+
+

सीडीओ हुने लक्ष्य राखेका अर्याल बने मुख्यसचिव

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०८१ भदौ १३ गते २१:४३

१३ भदौ, काठमाडौं । स्याङ्जाको पुतलीबजारमा जन्मे हुर्केका एकनारायण अर्याल १० कक्षामा पढ्दा बुवाका साथ लागेर जिल्ला प्रशासन कार्यालय पुगेका थिए, त्यतिबेला तत्कालीन ‘सीडीओ’ (प्रमुख जिल्ला अधिकारी)को रवाफ र सम्मानलाई देखाएर उनका बुबाले भनेका थिए, ‘राम्रो पढेर सीडीओ बन्नुपर्छ है छोरा ।’

त्यही बेलादेखि हो, अर्यालले सीडीओ बन्ने सपना देख्न थालेको । त्यही सपनालाई पछ्याउँदै सरकारी जागिर खान थालेको ३५ वर्षमा उनी सीडीओ मात्रै भएनन्, सचिव हुँदै मुख्यसचिव बन्ने अवसर पाएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेसँगै उनी निजामती प्रशासनको सर्वोच्च पदमा पुगेका छन् । उनी अब करिब १५ महिना यो पदमा रहेर नेपालको कर्मचारी संयन्त्र हाँक्नेछन् ।

उनी स्याङ्जाको किसान परिवारमा जन्मिएका हुन् । स्याङ्जामा विद्यालय शिक्षा पूरा गरेर पोखराको पृथ्वीनारायण क्याम्पसमा कानुन विषय लिएर पढाइ अगाडि बढाए ।

उनी पहिलो पटक नायब सुब्बाका रुपमा ४ माघ २०४६ मा सरकारी सेवामा प्रवेश गरे । शाखा अधिकृतदेखि सहसचिवसम्म उनी फाइल बढुवा कुरेनन् । सुब्बाबाट नेपाल प्रशासन सेवाको सामान्य प्रशासन समूहको शाखा अधिकृतमा नाम निकाल्न ५ वर्ष लाग्यो । ४ फागुन २०५१ मा उनी शाखा अधिकृत भए । उनले अधिकृतका रुपमा तत्कालीन पर्यटन तथा संस्कृति मन्त्रालय, निर्वाचन आयोग, वन मन्त्रालय लगायतका निकायमा काम गरे ।

त्यसको सात वर्षपछि उनले उपसचिवमा नाम निकाले । ६ माघ २०५८ मा उपसचिव बनेका अर्याल १९ फागन २०६७ मा सहसचिव भए । सहसचिवका रुपमा नाम निकालेपछि उनी प्रायः आकर्षक पदहरुमा नै रहे र सानोमा राखेको लक्ष्य हासिल गरे ।

तनहुँ, मकवानपुर र काठमाडौंको सीडीओ बने । काठमाडौंको सीडीओ रहेका बेला मोरङमा सरुवा भएपछि उनी जान चाहेनन् । गृह मन्त्रालयमा कर्मचारी प्रशासन महाशाखा प्रमुख र कोलकातास्थित नेपाली महावाणिज्य दूतावासमा महावाणिज्यदूतका रुपमा समेत काम गरे ।

उनी १८ फागुन २०७६ मा सचिवमा बढुवा भए र, सचिवका रुपमा काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा पदस्थापन भए । त्यसपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र गृह मन्त्रालयमा सचिवका रुपमा काम गरे ।

निजामती करियरमा नेकपा एमाले सत्तामा रहँदा आकर्षक अवसरहरु पाएकाले उनी प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट सम्बन्धमा थिए ।

गत ९ असारमा तत्कालीन मुख्यसचिव डा. वैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि १० असारमा सरकारले उनलाई राष्ट्रिय योजना आयोगमा मुख्यसचिवसरहको पद सिर्जना गरेर सरुवा गरेको थियो ।

त्योसँगै नयाँ मुख्यसचिवका लागि दौडधुप सुरु भएको थियो । त्यतिबेला माओवादी नेतृत्वको सरकार भएकाले मुख्यसचिवमा अर्यालको भन्दा बढी सम्भावना सचिव रामकृष्ण सुवेदीको थियो ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले नयाँ मुख्य सचिव नियुक्ति नगरी गड्तौलालाई कामु मुख्य मुख्यसचिवको जिम्मेवारी दियो । असार अन्तिममा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बने ।

सत्ता गठबन्धन परिवर्तन भएलगत्तै अर्याल मुख्य दाबेदारका रुपमा हेरिएका थिए । तर, नयाँ सरकारले छोटो कार्यकाल भएकी गड्तौलालाई १० साउनमा मुख्य सचिव बनाएपछि अर्यालको सम्भावना झन् बलियो भएको थियो ।

भोलि शुक्रबार नवनियुक्त मुख्यसचिव अर्याललाई पद हस्तान्तरण गरेर गड्तौला ५८ वर्षे उमेरहदका कारण सिंहदरबारबाट बिदा हुनेछिन् ।

हाल गृह सचिव रहेका अर्याल सचिवहरुको वरियतामा चौथो नम्बरमा थिए । राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवाली पहिलो, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी दोस्रो र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई तेस्रो वरियतामा थिए ।

तर, चौथो नम्बरमा रहेका अर्याललाई मुख्यसचिव बनायो ।

निजामती सेवा ऐन २०४९ को दफा १९ मा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिव पदमा बढुवा गर्दा बहालवाला सचिवहरुमध्येबाट नेपाल सरकारले ज्येष्ठता र कार्यकुशलताको आधारमा छनोट गरी बढुवा गर्ने उल्लेख छ ।

प्रधानमन्त्री ओलीसँग निकट सम्बन्धका कारण सबैभन्दा बलियो दाबेदार थिए । बिहीबार उनी मुख्य सचिव बनेसँगै पहिलो नम्बरका सचिव ज्ञवाली ५ वर्षे सेवा अवधि पूरा गरेर २२ भदौमा अवकाशमा जाने छन् ।

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?