+
+

रवि जोडिएको सहकारी ठगी मुद्दामा प्रहरी अनुसन्धान तीव्र

संसदीय समितिको फाइल पर्खिँदै प्रहरी

नारायण अधिकारी नारायण अधिकारी
२०८१ भदौ १८ गते २०:२३

१८ भदौ, काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन प्रकरणमा प्रहरीले दोस्रो चरणको अनुसन्धानलाई तीव्रता दिएको छ ।

यसअघि रास्वपा सभापति रवि लामिछानेसहितका आरोपितसँग बयान लिएको प्रहरीले तुरुन्तै थप छानबिन अघि बढाएको हो । लामिछाने गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक थिए, जसले सहकारीमा खाता नै नखोली अवैधानिक रुपमा मिडिया हाउसमा पैसा लगेको पीडितहरुको उजुरी छ ।

पहिलो चरणमा अनुसन्धान सकिएर मुद्दा अदालत पुगिसकेको अवस्थामा गत १६ माघमा जिल्ला प्रहरी कार्यालयमा कास्कीमा पूरक जाहेरी परेको थियो । उक्त जाहेरीमा उपप्रधान तथा गृहमन्त्री समेत भइसकेका रास्वपा सभापति लामिछानेसहित १८ जनालाई प्रतिवादी बनाइएको थियो । सोही पूरक जाहेरीको अनुसन्धानलाई अहिले कास्की प्रहरीले तिव्रता दिएको हो ।

यो बीचमा सांसद लामिछानेका साथै रास्वपाका सहमहामन्त्री विपिन आचार्य, नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी र माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीका महासचिव दीपेश पुनसँग जिल्ला प्रहरी कार्यालय कास्कीले बयान लिइसकेको छ ।

१० भदौमा लामिछानेको बयान लिएको प्रहरीले काठमाडौंकै एक सरकारी कार्यालयमा ८ भदौमा आचार्य, जोशी र पुनको बयान लिएको थियो । उता सहकारी ठगीबारे अनुसन्धान गर्न बनेको संसदीय विशेष समितिले ७ भदौमा लामिछानेसँग ९ घण्टा भन्दा लामो समय राखेर बयान लिएको थियो ।

प्रहरीसँगको बयानमा उपस्थित हुँदै लामिछानेले सहकारीको रकमबारे आफूलाई केही थाहा नभएको दाबी गरेका थिए । ‘सहकारीको रकमबारे मलाई केही थाहा छैन । मलाई थाहै नदिई कसले मेरो नाममा के गर्‍यो त्यो थाहा हुने विषय पनि भएन’, उनले प्रहरीसँग दाबी गरे, ‘कम्पनीबाट अलग भइसकेकाले त्यहाँको आर्थिक कारोबारको पाटोमा म जानकारी छैन ।’

लामिछानेसहित आरोपितहरुसँग बयान लिन कास्कीबाट डीएसपी वसन्तकुमार शर्माको कमाण्डमा तीन जनाको छानबिन टोली काठमाडौं आएको थियो । काठमाडौं आएको उक्त प्रहरी टोलीले गोर्खा मिडिया नेटवर्कको कार्यालय, नेचर हब्र्स र नेचर नेस्ट इन्टरनेशनलको कार्यालयमा समेत छापा मारेर खानतलासी गरेको थियो ।

‘कार्यालयहरुमा सहकारी सम्बन्धी केही कागजाताहरु भेटिन्छ कि भनेर खानतलासी गरिए पनि कुनै महत्वपूर्ण कागजात भेटिएनन्’ प्रहरी स्रोतले भन्यो ।

खानतलासी गरिसकेपछि प्रहरीले प्रतिवादी तथा आरोपितहरुको बयान कागज समेत गराएको थियो । ‘मुद्दाका प्रतिवादी तथा आरोपितहरुलाई लागेको आरोपमा गरिने छानबिन अनुसार सोधपुछ गरेर कागज गराइएको हो’, एक प्रहरी अधिकृतले भने, ‘सामान्य रुपमा भन्दा अब यो मुद्दा प्रक्रियाको प्रस्थान विन्दु सुरु भयो भन्दा हुन्छ ।’

माघमै रवि, दीपेशसहित विभिन्न संस्था गरी १८ जनालाई प्रतिवादी बनाउँदै पूरक जाहेरी परे पनि यस विषयमा प्रहरीले तत्परताका साथ छानबिन गर्न सकेको थिएन ।

यसको मुख्य कारण आफ्नो अभियोगसँग स्वार्थ बाझिने तालुकदार गृहमन्त्रालयको चाबी उनै लामिछानेसँग थियो । गृहमन्त्रीबाट लामिछाने बाहिरिएसँगै अब प्रहरीलाई खुलेर अनुसन्धान गर्न सहज भएको छ ।

