+
+

जीर्ण संरचना र ‘लो भोल्टेज’ले कर्णालीलाई असाध्यै दुःख दियो

लाइन जति-जति लामो हुन्छ, भोल्टेज घट्दै जान्छ। ३३ केभी लाइन भने पनि यो कमजोर संरचनाकै कारण सुर्खेतसम्म आइपुग्दा २५-२६ केभीमा झर्छ । मुगुदेखि डोल्पासम्म विस्तार गर्दा लाइनमा ‘ओभरलोड’ हुन्छ। त्यसपछि भोल्टेज स्वतः घट्ने नै भयो।

शम्भु कुसियैत यादव, प्रमुख, विद्युत् प्राधिकरण कर्णाली शम्भु कुसियैत यादव, प्रमुख, विद्युत् प्राधिकरण कर्णाली
२०८१ भदौ २१ गते १३:२४

अहिले सुर्खेतमा सञ्चालित विद्युत् झन्डै तीन दशक पुरानो ३३ केभी लाइन हो । कमजोर संरचनाका कारण हावाहुरी नचलेको अवस्थामा पनि छिनछिनमा बत्ती जाने समस्या छ । विद्युत् समस्या दोहोरिइरहनुमा जीर्ण संरचना र भोल्टेज नै मुख्य कारण हो ।

हामीसँग पुराना र जीर्ण संरचना छन् । हावाहुरी चल्यो कि रूख ढलिहाल्छ । पोलमै रूख ढलेपछि विद्युत् आपूर्ति बन्द हुन्छ । यतिसम्म हुन्छ कि– लाइन कहाँ बिग्रियो भनेर पत्ता लगाउँदै दिन बित्छ ।

अर्को कुरा, कोहलपुर–सुर्खेत ३३ केभी लाइन विस्तार गर्दा निकुञ्ज र जङ्गलको बाटो तार तानिएको छ । यो अहिलेको प्रसारण लाइन होइन, वितरण लाइन हो । झन्डै ६२ किलोमिटर वितरण लाइन विस्तार गर्दा आफैंमा भोल्टेज कम भएर आउँछ ।

समस्या गर्मीयाममा बढी देखिन्छ । त्यसो हुनुको प्रमुख कारण, गर्मीको समयमा विद्युत् उत्पादन कम हुनु र उपभोक्ताहरूमा माग बढ्नु हो । गर्मीयाममा सबैले घरमा एसी, फ्रिज, कुलर जस्ता उपकरणहरू चलाउँदा विद्युत् खपत ह्वात्तै बढ्छ । यो कर्णालीमा मात्र नभई देशभर हुन्छ ।

कर्णालीमा लो भोल्टेजको अर्को प्रमुख कारण भनेको दैलेखमा हुने आन्तरिक उत्पादन घट्नु हो । हामीले दैलेख सहित अन्य जिल्लाहरूबाट १० मेघावाट विद्युत् प्रदेशमै उत्पादन गर्दै आएका छौं । त्यो विद्युत् कर्णालीमै वितरण हुन्छ ।

गर्मीयाम सुरु भएसँगै कर्णालीको उत्पादन ह्वातै घट्छ । त्यसलाई बाहिरबाट पूर्ति गर्दा कमजोर संरचनाका कारण भने अनुसारको भोल्टेज आउँदैन । सिस्टममा जति लोड बढ्यो, उति भोल्टेज घट्दै जान्छ । गर्मी महिनामा कोहलपुरबाट भोल्टेज घटेर आउँछ ।

कोहलपुरबाट सुर्खेत विस्तार गरिएको ३३ केभी लाइन अहिले दैलेख, कालीकोटहुँदै जुम्लासम्म विस्तार गरिएको छ । कोहलपुरदेखि जुम्ला पुग्दा ३३० किलोमिटर हुन्छ । प्राविधिक रूपमा त्यो सहज मामिला होइन ।

