+
+

यो वर्ष पनि सरकारले भेटेन सर्वोत्कृष्ट कर्मचारी

भोलि शनिबार पनि सिंहदरबारमा हुने निजामती दिवसको मूल समारोहमा सर्वोत्कृष्ट कर्मचारी घोषणा हुने छैन । यो वर्ष पनि सर्वोत्कृष्टको न्यूनतम मापदण्डहरु पूरा भएका कोही पनि कर्मचरीको नाम मन्त्रालय र निकायहरुबाट सिफारिस नै भएर नआएको छनोट समितिका एक सदस्यले बताए ।

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०८१ भदौ २१ गते १९:२०

२१ भदौ, काठमाडौं । यो वर्ष पनि सरकार सर्वोत्कृष्ट राष्ट्रसेवक कर्मचारी छनोट गर्न असफल भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भोलि निजामती सेवा दिवसको अवसरमा १० जनालाई उत्कृष्ट निजामती र ३० जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

हरेक वर्ष २२ भदौमा निजामती सेवा दिवस मनाइन्छ । दिवसको अवसरमा सर्वोत्कृष्ट राष्ट्रसेवक कर्मचारी घोषणा गरी २ लाख रुपैयाँ दिने कार्यविधि छ । तर पछिल्लो ८ वर्षदेखि सरकारले सर्वोत्कृष्ट कर्मचारी घोषणा गरेको छैन ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार उत्कृष्ट निजामती र निजमाती सेवा पुरस्कार पाउनेहरुको नाम समेत टुंगो लागिसकेको छैन ।

स्रोतका अनुसार दलीय भागबण्डा समेत मिलाउनु पर्ने भएपछि सूची बनाउन सकस भएको हो । ‘४० जनाको सुची टुंग्याउन त राजनीतिक दबाबले यति धेरै सकस छ,’ मन्त्रिपरिषद् कार्यालय स्रोतले भन्यो, ‘सर्वोतकृष्ट दिने भनियो भने त सबैले आ–आफ्ना दाबी राखेर झल्न नै सदिँदैन ।’

सरकारले पूर्वसचिव गोपीकृष्ण खनाल, कानुन सचिव उदयराज सापकोटा र संघीय मामिला तथा सामान्य प्रशासन सचिव भरतमणि सुवेदी समेत रहेको समिति बनाएर पुरस्कार पाउने कर्मचारीहरु छनोट गर्ने निर्णय गरेको थियो ।

मुख्यसचिवले नेतृत्व गर्ने यो समितिले गरेको मूल्यांकनका आधारमा सवोत्कृष्ट कर्मचारी छनोट गर्न नसकिएको संघीय मामिलाका एक अधिकारीले बताए ।

संघ, प्रदेश र स्थानीय तहमा दरबन्दीका करिब ६८ हजार भन्दाबढी कर्मचारी कार्यरत छन् । उनीहरुमध्ये करिब ४२ हजार कर्मचारी संघ सरकारकै माहतहतमा छन् । तर हरेक वर्ष सर्वोत्कृष्ट कर्मचारी नै भेटिएको तर्क गर्ने गरिएको छ ।

२०६१ सालबाट निजामती सेवा दिवस मनाउन थालेदेखि नै निजामती सेवा पुरस्कारको वितरण थालिएको थियो । त्यतिबेलै २ लाख रुपैयाँ राशिसहित एक जनालाई ‘सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार’ दिने व्यवस्था गरिएको थियो । वर्षैसाल १० जनालाई १ लाख रुपैयाँ राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनाले ५० हजार रुपैयाँ राशीको निजामती सेवा पुरस्कार दिइन्छ । पछिल्लो पटक २०७३ मा तत्कालीन सचिव शान्तराज सुवेदीले सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाएका थिए ।

त्यसयता हरेक वर्ष निजामती र उत्कृष्ट निजामती सेवा पुरस्कार मात्र दिइएको छ । सर्वोत्कृष्ट सरकारी भने नभेटिएको भन्दै पुरस्कार नै दिइएको छैन ।

भोलि शनिबार पनि सिंहदरबारमा हुने निजामती दिवसको मूल समारोहमा सर्वोत्कृष्ट कर्मचारी घोषणा हुने छैन ।

सर्वोत्कृष्ट निजामती सेवा पुरस्कारका लागि निजामती सेवाको स्थायी पदमा १५ वर्ष वा सोभन्दा बढी अवधि सेवा गरेको, पछिल्लो ५ वर्षको कार्यसम्पादन मूल्यांकनमा शतप्रतिशत अंक पाएको, पछिल्लो १५ वर्षमा कुनै पनि विभागीय सजाय नभोगेको र पुरस्कारको लागि सिफारिस हुने वर्षमा व्यक्तिगत बेरुजु कायम नदेखिएको हुुनपर्छ ।

