+
+
पुस्तकालय दिवस :

बाको अन्तिम बोलीः ‘मातृभूमि पुस्तकालय बचाउनू’

सामुदायिक पुस्तकालयका नाममा पुर्खाले रोपेको प्रज्ञाको बीउ देशभरि फैलिएको छ । छानो चुहिएका पुस्तकालयको छानो टाल्नु छ । हीरामोती भन्दा अमूल्य रहेका ऐतिहासिक दस्तावेज बनेर रहेका अक्षर सुरक्षा गरेर नयाँ पुस्तालाई सुम्पनु छ ।

राजेन्द्रप्रसाद पाण्डे राजेन्द्रप्रसाद पाण्डे
२०८१ भदौ १५ गते ८:१२
मातृभूमि सामुदायिक पुस्तकालयको भवन ।

साथीभाइ, नातागोताका बाआमाको मलामी गएर फर्किंदा मलाई कहिल्यै लागेन-मेरा पनि बाआमाले धर्तीबाट बिदा लिन्छन् । तर बाआमा विनाको जीवन गुजारेको पनि वर्षौं भइसकेछ । आमासँग विछोड भएको १२ वर्ष लागेछ । आमाले छोडेको पाँच वर्ष कट्दानकट्दै बा पनि महायात्रामा लाग्नुभयो ।

बहुप्रतिभाशाली मेरो जेठो दाजुको २२ वर्षको उमेरमा असामयिक निधन भएपछि मेरा बाआमा त्यही शोकले विक्षिप्त हुनुभयो । आफ्नो सपनाको महल ढलेपछि भौतिक रूपमा बाँचे पनि मानसिक रूपमा कमजोर जीवन बाँच्नुभयो । जीवनपर्यन्त आँसु ओभाएन । हामी ६ जनाको परिवारमध्ये अहिले तीन यो लोकमा छौं । तीन जना परलोकमा हुनुहुन्छ ।

मेरो बा कहलिएको मास्टर । अंग्रेजी पढाउने ‘नारायण सर’ भनेपछि त्यसक्षेत्रको ढुंगामाटोसँग साइनो थियो । हामी आँखा मिचेर निद्रा नखुल्दै घरमा ट्युसन पढ्न आउनेको ओइरो लाग्थ्यो । निद्रा बिथोलिएको रिसले त्यतिबेलाको मेरो बाल मनस्थितिलाई अति नै पिरोल्थ्यो । अहिले बाले दुःख गरेर जम्मा गरिदिनुभएको त्यही कीर्तिमानी अक्षयकोषले मेरो जीवन धानेको छ ।

‘नारायण सर’को छोराकै परिचयमा मेरो जीवनको जमिन अडेको छ । स्कुले प्रमाणपत्र, देश-विदेश भ्रमण, प्राज्ञिक चेत ‘नारायण सर’का ख्यातिका अगाडि रंगविहीन र कमजोर भएको पाउँछु । बाले बसाएको गुरुकुल पद्धति आफैंमा संस्कार थियो । सूर्योदयअघि ज्ञानमन्दिर सम्झिएर आउनेहरूका नजरमा हाम्रो घर धाम थियो ।

पाइला-पाइलामा ‘नारायण सर’को चेला हुनुमा गौरव गर्नेहरू अहिले भेट्दा म आफैंभित्र दबाब महसुस गर्दै आत्मालाप गर्छु- समाजको कसीमा म आफू नारायण सरको सुपुत्र कति बन्न सकें ?