३३० किलोमिटरको लामो लाइनमा कुनै पनि ठाउँमा एउटा रूखले छोयो भने सिस्टम नै जान्छ । निकुञ्ज क्षेत्र छ, यस बाहेक पनि धेरै समस्या छन् । तर, अहिले त्यति भए पनि ग्रिडमा जोडौं भनेर लागेका छौं । ग्रिडमा जोडिसकेपछि पछि सुधार गर्दै लैजानुपर्छ भन्ने सोच छ ।

यही ३३ केभीलाई नै अर्को रुट, सल्यानको केही भाग, जाजरकोट, रुकुमपश्चिमको चौरजहारी हुँदै डोल्पासम्म ग्रिड विस्तार गरिएको छ । लाइन जति-जति लामो हुँदै जान्छ, त्यसको भोल्टेज पनि स्वतः घट्दै जान्छ ।

३३ केभी लाइन भनेपछि यो कमजोर संरचनाकै कारण सुर्खेतसम्म आइपुग्दा २५–२६ केभीमा झर्छ । त्यही लाइन मुगुदेखि डोल्पासम्म विस्तार गर्दा लाइनमा ओभर लोड हुन्छ । त्यसो हुँदा भोल्टेज स्वतः घट्ने नै भयो । जति जति लाइन लामो हुँदै जान्छ त्यति नै अवरोध हुने र बिग्रिने सम्भावना बढ्छ ।

कर्णालीमा चैतदेखि साउनसम्म भोल्टेजमा समस्या हुँदै आएको छ । कोहलपुरदेखि सुर्खेत आएको लाइनको जङ्गल क्षेत्रमा पोलको छेउछाउका धेरै रूखहरू काट्नुपर्छ । तर वातावरणमा असर पर्ने भएपछि रूखहरू त्यसरी काटिएको छैन ।

पोलबाट रूखको दूरी ५ मिटर हुनुपर्छ । तर अहिले जम्मा ३.३ मिटर मात्रै छ । लाइनको दायाँ–बायाँ अहिले आधा–आधा मिटरको दूरीमा रूख कटान गरिएको छ । जबकि रूखको दायाँ–बायाँ १ मिटरको दूरीमा रूख काट्नुपर्छ । त्यसो नहुँदा ती रूखका हाँगाहरू लच्किएर पोलमा छुन्छ ।

पानी पर्‍यो र हावा चल्यो भने पनि ती हाँगाहरूले विद्युत्को पोल छुन्छ । त्यसले गर्दा लाइनमा बाधा हुने गरेको छ । पोलको दायाँ–बायाँ ५÷५ मिटर दूरीमा रूख काट्यो भने यो समस्या हल गर्न सकिन्छ । तर निकुञ्जले ती रूख काट्न दिंदैन ।

भोल्टेज तल–माथि हुनुको अर्को समस्या भनेको ओभर लोडमा चलेको लाइनको तापक्रम धेरै हुनु हो । ओभर लोड हुँदा ठाउँ–ठाउँमा जम्पर र तार चुँडिने जस्ता समस्या देखिन्छन् । यो लाइनको मेकानिकल क्षमता जुन छ त्यो घट्दै गएको छ ।

अहिले कोहलपुर–सुर्खेत विस्तार गरिएको लाइनको तार हातमा लिएर च्याप्यो भने सिसा फुटे जसरी भाँचिन्छ । यो लाइनलाई पूर्णरूपमा मर्मत गर्ने, तार फेर्ने र पोल गाड्ने हो भने महिनौं बत्ती बन्द गर्नुपर्छ । त्यो समस्या न्यूनीकरण गर्न पहिले वर्षमा दुई पटक रूख काट्ने गरिन्थ्यो भने अहिले वर्षमा चार पटक हाँगा काट्ने गरेका छौं । र, कमजोर जम्पर परिवर्तन गर्दै आएका छौं ।

