+
+

रास्वपा सांसदको प्रश्न : नेपाल एयरलाइन्सका जहाज आर्थिक लेनदेनमा ग्राउन्डेड गराएको त होइन ?

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १३ गते १३:५२

११ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले नेपाल एयरलाइन्सका जहाजहरू आर्थिक लेनदेनमा ग्राउण्डेड गराएको हुन सक्ने आशंका गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले नेपाल एयरलाइन्सका सबै जहाजहरु ग्राउन्डेड हुन पुगेको गुनासो जनस्तरमा रहेको बताए ।

‘विभिन्न क्षेत्रमा, विभिन्न अन्तर्राष्ट्रिय रुटहरूमा सञ्चालित नेपाली जनतासँग वा पर्यटकलाई बोक्ने रुटहरुमा सञ्चालित कतैपनि हाम्रो ध्वजाबाहक उडिराखेको छैन । नेपाल एयरलाइन्स उडिराखेको छैन’, उनले भने ।

सी चेकको लागि एक महिनाको मात्रै समय लिएर केही दिन दिल्लीमा राखिएको र त्यसपछि इटाली लगिएको उल्लेख गर्दै उनले थपे, ‘इटालीमा ९० दिन भन्दा धेरै भइसक्यो, जहाँ दैनिक रुपमा हामी ३ हजार भन्दा बढी पार्किङ चार्ज तिरिराखेका छौं ।’

हाल नेपाल एयरलाइन्सले दैनिक पाँच करोड भन्दा धेरै नोक्सानी बेहोरिरहेको उल्लेख गर्दै उनले नेपाल एयरलाइन्सको जहाज ग्राउन्डिेड हुनुमा कतै आर्थिक लेनदेन छ कि भनेर प्रश्न गरेका हुन् ।

‘यो चाडपर्व आउन लागेको बेला कतै अन्तर्राष्ट्रिय अरु कम्पनीले अरु सञ्चालितहरुलाई पैसा र नाफा दिनको लागि सेटिङमा आफ्नो ध्वजाबाहकलाई पार्किङमा पुर्‍याइएको हो कि भन्ने पनि आशंका छ’ सांसद झाले भने ।

अथवा सम्बन्धित क्षेत्रसँग अध्ययन नगरेको व्यक्तिलाई नेपाल एयरलाइन्सको जिम्मेवारी दिएकाले यस्तो भएको हो कि भन्ने पनि उनको आशंका छ । ‘अर्को कारण त्यो क्षेत्रसँग सम्बन्धित अध्ययन नगरेको व्यक्तिलाई राजनीतिक वा आर्थिक प्रलोभनमा त्यो पदको जिम्मेवारी दिइएको पनि हो कि !’ उनले भने ।

जे जस्तो कारणले भए पनि नेपाल एयरलाइन्सलाई दैनिक पाँच करोड घाटा भइराखेको दोहोर्‍याउँदै उनले सोधे, ‘राजनीतिक प्रलोभनमा र आफ्नो मान्छेहरुको व्यवस्थापन र केही आर्थिक लेनदेनले गर्दा यो भएको हो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?