+
+

लगानी बोर्डको सीईओमा ५ जना सर्ट लिस्टमा, ज्ञवाली प्रमुख दाबेदार

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १८ गते २०:२१

१८ भदौ, काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन दिएकामध्ये ५ जना सर्ट लिस्ट (संक्षिप्त सूची)मा परेका छन् ।

२७ साउनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सीईओका लागि आवेदन माग गरेको थियो । त्यसअनुसार आवेदनहरुको वैधता अध्ययन गरेर ५ जना सूचीकृत भएका हुन् ।

सीईओका लागि ८ जनाले आवेदन दिएकोमा ५ जनालाई कार्यालयले संक्षिप्त सूचीमा समावेश गरेको छ । यसअघिका सीईओ सुशील भट्टको कार्यकाल सकिएसँगै सरकारले आवेदन मागेको थियो ।

कार्यालयले आवेदकमध्ये सुशील ज्ञवाली, भीष्मराज ढुंगाना, रघुराज काफ्ले, विष्णुप्रसाद भट्टराई र रामदेव यादवलाई संक्षिप्त सूचीमा समावेश गरेको छ । उनीहरुबाहेक को–को तीन जना आवेदक थिए भन्ने खुलेको छैन ।

संक्षिप्त सूचीमा परेका ज्ञवाली विघटित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सीईओ र नगर विकास कोषका पूर्व कार्यकारी निर्देशक हुन् । ढुंगाना भने धितोपत्र बोर्डका पूर्वअध्यक्ष तथा नेपाल राष्ट्र बैक पूर्व कार्यकारी निर्देशक हुन् । काफ्ले तत्कालीन वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड (हाल वैदेशिक रोजगार बोर्ड) का पूर्व कार्यकारी निर्देशक हुन् ।

अब संक्षिप्त सूचीमा परेकाहरुले बुझाएका रणनीतिक योजनाको परीक्षण गरेर अंक दिइनेछ । त्यसपछि अन्तर्वार्ताका लागि मिति तोकिनेछ । उनीहरुको कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ता सकिएपछि उत्कृष्ट ठहरिएका तीन जनाको नाम सीईओ नियुक्त गर्न मन्त्रिपरिषद्‍मा सिफारिस हुनेछ । आवेदकहरुसँग ५ हजार शब्दसम्मको रणनीतिक कार्ययोजना मागिएको छ ।

मन्त्रिपरिषद बैठकले सिफारिस भएका तीन जनामध्येबाट एक जनालाई सीईओ नियुक्त गर्ने निर्णय गर्नेछ ।

स्रोतका अनुसार तत्कालीन पुनर्निर्माण प्राधिकरणका सीईओ ज्ञवाली नै बोर्डको सीईओ बन्ने सम्भावना अधिक छ । उनी प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलका निकट मानिन्छन् । पुनर्निर्माण प्राधिकरणमा रहेर उनले गरेको कामबाट ओली सन्तुष्ट रहेकाले पनि ज्ञवालीको सम्भावना बलियो देखिएको स्रोतको दाबी छ ।

धितोपत्र बोर्डका पूर्वअध्यक्ष ढुंगाना र वैदेशिक रोजगार बोर्डको पूर्व कार्यकारी निर्देशक काफ्ले पनि राजनीतिक पहुँच प्रयोग गरेर सीईओ बन्ने दाउमा छन् ।

कानुनअनुसार अर्थशास्त्र, व्यवस्थापन, वाणिज्य शास्त्र, कानुन, इन्जिनियरिङ वा विकास सम्बन्धी विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र परियोजना विकास, सार्वजनिक खरिद, सार्वजनिक–निजी–साझेदारी, लगानी प्रवर्द्धन, विकास प्रशासन, बैंकिङ, वित्तीय क्षेत्र वा औद्योगिक व्यवस्थापन क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव भएको व्यक्ति सीईओ बन्न पाउँछन् । शैक्षिक र अनुभवको योग्यता पुगेका ३५ वर्ष पूरा भएर ६५ वर्ष ननाघेको नेपाली नागरिकले सीईओमा आवेदन गर्न पाउने व्यवस्था छ ।

सरकारले यसपटक प्रमुख कार्यकारी सिफारिस सम्बन्धी कार्यविधि २०८१ बनाएरै नियुक्ति प्रक्रिया अघि बढाएको थियो । मन्त्रिपरिषद्को २२ साउनको बैठकले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल संयोजक रहने गरी सिफारिस समिति गठन गरेको थियो । समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी सदस्य र पूर्व अर्थसचिव राजन खनाललाई विज्ञ सदस्य छन् ।

सो समितिले नै नै संक्षिप्त सूचीमा परेकाहरुको अन्तरवार्ता लिएर सिफारिसको निर्णय गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?