यद्यपि सहकारी ठगी प्रकरणमा मुछिनेमा लामिछानेमात्रै छैनन् । यसअघि पनि सहकारी ठगी प्रकरणमा समातिएर मुद्दा चलिसकेका दीपेश पुनलाई उच्च राजनीतिक कनेक्सन भएकै आधारमा प्रहरीले पुरक जाहेरीका आधारमा थप स्वतन्त्र छानबिन चलाउन सकेको थिएन ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल अध्यक्ष रहेको माओवादी केन्द्रका उच्च तहका कार्यकर्तामात्रै नभई उनी पूर्वउपराष्ट्रपति तथा प्रचण्डका दाहिने हात मानिने नन्दकिशोर पुनका छोरासमेत हुन् ।

उनी बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको आरोपमा २ चैतमा पुन पक्राउ परेका थिए । रुपन्देही जिल्ला अदालतका न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि १४ वैशाखमा धरौटी बुझाएर उनी रिहा भएका थिए ।

अहिले उनै पुनमाथि समेत कास्की प्रहरीले अनुसन्धान अघि बढाएको छ । कुनै समय पुन सूर्यदर्शन सहकारीको सचिवसमेत रहेको पाइएको प्रहरीले जनाएको छ ।

३१ असार २०७८ मा पुलेसो कर्जा मार्फत लामिछानेको नाममा सहकारीको १ करोड रकम निकासा गरिएको भेटिएको थियो । पछि उक्त ऋण फर्स्योट भएको पनि भेटिएको थियो, जबकि लामिछानेले भने आफ्नो कारोबारबारे आफैं अनभिज्ञ रहेको जिकिर गर्दै आएका छन् ।

सूर्यदर्शन सहकारीको ५ करोड ५८ लाख ९ हजार रुपैयाँभन्दा बढी रकम गोर्खा मिडियामा गएको अनुसन्धानबाट भेटिएको थियो ।

त्यतिबेला गोर्खा मिडिया नेटवर्कको क्रिएटिभ डाइरेक्टर आचार्य थिए । उनै आचार्य अहिले रास्वपाका सहमहामन्त्री छन् । त्यसैले प्रहरीले यस कारोबारबारे उनीसँग पनि बयान लिएको हो । उनको नामबाट ६ पुस २०७८ मा सूर्यदर्शन सहकारीको १ करोड रुपैयाँ गोर्खा मिडियामा समेत गएको थियो ।

त्यस्तै बयान लिइएका अर्का व्यक्ति पूर्वडीआईजी छविलाल जोशी गोर्खा मिडिया नेटवर्कका लगानीकर्ता तथा जीबी (गितेन्द्रबाबु) राईका पूर्वसाझेदार समेत हुन् ।

समितिको फाइल कुर्दै प्रहरी

प्रहरीले आरोपितहरुसँग सोधपुछ चलाइराखेको भए पनि अहिले नै मुद्दा प्रक्रिया अदालत पुगिहाल्ने अवस्थामा नरहेको जानकारी दिएको छ । अहिले बयान र सोधपुछ चलिरहेकाले मुद्दा जाने अवस्थामा सरकारी वकिलको रोहबरमा बयान हुने र त्यसपछि मुद्दा दर्ताको प्रक्रियामा जाने प्रहरी भनाइ छ ।

त्यसका लागि भने प्रहरीले अहिले संसदीय छानबिन समितिको प्रतिवेदन कुरेर बसेको छ । संसदीय छानबिन समितिले कस्तो रिपोर्ट दिन्छ सोही अनुसार प्रक्रिया अघि बढाउने तयारीमा प्रहरी छ ।

उता सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले समग्र सहकारीको समस्या पहिचान गरेर त्यसको समाधानका लागि राज्यले गर्नुपर्ने विषयहरु र थप छानबिन तथा अनुसन्धानबाट टुंग्याउनुपर्ने विषयहरु छुट्याएर प्रतिवेदन बुझाउने तयारी गरेको छ । प्रतिवेदन लेखन चरणमा प्रवेश गरेको समितिले थप १५ दिनको म्याद पाएको छ ।

संसदीय समितिको छानबिन अनुसार पोखराको सूर्यदर्शन सहकारी पनि अहिलेको छानबिनमा परेकाले समितिको रिपोर्ट अध्ययनपछि मात्रै मुद्दा प्रक्रिया अघि बढाउने प्रहरी तयारी छ । संसदीय समितिको प्रतिवेदनअघि आन्तरिक अनुसन्धानका पाटाहरु बाहेक अन्य प्रक्रिया नबढाउने प्रहरीको भनाइ छ ।

‘संसदीय समिति नै बनाएर छानबिन गरेपछि त्यसको विरुद्धमा गएर प्रहरीले अनुसन्धान गर्ने विषय पनि भएन । त्यसकारण समितिको प्रतिवेदनपछि मात्रै मुद्दाको प्रक्रियाले गति लिन्छ’, एक प्रहरी अधिकारीले भने ।

२२ भदौसम्म संसदीय समितिको म्याद रहे पनि सरकारले १५ दिन थप गरेको छ । जसकारण ६ असोजसम्म समितिलाई प्रतिवेदन बुझाउने म्याद रहन्छ । सरकारले बुझेको प्रतिवेदन अध्ययन गरेर कार्यान्वयनका लागि आउँदासम्म कम्तीमा मध्य असोज हुने भएकाले त्यसपछि मात्रै मुद्दा प्रक्रिया अघि बढ्ने देखिन्छ ।

