+
+

गण्डकीमा ९ मन्त्रालय बनाउने सहमति, एमालेले ४ वटा पाउने

फणीन्द्र र मनाङे मन्त्री कायमै

अमृत सुवेदी अमृत सुवेदी
२०८१ भदौ १३ गते १९:४३

१३ भदौ, पोखरा । गण्डकी प्रदेशमा ९ मन्त्रालय बनाउन नेपाली कांग्रेस र एमालेबीच सहमति भएको छ । सहमति अनुसार अब एमालेबाट ४ जना मन्त्री बन्ने छन् ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्रालयको संख्या ९ भन्दा नबढाउने भनेपछि त्यति नै कायम गर्ने सहमति भएको हो । कांग्रेस–एमालेबीच १० मन्त्रालय बनाएर बाँडफाँड गर्ने कि ९ बनाउने भन्ने विवाद लामो समय रहँदा एमाले सरकारमा सहभागी भएको थिएन ।

कांग्रेस प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेका अनुसार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री खगराज अधिकारीबीच ९ मन्त्रालय बनाउने सहमति भइसकेको छ ।

‘९ मन्त्रालय बनाउने विषयमा सहमति भइसकेको छ । अब एमालेबाट ४ जना मन्त्री बन्ने छन्’, न्यौपानेले अनलाइनखबरसँग भने, ‘मन्त्रालयसहित २/४ दिनमा मन्त्रिपरिषदलाई पूर्णता नै दिने तयारी छ ।’

मुख्यमन्त्रीलाई विश्वासको मत दिएका नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा र स्वतन्त्र जितेका राजीव गुरुङ (दीपक मनाङे)लाई मन्त्रीमा यथावतै राखेर कांग्रेस–एमालेबीच ४/४ मन्त्रालय बनाउन प्रस्ताव भए पनि मन्त्रालय धेरै नबनाउने एमालेको जोड थियो । बरु मन्त्रालय फुटाएर संख्या बढाउने तर फणीन्द्र र मनाङेलाई नहटाउने मुख्यमन्त्री पाण्डेले अडान लिएका थिए ।

एमाले सुरुमा ७ मन्त्रालयबाट बढाउन नहुने अडानमा थियो तर मुख्यमन्त्री पाण्डेले फणीन्द्र र मनाङेलाई नहटाउने भएकाले २ मन्त्रालय लिने भए त्यो सम्भव हुने जवाफ दिएका थिए ।

मुख्यमन्त्री पाण्डेले फणीन्द्र र मनाङेलाई कुनै पनि हालतमा नहटाउने अडान लिए । मुख्यमन्त्री पाण्डेको अडानले एमाले लचिलो भएको हो ।

मुख्यमन्त्री पाण्डेले एमालेबाहेक नै नीति तथा योजना आयोगमा नेसपा र राप्रपाबाट सदस्य नियुक्त गरेर पूर्णतासमेत दिएका थिए भने मनकामना क्षेत्र व्यवस्थापन समितिमा पनि कांग्रेस निकटका व्यक्ति अध्यक्ष नियुक्त गरेका थिए । पाण्डे प्रेस रजिस्ट्रारसमेत नियुक्त गर्ने तयारीमा छन् ।

मुख्यमन्त्री पाण्डेले पार्टीमा शेखर कोइराला र गगन थापा समूहलाई समेत मिलाउन कांग्रेसबाट थप एक जना मन्त्री बनाउन चाहन्थे । तर, मन्त्रालयको संख्या ९ बाट नबढ्ने भएपछि अब शेखर–गगन समूहबाट नबन्ने देखिएको छ ।

‘अब मन्त्रिपरिषदमा एमालेबाट मात्र मन्त्री आउने छन् । कांग्रेसको अब च्याप्टर क्लोज भइसक्यो’, एक नेताले भने, ‘मन्त्रालय केके रहने भन्ने पनि लगभग टुंगिइसकेको छ ।’ ९ मन्त्रालयमा सहमति भएसँगै अब सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट युवा तथा खेलकुद मन्त्रालय बनाउने र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयबाट मनाङेको जिम्मेवारी हेरफेर गर्ने योजना छ । मुख्यमन्त्रीसँगै रहेको आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालय बनाउने तयारी रहेको एक मन्त्रीले बताए ।

अहिले कांग्रेसबाट मुख्यमन्त्री पाण्डेसँगै सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापा, आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङ छन् । फणीन्द्र ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र मनाङे भौतिक मन्त्री छन् । फणीन्द्रको मन्त्रालय यथावत राखेर मनाङेको भौतिक पूर्वाधार मन्त्रालयसहित लिएर एमाले सरकारमा जाने एक नेताले बताए ।

एमाले संसदीय दल तथा नेता खगराजले मुख्यमन्त्रीसँग कुनै विषयमा अहिले असहमति नरहेको र छिट्टै सबै टुंगिने बताए । ‘मुख्यमन्त्रीसँग छलफल गरेर छिट्टै टुंग्याउँछौं’, अधिकारीले भने । एमालेले भूगोल, पार्टीभित्रको समूह र महिला पुरुषको सन्तुलन मिलाएर मन्त्री छान्ने तयारीमा नेता अधिकारी छन् ।

संविधानअनुसार कुल सांसदको २० प्रतिशत मन्त्रालय बनाउन सकिने हुँदा ६० सदस्यीय गण्डकी प्रदेश सभामा १२ जनासम्म मन्त्री बनाउन सकिन्छ । यसअघि कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री हुँदा बनाइएको १२ वटा मन्त्रालयलाई खगराज आएपछि ७ वटामा झारेका थिए ।

एमाले नेतृत्वको सरकारलाई बिस्थापित गर्दै २८ गते बडो सकसपूर्ण हिसाबले विश्वासको मत लिएर नीति तथा कार्यक्रम र बजेट ल्याएका थिए ।

२ पटकसम्म सर्वोच्चमा मुद्दा दायर गरेर ठूलो दलको नेताका हिसाबले अदालतको आदेशअनुसार नै नियुक्त भएका पाण्डेले दीपक मनाङे र नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटाको सहयोगमा विश्वासको मत पाएका थिए ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?