जेठो छोरा, पत्नी गुमाएपछि बाले थप एक्लो महसूस गर्नुभयो । बाँकी रहेका तीन सन्तानसँग आँसु लुकाएर ढाडस दिने र आफूले हुर्काए-बढाएको ‘मातृभूमि पुस्तकालय’ कायाकल्प होस् भन्ने दुईवटा एजेण्डालाई उहाँले उत्तराद्र्धको अभीष्ट बनाउनुभयो । २०७२ साल वैशाख १२ को त्यो कहालीलाग्दो भूकम्प जित्नुभएका मेरा बा २०७५ साल वैशाख १२ लाई जित्न सक्नुभएन । बाको जीवनबाट लाख पाएको मैले उहाँको अन्तिम अवस्थामा काख दिन सकिनँ । सम्भवतः यो काँडाले मलाई जीवनभर खिल बनेर घोचिरहनेछ ।

पुस्तकालय अभियानलाई मैले एकलव्य दृष्टि बनाउनु पछाडि बाले महायात्रा जानुभन्दा अघिल्लो दिन गरेको फोन संवाद नै हो । उहाँको ५-६ पटक आएको कल मैले मिस गरेको रहेछु । मैले तत्काल कलब्याक गरें । सम्भवतः त्यसबखत उहाँलाई मृत्युको आभास भइसकेको हुँदो हो भन्ने ठान्छु । अरूका बाआमाको घिडघिडो सन्तानको विवाह, नातिनातिनाको अनुहार देखेर मर्ने लगायतका हुन्छन् ।

त्यसबाहेक गैह्रीखेत, पाखोबारी, घरघडेरी बाँडचँुडको विषयले प्रमुखता पाउँछ । तर बाले सधैं झैं नैतिक धरातल तोड्नुभएन । सूत्रबद्ध बोल्दै भन्नुभयो- ‘पुस्तकालय बचाउनू । पुर्खाको नासोका रूपमा रहेको त्यो पुस्तकालय जसरी भए पनि जोगाउनू ।’ अन्तिम अवस्थासम्म त्यो पुस्तकालयको जिम्मेवारी बाको काँधमा थियो ।

भोलिपल्ट सूर्योदय नहुँदै मेरो मोबाइलमा तारन्तार फोन बज्यो, त्यो फोन बाको थिएन । बरु बा नरहेको समाचार दिन घर-गाउँलेले गरेका थिए । त्यो खबर सुन्दा आकाशले थिचे जस्तै भो । ‘बा’ नामको छहारी गुमेपछि साँच्चै जमिन भासिएको महसूस भयो । अघिल्लो दिन फोनमा कुरा गर्दा बाभित्र न कुनै हतासा, न कुनै दुःखपोलको शिकायत । हप्तादिन अघि मात्र हट्टाकट्टा बासँग बिदा भएर काठमाडौं फर्केको बालाई चितामा राख्न म गाउँ फर्किंदै थिएँ । शोकले आँखाभित्र रहेको आँसुको ग्रन्थी पनि रित्तिंदो रहेछ । बाको शरीर खरानी बनाएर फर्किएपछि दुई सन्तान कोराको पाहुना भएर बस्यौं ।

देशका सबै पुस्तकालयहरू मलाई अहिले तीर्थ जस्तो लाग्छ । त्यहाँ रहेका हरेक मायालु स्वरभित्र सामर्थ्य लुकेको भेट्छु । सामुदायिक पुस्तकालय स्थापना, उत्तरदायित्व र कामकारबाहीका विषयमा थुप्रै अलमल छन्

बाको शरीर कालीगण्डकीमा समर्पण गरेर फर्किंदा बाले फोनमा भनेको त्यही संवादले पछ्याइरह्यो- ‘बाबु पुस्तकालय जोगाउनू’ । मैले अठोट गरें- नारायण सरको छोरा हुनुको पहिलो र अन्तिम कर्तव्य मातृभूमि पुस्तकालयको उत्थान नै हो । बाको अन्तिम वाक्य मेरो लागि दिव्योपदेश हो । त्यसमाथि शोकमा आउने सबैको एउटै स्वर हुन्थ्यो- बाको पदचाप नबिर्सनू । हुन पनि बाको महाप्रस्थानपछि पूर्वबाट उदाउने मेरो जीवनको घाम पश्चिमबाट उदाउन थाल्यो ।

