आएका छन् । तर, नयाँ टीएमएसको मासिक शुल्क औसत करिब १५ हजारजति पर्न आउँछ । यसले ब्रोकर कम्पनीलाई आर्थिक फाइदाका साथै चाहेका बेला आफैंले टीएमएसलाई विकास गर्दै लैजान सक्छन् ।

बजारको संवेदनशीलता र अनुकूलता हेरेर नयाँ टीएमएस सिफ्ट गर्न तयारी अवस्थामा रहेको मैनालीको दाबी छ । नयाँ टीएमएस मोबाइल एप, डेस्कटप र वेब गरी तीन भर्जनमा रहेको उनले बताए । मोबाइल एप नै प्रयोग गरेर सजिलो तरिकाले सेयर किनबेच गर्न सकिने उनले बताए ।

‘ग्राहकलाई चलाउन सहज हुने गरी थप सुविधा सहित टीएमएस बनेको छ,’ मैनालीले भने, ‘सुरुसुरुमा चलाउने तरिकाबारे हामीले भिडियो बनाएर सार्वजनिक गर्छौं, ग्राहकले त्यहीँ भिडियोबाट नयाँ टीएमएस चलाउन सिक्नेछन् ।’

ग्राहकले कारोबारका लागि मात्रै टीएमएस चलाउँदा कुनै शुल्क बुझाउन नपर्ने उनले स्पष्ट पारे । नयाँ टीएमएसमा चार्ट तथा डाटा सहित स्तरीय सेवा सुविधा उपलब्ध हुनेछ । ती सुविधा प्रयोग बापत भनेपछि ब्रोकर कम्पनीले शुल्क समेत लिन सक्नेछन् । यद्यपि, यसबारे अहिले कुनै निर्णय भइनसकेको ब्रोकर कम्पनी बताउँछन् ।

धितोपत्र कारोबार नियमावलीमा कारोबार तथा त्यस सम्बन्धी सेवा पुर्‍याए बापत ब्रोकर कम्पनीहरूले शुल्क लिन पाउने व्यवस्था छ ।

त्यस्तै नासा सेक्युरिटिजले छुट्टै टीएमएस सञ्चालनमा ल्याउने तयारी गरेको छ । नासाले छुट्टै टीएमएस एस्टेरिस्क टेक्नोलोजी मार्फत खरिद गरेको छ । भारतको डिओन ग्लोबल सोलुसनले बनाएको टीएमएस नासाले प्रयोग गर्ने प्रबन्ध सञ्चालक मदन पौड्यालले बताए ।

ग्राहकलाई थप सेवा सुविधा दिन नै आफूहरूले छुट्टै टीएमएस सञ्चालन गर्न लागेको उनले बताए । छुट्टाछुट्टै टीएमएस लिँदा ब्रोकरहरूबीच पनि आधुनिक प्रविधिमा प्रतिस्पर्धा हुन जाने र यसले समग्र बजारको विकासलाई टेवा पुग्ने ब्रोकर कम्पनी बताउँछन् ।

के–के सुविधा हुन्छ नयाँ टीएमएसमा ?

हालको टीएमएस मार्फत ग्राहकले कारोबारका लागि धितो (कोल्याटरल) लोड त गर्न सक्छन्, तर कोल्याटरल विवरण सही देखिँदैन । नयाँ टीएमएसमा भने लोड भएको कोल्याटर खरिदपछि बाँकी रहेको कोल्याटरल सही देखिने छ ।

त्यस्तै नयाँ टीएमएस मार्फत ग्राहक आफूले गरेको कारोबार विवरण, भुक्तानी लिन÷दिन बाँकी रकम हिसाबकिताब सही रूपमा हेर्न पाउनेछन् । हाल आफ्नो हिसाबकिताब विवरण ब्रोकर कम्पनीसँगै माग्नुपर्ने बाध्यता लगानीकर्तामा छ ।

‘नयाँ टीएमएस मार्फत तथ्यांकीय रूपमा पनि विभिन्न कम्पनीका एनालाइसिस गर्न सकिने छ, प्राविधिक विश्लेषणका विभिन्न टुल्स उपलब्ध हुनेछ,’ पौडेलले भने, ‘त्यस्तै लगानीकर्ताले टीएमएसबाट आफ्नो पोर्टफोलियो पनि विस्तृत रूपमा हेर्न सक्नेछन् ।’

टीएमएसमा केही समस्या देखिए पनि तुरुन्तै हल गर्न सकिने ब्रोकर कम्पनीहरू बताउँछन् । कारोबारका थप औजार विकास भए ती औजार पनि टीएमएसमा समेट्दै चाहे अनुसार ब्रोकर कम्पनीले नै स्तरोन्नति गर्दै लैजान सक्नेछन् ।

नयाँ टीएमएसमा चार्ट हेरेर धितोपत्र खरिद–बिक्रीको रणनीति पनि बनाउन सकिन्छ, आफ्नो कारोबारको विवरण पनि हेर्न सकिने छ ।

नयाँ टीएमएसमा ‘ब्याकअप’ कारोबार समेत जोडिने भएकाले वास्तविक हिसाबकिताब एउटै प्लेटफर्ममा देखिने छ । हालको टीएमएसमा दिनभरि भएको कारोबार त देखिन्छ, तर त्यो पहिलेको कारोबारसँग जोडिएको हुँदैन, एकमुष्ठ हिसाबकिताब हेर्न सकिँदैन ।

लामो समयसम्म भएको कारोबार तथा हिसाबकिताब, आफ्नो पोर्टफोलियो विभिन्न चार्ट र प्राविधिक एनालाइसिसका टुल्स सही रूपमा देखिने भएपछि लगानीकर्तालाई छुट्टै एप वा वेब हेरिरहन आवश्यक पर्दैन ।

लेखकको बारेमा
कमल नेपाल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत नेपाल धितोपत्र बजार विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?