+
+

टीएमएस चलाउनेको संख्या एक महिनामै १ लाख ३५ हजार थपियो

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १४ गते ९:२९

१४ भदौ, काठमाडौं । दोस्रो बजारमा धितोपत्र कारोबार गर्नका लागि आफैले अनलाइन प्रणाली टीएमएस (ट्रेड म्यानेजमेन्ट सिस्टम) चलाउनेको संख्या २३ लाख ३१ हजार ३५० पुगेको छ ।

नेपाल स्टक एक्स्चेन्जको तथ्यांक अनुसार साउन मसान्तसम्म सो संख्याले टीएमएसको युजर नेम र पासवर्ड लिएको हो । असार मसान्तसम्मको तुलनामा साउनमा टीएमएस चलाउनेको संख्या १ लाख ३५ हजार ३५१ ले बढेको हो ।

यो संख्या बढ्नुले पहिले ब्रोकर कम्पनीमार्फत कारोबार गर्दै आएर अहिले आफैले युजरनेम र पासवर्ड लिएको वा नयाँ थपिएको जनाउँछ । असार मसान्तसम्म टीएमएस युजरनेम र पासवर्ड लिनेको संख्या २१ लाख ९५ हजार ९९९ थियो ।

यति धेरै संख्याले युजरनेम र पासवर्ड लिए पनि टीएमएसमा दैनिक सक्रिय रहनेको संख्या भने हाल ५ देखि ७ लाखसम्म रहने गरेको छ । अझै पनि आफूले टीएमएसको युजरनेम र पासवर्ड नलिई ब्रोकर कम्पनीमार्फत कारोबार गर्नेको संख्या पनि उल्लेख्य देखिन्छ । टीएमएसको युजर नेम र पासवर्ड नलिएको तर ब्रोकर कम्पनीमार्फत कारोबार गरेको संख्या १५ लाख १९ हजार छ ।

लगानीकर्ता तथा कारोबारीले सेयर किन्न वा बेच्न अनलाइन प्रणाली टीएमएसमार्फत आदेश जारी गर्छन् । खरिदकर्ता र बिक्रीकर्ताको सोही आदेशअनुसार मूल्य म्याच भएपछि कारोबार सम्पन्न हुन्छ । २०७५ कात्तिकदेखि औपचारिक रुपमा अनलाइन प्रणाली सुरु भएको हो । त्यसअघि ब्रोकर कम्पनीमार्फत कारोबारको आदेश दिइन्थ्यो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?