नियमित रुपमा सम्पत्ति विवरण पेश गरेको, असाधारण विदाभएको भए त्यसपछि कम्तीमा दुई वर्ष काम गरेको, सम्बन्धित वर्ष र त्यसको अघिल्लो वर्षमा अध्ययन विदा नलिएको, पछिल्लो पाँच वर्षभित्र गयल कट्टीमा नपरेकोसहित प्रशासनिक बेरुजु नदेखिएको र प्रचलित कानूनबमोजिम बरबुझारथ गरेको हुनुपर्ने मापदण्ड छ । यो वर्ष पनि सर्वोत्कृष्टको न्युनतम् मापदण्डहरु पुरा भएका कोही पनि कर्मचरीको नाम मन्त्रालय र निकायहरुबाट सिफारिस नै भएर नआएको छनोट समितिका एक सदस्यले बताए ।

प्रशासनविद काशीराज दाहाल भने मूल्यांकन नै वस्तुगत हुन नसकेको बताउँछन् । निजामती पुरस्कार तदर्थमै वितरण भइरहेको भन्दै उनले मूल्यांकन विधि वस्तुगत नबनाएसम्म अहिलेको अवस्था कामयै रहने बताउँछन् ।

कर्मचारीको पृष्ठभूमि, कार्यसम्पादन, जनताको विश्वास लगायतका सूचकका आधारमा मूल्यांकन प्रणाली नबनाएकाले समस्या आएको उनले बताए । ‘पुरस्कार दिने बेलामा आएका नाममा अध्ययन गरेर निष्कर्षमा पुग्न पनि समय लाग्छ,’ उनी भन्छन्, ‘प्रणालीमा राम्रा कर्मचारी पनि छन्, प्रचार प्रसारमा आउँदैनन्, शक्तिको नजिक पनि घुम्दैनन् । त्यस्ता कर्मचारीलाई खोजी–खोजी मूल्यांकन गर्ने प्रणाली विकास गर्नुपर्छ ।’

कर्मचारीलाई जनताले कुन नजरबाट हेरेको छ भन्ने ढंगबाट मूल्यांकन हुुनपर्ने उनको भनाइ छ ।

निजामती दिवसका दिन केही कर्मचारी पुरस्कृत गर्नैपर्छ भनेर छनोट र मूल्यांकन गर्ने गरेका कारण समस्या भएको दाहालले बताए । ‘विगतमा सर्वोत्कृष्ट पुरस्कार पाएका व्यक्तिहरु पछि विवादित भएको अवस्था पनि थियो,’ उनले भने,‘फेरि त्यही अवस्था आउँछ कि भन्ने पनि भयले पनि यस्तो भइरहेको छ ।’

२२ भदौ २०१३ मा पहिलो निजामती सेवा ऐन आएको दिन पारेर २०६१ सालदेखि दिवस मनाउन थालिएयता वितरण भएका सर्वोत्कृष्ट पुरस्कार पाएकहरु पछि विवादमा तानिएका थिए । २१ वर्षमा ४ जना कर्मचारीले मात्र सर्वोत्कृष्ट कर्मचारी पुरस्कार पाएका छन् । २०६८ मा सूर्यप्रसाद गौतम, २०६९ मा भाइकाजी तिवारी, २०७० भगवतीप्रसाद काफ्ले र २०७३ मा शान्तराज सुवेदी सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाएका थिए ।

एक पूर्वसचिवका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखमार्फत सर्वोत्कृष्ट घोषित हुन बल लगाएको र कसैले प्रधानमन्त्रीको विश्वासपात्र भएकाले पुरस्कार पाएका थिए । एकले त लोकसेवा आयोगमा रहँदा आफ्नो श्रीमतीलाई नम्बर थपेर पास गराएको आरोप खेपेका थिए ।

पूर्वसचिव रामेश्वर खनाल पनि निजामती पुरस्कार र तक्मा प्रायः राजनीतिक तथा प्रशासनिक पहुँच प्रयोग गर्ने र चाकडी गर्नेहरुले नै पाउने गरेको बताउँछन् ।

सर्वोत्कृष्ट निजामती कर्मचारीका रुपमा पुरस्कृत हुन वास्तवमै योग्य कर्मचारीहरु रहेको भन्दै उनले प्रणालीमा त्यस्तो छान्ने सामथ्र्य समेत नभएको उनको टिप्पणी छ । ‘पुरस्कार र तक्मा पनि राजनीतिक पहुँचको दुरुपयोग हुन्छ, सर्वोत्कृष्ट कर्मचारी एक जनाले मात्रै पाउने भएकाले त्यहाँ धेरैको दाबी हुनसक्ने भएकाले विवादमा नफस्न पनि नछान्ने गरिएको हुनसक्छ,’ उनी भन्छन्, ‘अहिले कर्मचारीको वास्तविक मूल्यांकन भएर उसले थाहा नै नपाई अप्रत्यासित रुपमा पुरस्कार पाउने अवस्था नै छैन ।’

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?