यो बीचमा प्रहरीले बरामद सर्भरको अनुसन्धान, पूरक जाहेरीमा नाम उल्लेख गरिएका व्यक्ति, संस्थाहरुमाथिको अनुसन्धानलाई तिव्रता दिएको छ ।

२५ जनाविरुद्ध पक्राउ पूर्जी, ३८ जना फरार

गत १६ माघमा प्रहरीले पूर्वडीआईजी छविलाल जोशीले भाडामा लिएको शंखमूलस्थित घर छापा मारेर चारवटा सर्भर बरामद गरेको थियो । सर्भर बरामद हुनुअघिसम्म २०७६ सालदेखिको विवरण भेटिदा १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८९९ रुपैयाँ ठगिएको भन्दै १९ जनाविरुद्ध मुद्दा चलाइएको थियो ।

सर्भर बरामद भएपछि थप चार वर्षको गरी २०७२ सालदेखिको कारोबार भेटिएको थियो । जसअनुसार सर्भर बरामद भएपछि ठगीको बिगो बढेर १ अर्ब ५० करोड ९० लाख ३० हजार ५०३ रुपैयाँ पुगेको थियो ।

त्यसपछि थप २५ जनालाई पक्राउ पूर्जी लिइएको कास्कीका एसपी मोहनकुमार थापाले बताए । ‘सर्भरबाट १५ लाख भन्दा बढी ठगीको बिगो खुलेपछि थप २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो’ एसपी थापाले भने ।

प्रहरीका अनुसार थप २५ जनाविरुद्ध साउनको पहिलो साता पक्राउ पुर्जी जारी भएको छ । प्रहरी स्रोतका अनुसार पक्राउ पूर्जी जारी हुने २५ जनामा २०७२ देखि २०७६ सालसम्म सहकारीको माथिल्लो पदमा बसेकाहरु छन् ।

यसअघि मुद्दा चलाइएका १९ जना मध्ये ६ जना पक्राउ परेर पुर्पक्षमा गएका छन् । त्यतिबेलाका १३ जना र अहिले पक्राउ पुर्जी जारी भएका २५ जना गरी ३८ जना पक्राउ पर्न बाँकी नै छन् ।

पूर्जी जारी भएर मुद्दा चलेका व्यक्तिको संख्या ४४ पुगिसकेको छ । दोस्रो चरणको अनुसन्धानबाट प्रतिवादीको संख्या थप बढ्न सक्ने अवस्था छ ।

तर लामिछानेको खुला चुनौती

सहकारी छानबिन प्रक्रिया तीव्र हुँदै गएकामा असन्तुष्ट लामिछानेले यसलाई राजनीतिक कोणबाट व्याख्या गर्न थालेका छन् । सुरुमा चितवनबाट कास्की प्रहरीसँग फोनमा कुरा गर्दै आफू कास्कीमै आएर बयान दिन तयार रहेको बताए पनि लामिछानेले त्यसको भोलिपल्ट आफूविरुद्ध षड्यन्त्र भइरहेको भन्दै राजनीतिक रङ दिन खोजेका थिए ।

उनले भनेका थिए, ‘सक्छौ भने मलाइ थुन, हत्कडी लगाऊ । यदि सक्दैनौ भने म तिमीहरुलाई यत्तिकै छाड्ने छैन । अल् भर्सेज रास्वपा ।’

यद्यपि लामिछानेले काठमाडौं फर्केर प्रहरीसामू बयान दिँदा भने विधि प्रक्रियाको पालना गर्दै उपस्थित भएको बताए थिए । उनले आफू अनुसन्धानलाई सघाउन तयार रहेको भनेका थिए ।

तर मंगलबार दिउँसो कोशीमा पुगेर लामिछानेले फेरि उही चिडचिडाहट दोहोर्‍याए । उनले यति बेला नागरिकहरुमा निराशा बढ्दै गएको दाबी गरेका थिए । उनले सुशासनका लागि आफूहरुले पहल गरिरहेको अवस्थामा सरकार ढलेको जिकिर पनि गरे । साथै उनले निकट भविष्यमा जनआन्दोलन हुन सक्ने भन्दै त्यस्तो अवस्था उत्पन्न भए आफूहरु अग्रपंक्तिमा हुने समेत दाबी गरे ।

‘जनआक्रोश बढ्दै जाँदा जनआन्दोलन हुन सक्छ, त्यसलाई हामी अग्रपंक्तिमा बसेर नेतृत्व गर्नेछौं’, लामिछानेले भने ।

सत्ताबाट बाहिरिएको डेढ महिना नपुग्दै लामिछानेले दिएको आन्दोलनको चेतावनीलाई सहकारी ठगी प्रकरणमा चलिरहेको राज्यको अनुसन्धान प्रभावित पार्ने उद्देश्यले आएको भनी विश्लेषण समेत भइरहेको छ ।

लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?