+
+

टाटा ‘पन्च ईभी’, नामै काफी

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १५ गते १९:००

१५ भदौ, काठमाडौं । नेपालमा दशकौंदेखि टाटा मोटर्सका गाडी सबैतिर गुडिरहेका देखिन्छन् । नेपाली भूगोल अनुसारका गाडी निर्माण भएकाले पनि भारतीय ब्रान्ड टाटाका गाडी यहाँ चर्चित छ ।

टाटाका पेट्रोल, डिजेल गाडीले दशकौंदेखि नेपाली बजारमा वर्चश्व कायम गर्दै आएका छन् । प्रविधि विकाससँगै विद्युतीय सवारीसाधन (ईभी) मा पनि पछिल्लो पटक टाटाका गाडीमा आकर्षण देखिएको छ ।

भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ मा देखिएको आकर्षण त्यसैको एउटा उदाहरण हो । शोमा पुगेकाले पहिलो नजर नै टाटाको पन्च डट ईभीमा पुर्‍याउँछन् । सरल मूल्यमा आकर्षक डिजाइनमा बनेको टाटा ‘पन्च ईभी’ मा देखिएको आकर्षण लोभलाग्दो छ ।

टाटा मोटर्सले पन्च ईभी लन्च गर्ने बित्तिकै नेपालमा ५ हजारभन्दा धेरै गाडी पारखीले जिज्ञासा राखेको यसको आधिकारिक वितरक सिप्रदीले जानकारी दिएको छ ।

पन्च ईभी नाडा अटो शोमा पहिलो दिनमै १ सयभन्दा धेरै युनिट बुकिङ भएको थियो । अहिले नाडा अटो शोमा टाटाका सेल्सम्यानलाई भ्याइनभ्याइ छ ।

पन्च ईभीमा के छन् विशेषता ?

नेपाली अटोमोबाइल बजारमा एक किसिमले नेतृत्व नै गरिरहेको टाटाले ल्याएको पन्च डट ईभी नेपाली बाटो र माटो सुहाउँदो रहेको कम्पनीको भनाइ छ । नेपाली बजारको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ल्याएको यो ईभी तीन भेरिएन्टमा उपलब्ध छ ।

टाटा पन्च ईभी प्लस एस एमआर, एलआई र प्लस एलआर गरी तीन भेरिएन्टमा उपलब्ध छ । प्लस एस एमआरको मूल्य ३३ लाख ९९ हजार रुपैयाँ, पन्च ईभी इम्पावर्ड एलआईको मूल्य ३६ लाख ९९ हजार र पञ्च ईभी इम्पावर्ड प्लस एलआरको मूल्य ३८ लाख ९९ हजार तोकिएको छ ।

कम्पनीले यो गाडी मिडियम र लङ रेन्ज गरी दुई किसिमको ल्याएको हो । मिडियम रेन्जलाई एमआर नाम दिइएको छ भने लङ रेन्जलाई एलआर भनिन्छ ।

सिप्रदीका अनुसार पन्च ईभीमा मिडियम रेन्जमा कम्पनीले २५ किलोवाट आवर क्षमताको ब्याट्री र लङ रेन्जमा ३५ किलोवाट आवर क्षमताको ब्याट्री राखिएको छ ।

कम्पनीका अनुसार मिडियम रेन्जले ८० बीएचपीको पावर उत्पादन गर्न सक्छ भने लङ रेन्जको पावर १२० बीएचपी रहेको छ । त्यस्तै एमआरमा ११४ न्युटन मिटर टर्क छ भने एलआरमा १९० न्युटन मिटर टर्क छ ।

सिंगल चार्जमा एमआरले ३ सय १५ किलोमिटर र एलआरले ४ सय २१ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।

पन्च ईभीमा ३.५ किलोवाट एसी वाल चार्जरले  एलआर साढे नौ घण्टा र एमआर साढे १३ घण्टामा फुल चार्ज हुन्छ । ७.२ किलोवाट चार्जरले एमआरलाई साढे तीन घण्टा र एलआरलाई साढे पाँच घण्टामा फुल चार्ज गर्न सकिन्छ भने ५० किलोवाट डीसी फास्ट चार्जरले शून्यबाट ८० प्रतिशतसम्म चार्ज गर्न ५६ मिनेट लाग्ने कम्पनीले जनाएको छ ।

सबैभन्दा कम रेन्जको गाडीमा ६० किलोवाटको मोटर राखिएको छ भने लङ रेन्जमा ९० किलोवाट आवर क्षमताको मोटर छ । गाडीमा ३६० डिग्री क्यामरा जडान छ भने टप भेरिएन्टमा चार वटै टायरमा डिस्क ब्रेक र अन्यमा अगाडि डिस्क र पछाडि ड्रम ब्रेक छ ।

यो गाडीको मुख्य आकर्षण भनेको यसको ग्राउन्ड क्लियरेन्स १ सय ९० एमएम हुनु हो । पन्च ईभीलाई लेदर र फेब्रिकबाट बनेको सिटले लक्जरियस पनि बनाएको छ । स्टेयरिङलाई पनि लेदर कभर छ ।

गाडीमा स्मार्ट डिजिटल चार्जिङ इन्डिकेटर, स्मार्ट डिजिटल ह्विल स्टेयरिङ, एलईडी प्रोजेक्टर हेडल्याम्प र स्मार्टवाचबाटै कन्ट्रोल गर्न सकिने वायरलेस एन्ड्रोइड एन्ड एप्पल कारप्ले सिस्टम पन्च ईभीमा छ ।

यसमा इलेक्ट्रिक सनरुफ पनि छ, जसको कन्ट्रोल आवाजबाटै गर्न सकिन्छ । ६ वटा एयरब्यागले गाडी सुरक्षित बनाएको छ ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?