+
+

एकीकृत समाजवादीको पोलिट्ब्यूरोमा उत्साहजनक युवा अनुहार

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १३ गते २०:४४

१३ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरोमा उल्लेख्य संख्यामा युवा निर्वाचित भएका छन् ।

विधान अनुसार १०५ जनाको पोलिटब्यूरो बनाउनुपर्ने भएपनि आकांक्षी धेरै भएपछि एकीकृत समाजवादीले मतदानको विकल्प अपनाएको थियो ।

केन्द्रीय सदस्यहरुबीच मंगलबार पदाधिकारीसँगै पोलिटब्यूरो सदस्यका निम्ति समेत मतदान भएको थियो । १७ पदाधिकारीका लागि ६७ जनाको उम्मेदवारी परेको थियो भने पोलिटब्यूरो सदस्य बन्न २०२ जनाको उम्मेदवारी परेको थियो ।

पदाधिकारीमा केही अनपेक्षित नतिजा आएपनि जित्नेहरु पाका उमेर समूहकै नेता छन् । तर पोलिटब्यूरोमा भने ठूलै संख्यामा युवा निर्वाचित भएका छन् । विशेषगरी विद्यार्थी र युवा संघ पृष्ठभूमिका युवा नेताले पोलिटब्यूरो सदस्य जितेका छन् ।

विद्यार्थी राजनीतिबाट पार्टी केन्द्रीय कमिटीमा पुगेका सुदेश पराजुली, अशेष घिमिरे, गौतम राई, अब्दुल हुसेन खाँ, जीवन राई, मञ्जुकुमारी यादव लगायतले सहजै पोलिट्ब्यूरो सदस्य जितेका छन् । यी सबै नेताहरु सँगसँगै जसो विद्यार्थी राजनीतिमा थिए ।

सुदेश केही समय अघिसम्म अनेरास्ववियूका केन्द्रीय अध्यक्ष नै थिए । त्यसअघि एकीकृत समाजवादी बन्नु अगाडि अशेष, अब्दुल, जीवन, गौतम, मञ्जुहरु अनेरास्ववियुमै थिए ।

उनीहरुसँगै मोहन गौतम, लक्ष्मण लम्साल, नरेशकुमार शाही, हस्त शाही, लक्ष्मण केसीहरुले समेत पोलिटब्यूरो सदस्य जितेका छन् । ठूलै प्रतिस्पर्धामा जितेर पोलिटब्यूरोमा आएका यी सबै नेता युवा क्लस्टरका हुन् । एकीकृत समाजवादीले ४५ वर्ष भन्दा मुनिका उमेर समूहलाई युवा भन्ने गरेको छ ।

पोलिटब्यूरो जितेकी मञ्जु यादव आफ्नो युवा समूहका नेताहरुले पोलिटब्यूरो सदस्य जित्नुमा महत्वपूर्ण सन्देश रहेको बताउँछिन् । ‘हाम्रो केन्द्रीय कमिटीकै चाहना पनि युवाहरु आउनुपर्छ भन्ने रहेछ । नत्र अधिकांश पाका उमेरका नेताहरुले मतदान गर्दा हामीले जित्ने थिएनौ‌ं’ उनी भन्छिन् ।

अहिले पोलिट्ब्यूरोमा आएकाहरुसँग पुस्तान्तरणको एजेण्डा अगाडि बढाउनुपर्ने चुनौती रहेको यादव बताउँछिन् । ‘आगामी दिनमा मूल नेतृत्वमै युवा स्थापित गराउने दायित्व पनि हामीले पाएका हौं, मत मात्र पाएका होइनौं’, उनी भन्छिन् ।

यादवकै जस्तो निष्कर्ष गौतम राईले पनि सुनाए । ‘लोकतान्त्रिक अभ्यास नगरिएको भए हाम्रो उमेर समूहबाट पोलिटब्यूरोमा आउने सम्भावना थिएन । तर धेरै युवाहरुले जितेका छौं’, राईले भने, ‘अहिले हामीलाई बधाई दिदा पनि अग्रज नेताहरुले अब आन्दोलन तिमीहरुले बढाउनुपर्छ भनिरहनुभएको छ । यो हामीप्रतिको विश्वास र अवसर हो ।’

विद्यार्थी राजनीति हुँदै पार्टीमा आएका अशेष घिमिरे पनि आफूले पोलिटब्यूरो सदस्य जित्नुमा राजनीतिक सन्देश रहेको बताउँछन् । ‘जतिले जितेका छौं, संख्याका हिसाबले धेरै होइन । तर यसको सन्देश ठूलो छ’, उनी भन्छन् ।

सबै उमेर समूहका नेताहरु मिलेर कम्युनिष्ट आन्दोलन अगाडि बढाउने अवसरका रुपमा युवाहरुले यो नतिजालाई स्वीकार्नुपर्ने उनी बताउँछन् । घिमिरेले भनेजस्तै पोलिटब्यूरो उमेर समूहका दृष्टिले हेर्दा निकै विविधता युक्त बनेको देखिन्छ ।

पदाधिकारीमा पराजित भएकाले डा.विजयकुमार पौडेल, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, केशवलाल श्रेष्ठ, नागेन्द्र चौधरी, राजन राई लगायतले पोलिटब्यूरो सदस्य जितेका छन् । पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारी, पोखरा महानगरका मेयर धनराज आचार्यदेखि पूर्वमन्त्रीहरु बसन्त मानन्धरसम्म पोलिटब्यूरोमै छन् ।

कम्युनिष्ट पार्टीमा नीति सिद्धान्तबारे छलफल गरिने संरचनाका रुपमा रहने पोलिटब्यूरोलाई महत्वपूर्ण कमिटी मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?