त्यो वियोगपछि भर्खरै आमाको गर्भबाट झरेको लैनो पाडो झैं जिउने कला सिक्ने अभिभारा आइलाग्यो । यहींबाट शुरु हुन्छ मेरो माटोप्रतिको एकाग्र समर्पण । अनि म लागें बाका आधा बाटाहरूलाई पूर्णता दिने यात्रामा । बाका सपनाले अहिले पनि मलाई लखेट्न छोडेका छैनन् । बालाई सम्झनासाथ आशाका हजार पिपिरापिपिरी पलाएको अनुभूति गर्छु ।

१२ दिने कठिन व्रतको घडीमा मेरो निष्कर्ष थियो- बिर्घाकै माटोको चन्दन लगाउँछु । बाले सपना, विपना र जपना बनाएको मातृभूमि पुस्तकालयलाई गोडमेल गर्छु ताकि मैले पितृलाई गर्ने तर्पणको अंश यसैभित्र परोस् । ज्ञानका भोकाहरू तृप्त भएर पुस्तकालय हाताबाट निस्कँदा त्यो सन्तुष्टिको अंशमा मेरो बाको सपनाले बास गरोस् । यही सोचेर म मातृभूमि पुस्तकालयको अनुष्ठान पूरा गर्ने एकलव्य यात्रामा निस्किएँ । बासँगको अन्तिम संवादलाई शक्तिमा बदल्दै गाउँका बाहरूको आशीर्वाद लिएर काठमाडौं छिरें । एकलव्य भएर मातृभूमिको अनुहार फेर्ने अभियानमा लागें ।

मन्त्रालयदेखि दातासम्मका ढोकासम्म पुग्ने अन्ततः शहरी मन्त्रालयबाट एउटा योजना स्वीकृत हुनेभयो । बजेट प्राप्त हुने भो तर प्राविधिक रूपमा समस्या आयो । पुस्तकालय नभई बहुउद्देश्यीय भवनका लागि बजेट विनियोजन हुने कुनै एउटा तलामा पुस्तकालय संचालन गर्नुपर्ने । यो गुजुल्टिएको समाधान मेरा लागि स्वीकार्य भएन । मलाई मातृभूमिको नयाँ भवन निर्माण गर्नु मात्र थिएन ।

मातृभूमिको जग हाल्ने अमेरिकी नागरिक एन्टोनिया न्युवरको इतिहास पनि जोगाउनु अझै चुनौती थियो । जो यो भूमिमा जन्मिएन, जसको भाषा मिल्दैन, न यो माटोसँग कुनै साइनो छ । थियो त उनीसँग विशाल हृदय, उनै सामुदायिक पुस्तकालयकी जननी टोनी जसले परदेशमा आएर ज्ञानको दियो सल्काइन् त्यो पनि एक दुई होइन सत्तरी भन्दा बढी ठाउँमा । उनको यो गौरवशाली इतिहास मेटाएर मैले जति नै गरे पनि त्यो शून्य हुनेथियो । दुःखका साथ भन्नुपर्छ, सरकारसँगको सहकार्य फापेन ।

राम्रो सोचले शुरु गरेको कर्मले कालान्तरमा पनि राम्रै फल दिने रहेछ । अन्तिममा जापान सरकारको आर्थिक सहयोग तथा शान्ति भोलिन्टिएर एशोसिएसन र रिड नेपालको प्राविधिक सहयोगमा सुविधासम्पन्न भवन निर्माण भयो । पुस्तकालय बनेपछि मलाई यस्तो लाग्छ कि पुस्तकालय चन्दन हो । मेरा बाका समवयीहरू मेरा मार्गरेखा हुन् । सहयोगी हातहरू महायज्ञका घिउ बत्ती हुन् । भवन निर्माणमा जुटेका हातहरू चरु हुन् । अनि पुस्तकालय यज्ञशाला हो । यही व्रतले पुस्तकालयको एउटा अध्याय पूरा भएको छ ।

No photo description available.