कोहलपुर–सुर्खेत कर्णालीलाई जोड्ने एक मात्र लाइन हो । हामीसँग अहिलेसम्म यसको विकल्प छैन । तत्कालका लागि यसैलाई सुधार गरेर चलाइरहेका छौं । कर्णालीमा प्रत्येक वर्ष विद्युत्को माग बढ्दै गइरहेको छ । तर त्यो माग यी पुराना संरचनाले पूर्ति गर्न सक्दैन । तसर्थ हामीले यो वर्षदेखि अरू दुई वटा अल्पकालीन विकल्प समेत तयार पारेका छौं ।

अहिले अल्पकालीन समस्या समाधानका लागि कैलाली चिसापानीमा रहेको ३३ केभीको लाइनलाई पश्चिम सुर्खेतको बाबियाचौर, बडीचौर हुँदै वीरेन्द्रनगरको बुद्बुदे सव–स्टेसनमा जोडेका छौं । यो प्रसारण लाइनको परीक्षण भइसकेको छ । अबको एक साताभित्र यो पूर्ण रूपमा सञ्चालनमा आउनेछ ।

कोहलपुर–सुर्खेतको ३३ केभी लाइन अवरुद्ध हुँदा अब चिसापानीबाट ल्याएको लाइनले काम चलाउन सकिनेछ । चिसापानीको अधिक क्षेत्र पनि जङ्गलबाट आएकाले त्यो पनि त्यति भरपर्दो लाइन भने होइन ।

त्यस्तै माथिल्लो कर्णालीका दैलेख, कालीकोट, जुम्लाहुँदै मुगुसम्मको लाइनको विकल्पका रूपमा अछामको कमल बजारदेखि दैलेखको राकम बजारसम्म ३३ केभीे लाइन जोडेका छौं । त्यो लाइन पनि सञ्चालनको अन्तिम चरणमा छ ।

यी सबै अल्पकालीन समाधानका माध्यम हुन् । यी दुई वटा अल्पकालिक लाइन विस्तार गरे पनि यसले कर्णालीको गर्मीयाम थेक्न सक्ने छैन । कर्णालीको दीर्घकालीन विद्युत् समस्याको समाधान भनेको कोहलपुर सुर्खेत १३२ केभी प्रसारण आयोजना नै हो ।

अहिले कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको काम भइरहेको छ । काममा कुनै पनि अवरोध नभए अबको ८ महिनाभित्र यो आयोजना सम्पन्न हुनेछ । तर बाँकेको बानियाभार र सुर्खेतको सुब्बाकुनामा जग्गाको विवाद हुँदा स्थानीयले अवरोध गरेका छन् ।

बानियाभारको  विवाद त अहिले अदालत पुगेको छ । अहिलेसम्म उक्त आयोजनाको ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । कोहलपुरदेखि सुर्खेतसम्म १६२ वटा टावर मध्ये हालसम्म १२५ वटा टावर जडान गरिएको छ । असोजबाट निकुञ्जभित्रको रूख कटान सुरु हुनेछ ।

हामीले सुर्खेतदेखि दैलेखसम्म १३२ केभीको प्रसारण लाइन विस्तारका लागि ठेक्का समेत दिइसकेका छौं । त्यसको डिजाइन फाइनल भइसकेको छ । लगत्तै दैलेखदेखि जुम्लासम्मको प्रसारण लाइन विस्तारका लागि टेन्डर प्रक्रियामा गइसकेको छ ।

यस्तै वीरेन्द्रनगरको धुलिया विट सव–स्टेसन निर्माणको काम पनि चलिरहेको छ भने टावर निर्माण भएको २५ किमीमा तार तानिएको छ । वीरेन्द्रनगरको सुब्बाकुनामा चार हेक्टर क्षेत्रफलमा सव–स्टेसन निर्माणको काम भइरहेको छ ।

