+
+

हवाई सुरक्षाबारे सांसद सोबिताका दर्जन प्रश्न

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १३ गते १९:१५

१३ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले हवाई सुरक्षाबारे गम्भीर हुनुपर्ने बताएकी छिन् ।

बिहीबार प्रतिनिधिसभामा हवाई दुर्घटनाबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल प्रस्ताव प्रस्तुत गर्दै उनले नेपालमा हरेक वर्ष एकपछि अर्को जहाज दुर्घटना हुनुको कारण खोजिनुपर्ने माग गरिन् ।

एउटा सुरक्षा मापदण्ड र नेपालको हवाई क्षेत्र युरोपेली युनियन (ईयू) को कालोसूचीमा परेकोबारे सांसद गौतमले जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव सभामा प्रस्तुत गरिन् ।

विश्वभरि नै हवाई यातायात अन्य यातायातको तुलनामा सुरक्षित मानिने उल्लेख गर्दै उनले नेपालको सन्दर्भमा तुलनात्मक रूपमा सुरक्षित भनिएको हवाई क्षेत्रमा हरेक वर्ष एउटा न एउटा जहाज दुर्घटना भइरहेको बताइन् ।

‘दुर्घटना हुनुका थुप्रै कारण छन्, ती के–के हुन् भन्ने पनि सरकारलाई थाहा छ, तर ती कारण थाहा भए पनि समस्या समाधान गर्न सरकार गम्भीर भएको देखिँदैन,’ उनले भनिन् ।

नेपालमा हवाई दुर्घटना हुँदा मौसम, बादललाई दोष दिइने गरेको समेत उल्लेख गरिन् ।

‘नेपालको जस्तो छिनछिनमा मौसम बदलिरहने देश अरू पनि छन्, अन्त दुर्घटना नहुने नेपालमा हुने, यो कसरी भयो ?,’ उनको प्रश्न ‘मौसमको प्रतिकूलताको असर कम गर्न सक्ने उपाय, प्रविधि कत्तिको प्रयोगमा आउने गरेका छन् ?’

नेपालमा अधिकांश पाइलटले नाङ्गो आँखाले देखेर उडान गर्नुपर्ने उडान नियम भीएफआर अनुसार उडान गरिरहेको भन्दै उनले प्रतिकुल मौसमका बेला उपकरणमा आधारित उडान नियम (आईएफआर) उडान किन नगरेको भन्दै प्रश्न गरेकी छिन् ।

आइएफआर उडानमा प्रतिकुल मौसममा पनि सुरक्षित हुने भए पनि किन अनिवार्य नगरेको भन्दै उनले प्रश्न गरेकी छिन् ।

‘आईएफआर’ उडानका लागि नेपालका धेरै रुटमा प्रविधिमा आधारित रुट नै नबनाएको भन्दै उनले विमानस्थल बनाउने र विस्तार गर्ने भन्दा बढी जहाँ दुर्घटना भइरहेका छन्, त्यहाँ उपकरण किन जडान नगरेको प्रश्न उठाएकी छिन् ।

पाइलटलाई तत्कालीन परिस्थितिबाट बच्ने उपाय र दुर्गम भेगमा आवश्यक उपकरण जडानमा समेत उनले जोड दिएकी छिन् । एयर ट्राफिक कन्ट्रोलरको क्षमतामाथि समेत प्रश्न गरेकी छिन् ।

एटीसी हटसिटमा बस्नेको भूमिका पाइलटको जस्तै हुने भन्दै उनले गुणस्तरीय तालिम लिएका एटीसीलाई मात्र जिम्मेवारीमा खटाउनुपर्ने बताइन् ।

यूएस बाङ्ला जहाज दुर्घटनाको समयको अडियो बाहिर आएको र त्यसमा धावनमार्गमा कन्फ्युज भएको भन्दै उनले त्यसबेला एटीसीले स्पष्ट दिशानिर्देश गर्न नसकेको बताइन् ।

पाइलटलाई पर्याप्त ‘वेदर ब्रिफ्रिङ’ नभएको भन्दै उनले अन्तर मन्त्रालय समन्वयमा समेत प्रश्न उठाएकी छिन् ।

उनले विमानस्थलमा हुने अग्नि नियन्त्रक संयन्त्रले तत्काल काम गर्न नसकिरहेको भन्दै प्रश्न गरेकी छिन् ।

मर्मतमा जाने जहाजमा किन यात्रु राखेको भन्दै उनले प्रश्न उठाएकी छिन् । उनले आयल निगमको विमानस्थल नजिकको डिपोबारे समेत प्रश्न गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?