बाले मलाई दिएको जिम्मेवारी मातृभूमिको निर्माण मात्र हो भन्ने लागेन । मैले मेरो आँगनको मातृभूमिको सेवा गरे जस्तै अरू मातृभूमिहरूमा पनि मलजल सिंचिनुपर्छ । २०७९ को भदौमा चितवनमा सम्पन्न अधिवेशनले सर्वसम्मत रूपमा महासचिव पदमा निर्वाचित गराएर मलाई थप जिम्मेवार बनायो । अब मैले दृढ संकल्प गरें मेरा लागि देशभरका सबै पुस्तकालय मातृभूमि जत्तिकै हुन् ।

देशका सबै पुस्तकालयहरू मलाई अहिले तीर्थ जस्तो लाग्छ । त्यहाँ रहेका हरेक मायालु स्वरभित्र सामर्थ्य लुकेको भेट्छु । त्यसैले त ६३ दिन लगाएर देशभर छरिएर रहेका पुस्तकालयलाई गोलबद्ध गर्ने अभियानमा साक्षी बस्ने सौभाग्य मिल्यो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँगको सहकार्य तथा नेपाल सामुदायिक पुस्तकालयको नेतृत्वमा देशभरका सबै प्रदेशमा पुगी त्यहाँको पुस्तकालयका अवस्था, व्यवस्था नजिकबाट बुझ्ने मौका पाएँ ।

यो त आधा बाटो मात्र हो अब अझै बाँकी छन् सामुदायिक पुस्तकालय स्थापना, उत्तरदायित्व र कामकारबाहीका विषयमा थुप्रै अलमल छन् । तिनीहरूलाई व्यवस्थित बनाउनुपर्नेछ । तीनै तहका सरकारमा यतिबेला पुस्तकालय सलादको अस्तित्व देखिए झैं देखिएको छ । सुदामाको कनिकासरह नै किन नहोस्, सरकारबाट प्राप्त सहयोगले हामीलाई अक्सिजनको काम गरेको छ ।

यो मैले मेरो भविष्य निर्माणका लागि बनाएको आधार नभएर माटोको ऋण चुक्ता हो । त्यही सपना फैलिएर अहिले म देशभरिका थुप्रै थुप्रै मेरा बा जस्तै ‘नारायण सर’ ले बनाएका पुस्तकालयको बिरुवामा गोडमेलको अभियानमा लागेको छु नेपाल सामुदायिक पुस्तकालय संघ मार्फत । सामुदायिक पुस्तकालयका नाममा पुर्खाले रोपेको प्रज्ञाको बीउ देशभरि फैलिएको छ । शताब्दी अघिको इतिहास बनाएका धरोहर पुस्तकालयको साखमा अझ चारचाँद लगाउनु छ । छानो चुहिएका पुस्तकालयको छानो टाल्नु छ । हीरामोती भन्दा अमूल्य रहेका ऐतिहासिक दस्तावेज बनेर रहेका अक्षर सुरक्षा गरेर नयाँ पुस्तालाई सुम्पनु छ ।

चार्ल्स डिकेन्सले आफ्नो पुस्तक अल द ईयर राउण्डमा लेखेका छन्-कसैले बुद्धिमान कसलाई भन्ने भनी सोधेमा जसले सानो भन्दा सानो कुरामा ध्यान दिन्छ, उही बुद्धिमानी हो । हरेक व्यक्ति आफैंमा काव्य हो । शास्त्र हो । मलाई लाग्छ- एउटा कलम र एउटा सपनाले मानिसलाई असफल हुने छूट कदापि हुन दिने छैन ।

(लेखक नेपाल सामुदायिक पुस्तकालय संघको महासचिव एवं मातृभूमि सामुदायिक पुस्तकालय कालीगण्डकी गाउँपालिका-४, बिर्घा स्याङ्जाका अध्यक्ष हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?