+
+

९ वर्षमा पनि सकिएन बारपाक सडकको कालोपत्रे

विकास मरहट्टा विकास मरहट्टा
२०८१ भदौ १८ गते १८:१७

१८ भदौ, गोरखा । काम सुरु भएको ९ वर्षमा पनि बाह्रकिलो बारपाक सडक कालोपत्रेको काम सम्पन्न भएको छैन। लोहनी एण्ड ब्रदर्श प्रालि र रसुवा इलाइट सुर्य जेभीले जिम्मा लिएको खण्डमा काम अलपत्र रहेको गोरखा सडक योजनाले जनाएको छ ।

अर्कुल बजारदेखि वालुवासम्मको ८ किलोमिटर सडक कालोपत्रेको जिम्मा लोहनी एण्ड ब्रदर्शले पाएको हो । दुई वर्षमा काम सक्ने गरी २०७२ साल असार ३१ गते सम्झौता भएको थियो । हालसम्म सातौ पटक म्याद थप भइसक्यो तर कामको प्रगति सुन्य रहेको कार्यालय प्रमुख अमिन्द्र खड्काले बताए ।

‘करिव ८० प्रतिशत मात्र काम सकेर राखेको छ,’ उनले भने, ‘केही खण्ड कालोपत्रे गर्नुपर्ने छ र कालोपत्रे भइसकेको केही खण्ड विग्रिएकाले त्यसलाई पनि मर्मत गर्नुपर्छ ।’ पटक-पटक म्याद थप भएपनि फिल्डमा काम नभएको उनले जानकारी दिए ।

यता, बालुवादेखि बारपाकसम्मको १६ किलोमिटर सडक कालोपत्रेको जिम्मा लिएको रसुवा इलाइट सुर्य जेभीको पनि हालसम्म सातौ पटक म्याद थप भइसक्यो । तर, काम सम्पन्न भएको छैन ।

२०७३ असार ३० गते सम्झौता गरेर काम शुरु गरेको उक्त निर्माण कम्पनीले हालसम्म करिब ८८ प्रतिशत मात्र काम सकेको छ । बाँकी काम भने विगत केही बर्षदेखि अलपत्र अवस्थामा छ ।

‘यो खण्डमा पनि केही भाग कालोपत्रे गर्न बाँकी भने कालोपत्रे भइसकेर पनि बिग्रिएको केही भाग मर्मत गर्नुपर्ने छ,’ कार्यालय प्रमुख खड्काले भने ।

म्याद थप भइरहे पनि केही समयदेखि नै दुवै खण्डमा काम भएको छैन । ठेकेदारहरुले बर्षाको बहाना बनाउँदै काम नगर्ने गरेको खड्का बताउँछन् ।

‘बर्खाको बेलामा पुर्व तयारीका कामहरु गर्न सकिन्छ नी, तर दुवै साइटमा ठेकेदारको मोविलाइजेसन भएको छैन,’ उनले भने ।

१२  किलोदेखि बारपाकसम्मको कुल ४६ किलोमिटरको सडक चार खण्डमा विभाजन गरी ठेक्का लगाइएको हो । १२ किलोदेखि मसानेठाटीसम्मको चार किलोमिटर खण्ड कालोपत्रे गर्ने जिम्मा गोरखा एप्रोप्रियट फर कन्स्ट्रक्सनले पाएको हो भने निवेलदेखि अर्कुलसम्मको ५ किलोमिटर सडक कालोपत्रेको जिम्मा कन्काइ गोरखा जेभीले पाएको हो। यी दुवै खण्डमा काम सम्पन्न भइसकेको छ । तर, बाँकी दुई खण्डमा भने ठेकेदारको लापरवाहीका कारण काम अलपत्र छ ।

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?