भौगोलिक विकटता तथा केही हाम्रो पनि कमी–कमजोरी रह्यो होला । कर्णाली प्रदेशलाई पूर्ण रूपमा विद्युतीकरण गर्नुपर्छ भनेर नेपाल विद्युत् प्राधिकरण अहिले लागिरहेको छ । हुम्ला बाहेक कर्णालीका ९ जिल्लालाई राष्ट्रिय प्रसारण लाइनमा जोडेका छौं । अहिलेसम्म कर्णालीको ७४.३७ प्रतिशत क्षेत्रमा राष्ट्रिय प्रसारण लाइन जोडिएको छ ।

कर्णालीमा रहेका ठूला आयोजनाहरू पनि अब विस्तारै सञ्चालनमा आउँछन् । सडक र प्रसारण लाइन नबनिकन परियोजनाहरू आउँदैनन् । तीनदेखि चार वर्षभित्र जुम्लामा १३२ केभी प्रसारण लाइन पुग्छ भन्ने हाम्रो ग्यारेन्टी छ ।

अहिले तिलादेखि फुकोटसम्म विद्युत् प्राधिकरण समेतको लगानी भएका कम्पनीहरूले काम गरिरहेका छन् । त्यहाँ ४५० देखि १ हजार ९०० मेगावाटसम्मका परियोजनाहरूमा काम गरिरहेका छन् ।

नेपालका सात वटा प्रदेशमध्ये सबैभन्दा कम विद्युतीकरण भएको कर्णाली प्रदेश नै हो । कर्णाली प्रदेशलाई पूर्ण विद्युतीकरण गर्ने नेपाल सरकारको नीति अन्तर्गत प्राधिकरण एकदमै तीव्र गतिमा परिचालित भएर काम गरिरहेको छ ।

कर्णालीमा प्राधिकरणका विभिन्न किसिमका संरचना निर्माण भइरहेका छन् । कर्णालीमा अढाइ वर्ष अगाडि विद्युतीकरण ४५ प्रतिशत मात्रै थियो । पछिल्लो दुई वर्षमा कर्णालीमा ७२ प्रतिशतले विद्युतीकरण भएको छ । अहिले डोल्पा, मुगु, रुकुम, जुम्ला, लगायत जिल्लाहरूमा राष्ट्रिय प्रसारण लाइन पुगिसकेको छ ।

कर्णालीमा एउटा घरमा विद्युत् पुर्‍याउन कम्तीमा एक करोड रुपैयाँ खर्च लाग्छ । यो सरकार र विद्युत् प्राधिकरणको दायित्व हो । साना जलविद्युत्लाई हामीले ग्रिडमा जोडेर चलाउनुस् भनेका छौं । त्यसको राजस्व स्थानीय विकासमा खर्च गर्नुस् भनेका छौं ।

पीपीएमा जुन दर छ त्यही दरमा विद्युत् प्राधिकरणले दिन्छ भनेका छौं । कर्णालीलाई राष्ट्रिय प्रसारण लाइन पुर्‍याउन नसकिने ठाउँमा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र मार्फत सौर्य, जलविद्युत् (माइक्रो हाइड्रो) लगायत मार्फत विद्युतीकरण गर्ने प्राधिकरणको योजना छ ।

कर्णालीमा विद्युतीकरणको खर्च र यहाँ खपत हुने विद्युत्को आम्दानीबाट लागत समेत उठ्दैन, तर सबैको घरमा विद्युत् पुर्‍याउने राज्यको दायित्व भएकोले नाफा–नोक्सान नहेरी विद्युत्लाई आधारभूत आवश्यकताको वस्तुको रूपमा लिएर काम गरिरहेका छौं ।

एशियाली पूर्वाधार लगानी बैंक र युरोपेली लगानी बैंकबाट प्राधिकरणले २२ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण लिएर कर्णाली तथा सुदूरपश्चिमका पहाडी तथा हिमाली जिल्लाका सबै घरधुरीमा एक वर्षभित्र विद्युत् पुर्‍याउने गरी काम गरिरहेको छ ।

(नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेश प्रमुख इन्जिनियर यादवसँग अनलाइनखबरका लागि यज्ञ खत्रीले गरेको कुराकानीमा आधारित ।) 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?