+
+

नागरिकताको प्रतिलिपि लिन एक वर्षदेखि सीडीओ कार्यालयको चक्कर

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८१ भदौ १७ गते १७:५५

१७ भदौ, जनकपुरधाम । गत बुधबार पनि पति रामदेव मण्डलसँगै जिल्ला प्रशासन कार्यालय धनुषामा आएकी थिइन् बटेश्वर गाउँपालिका–१ कि ५१ वर्षकी आशादेवी ।

केरमेट भएर नबुझिने नागरिकताको प्रतिलिपि लिन पछिल्लो एक वर्षदेखि नियमितजसो प्रशासन कार्यालय धाइरहेकी उनी त्यस दिन झन् निराश देखिइन् ।

‘तपाईंले पेश गरेको कागजात धेरै खोजियो । तर कार्यालयमा कतै भेटिएन । अब फेरि वडाको सिफारिस र अनुसूची फारम भरेर ल्याउनुपर्छ । अनि मात्रै बन्छ’, नयाँ पुराना नागरिकता फाँटका अधिकृत अनिल यादवले मण्डल दम्पतीलाई भने । अधिकृत यादवको यो भनाइले पुष्टि गर्‍यो कि नागरिकताको प्रतिलिपि लिन प्रशासन धाएको उनीहरुको एक वर्षको समय त्यसै खेर गयो ।

‘कत हरागेल हमर फाइल सर, आब कतेक दिन आब परतै, कहिया भेटतै हमर नागारिकता ?’ आशाले भनिन् । उनलाई नेपाली भाषामा राम्ररी बोल्न आउँदैन ।

हुन त नागरिकता फाँटका कर्मचारीले आशाले प्रतिलिपि नागरिकता लिन पेश गरेको निवेदन पहिले नै हराएको भनिसकेका थिए । तर प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले दुई महिनाअघि उनको फाइल खोज्न कर्मचारीलाई निर्देशन दिएका थिए । फाइल खोज्ने जिम्मा पाएका अधिकृत यादवले भदौ पहिलो साता आए खोजेर बनाइदिन सकिने आश्वासन दिएका थिए ।

मण्डल दम्पतीलाई पढ्न लेख्न आउँदैन । जनमजदुरी गरेर जेनतेन जीविका चलाउने मण्डल दम्पतीलाई नागरिकताको प्रतिलिपि लिन जस्तो गाह्रो काम केही लागेको छैन । २० वर्षका छोरा राहुलको नागरिकता बनाउनका लागि आशाको नागरिकता बनाउनुपर्ने बाध्यता परेकाले मात्र उनीहरु प्रशासन कार्यालय धाइरहेका हुन् ।

छोरा राहुलको नागरिकता बनाउन वडाबाट सिफारिस, अनुसूचीसहितको कागजात रामदेवले २०८० को साउन तेस्रो साता जिल्ला प्रशासन कार्यालय पुगेका थिए । तर राहुलको आमा आशाको सक्कली नागरिकतामा केरमेट भएको देखियो ।

कर्मचारीले पहिले आमा आशादेवीको प्रतिलिपि लिएर मात्र छोराको नागरिकता प्रक्रिया अघि बढाउने भन्दै फर्काए । छोरा राहुलको नागरिकता बनाउने काम थाती राखेर रामदेव श्रीमती आशाको नागरिकताको प्रतिलिपि लिने प्रक्रियामा लागे ।

वडा कार्यालयबाट सिफारिस गराएर अनुसूची फारम भरेर गत वर्ष भदौमा जिल्ला प्रशासन कार्यालयमा पेश गरे । असोजमा प्रशासन कार्यालयले आशाको औंठाछाप र तस्वीर लियो । भोलि आएर नागरिकता लिएर जानू भन्दै कर्मचारीले फर्काए ।

भोलिपल्ट रामदेव श्रीमती आशालाई लिएर पुगे । तर कर्मचारीले फाइल नभेटेको भन्दै भोलि आउनू भनेर फर्काए । त्यसपछि जहिले गए पनि कर्मचारीले फाइल भेटिएन मात्र भनिरहे ।

‘हामी गरिब सोझो मान्छे । जनमजदुरी सरसापट गरेर श्रीमतीलाई लिएर आइरहेको छु । जहिले आउँदा पनि कर्मचारीले खोजेर राख्छु अर्को दिन आउनु भनेर फर्काउँथे । अहिलेसम्म यसरी नै दौडधुप गरिरहेको छु’, रामदेव पीर पोख्छन्, ‘अब कर्मचारी भन्छन् फाइल भेट्दैन । फेरि वडा सिफारिस गरेर कागज ल्याउनुस् । सिफारिस गराउन, आउन जान पैसा लाग्छ । म गरिब मान्छे पीडित भइसकेको छु ।’

प्रशासन कार्यालयमा आशा देवीको फाइल भेटिएन । तर वडा कार्यालयको नागरिकता अभिलेख फाइलमा उनको नागरिकता बनिसकेको देखिन्छ । जसमा फोटो उप्काइएको छ भने रातो कलमले काटेको छ ।

आशादेवीको नागरिकताको फोटोकपी ।

प्रमुख जिल्ला अधिकारी कडरियाले अब पुनः प्रतिलिपि लिनुपर्ने प्रक्रिया अघि बढाउनुपर्ने बताए । कागजातलाई जतनसाथ नराख्दा उनीहरुको नागरिकता नबुझिने अवस्थामा पुगिसकेको छ ।

त्यसैले रामदेवले दुई साताअघि आफ्नो पनि नागरिकताको प्रतिलिपि लिन निवेदन दिएका छन् ।

तर जिल्ला प्रशासन कार्यालयमा अभिलेख र सम्पूर्ण कागजात हुँदाहुँदै कर्मचारीले प्रतिलिपि लिन पनि प्रहरीको सर्जिमिमन मुचुल्का ल्याउन लेखिदियो । उनी मुचुल्का बनाउन प्रहरी कार्यालय धाउँदै छन् । र श्रीमतीको पुनः नागरिकता प्रतिलिपीको कागजात तयार गर्न वडा कार्यालय ।

एक अधिकृतका अनुसार प्रतिलिपि लिन प्रहरी सर्जिमिन मुचुल्का आवश्यक पर्दैन । तर सबै कागजात हुँदाहुँदै पनि कर्मचारीले काम टार्न प्रहरी सर्जिमिन मुचुल्का लेखिदिने गर्छन् । यसले सेवाग्राहीहरुलाई अनावश्यक सास्ती मात्र थपिन्छ ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?