+
+

घुम्न जाने भन्दै सुन्दरीजल पुर्‍याएर प्रेमिकाको हत्या

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २३ गते १५:३४

२३ भदौ, काठमाडौं। गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा मृत फेला परेकी युवतीको हत्या भएको खुलेको प्रहरीले जनाएको छ । हत्या भएकी महिला सिरहा घर भई काठमाडौंको बसुन्धारा बस्दै आएकी राम दुलारी रहेको प्रहरीको भनाइ छ ।

टाउकामा चोट देखिएपछि घटनाको अनुसन्धानलाई थप तीव्रता दिएको प्रहरीले राम दुलारीको हत्या भएको निष्कर्ष निकालेको थियो ।

गत बिहीबार सुन्दरीजल घुम्न गएका व्यक्तिले बोक्सेदहको ढुंगाको कापमा मान्छेको खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी वृत्त बौद्ध र जिल्ला प्रहरी परिसर काठमाडौंबाट अनुसन्धान टोली खटिएको थियो । प्रहरी घटनास्थल मुचुल्का गरेर शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाएको थियो ।

हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ समेत गरेको छ । पक्राउ पर्नेहरुमा सर्लाही चक्रघट्टा गाउँपालिका–३ का ४० वर्षीय रामविनय महरा र बसगरिया गाउँपालिका–५ घर भएका २४ वर्षीय सन्तोष राम महरा छन् ।

प्रहरीका अनुसार प्रेमी रामविनय जुत्ता सिलाउने काम गर्थे भने प्रेमिका राम दुलारी ज्याला मजदुरीको काम गर्थिन् । उनीहरु करिब दुई वर्षदेखि प्रेम सम्बन्धमा थिए । तर आपसी असमझदारीका कारण उनीहरुबीच पटक–पटक झगडा हुने गरेको थियो ।

त्यसपछि सन्तोषसँग मिलेर रामविनयले हत्याको योजना बनाएको पाइएको काठमाडौं प्रहरी परिसरका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

टाउकोमा हानेर हत्या, ढुंगाको कापमा लुकाइयो शव

योजनाअनुसार नै रामविनयले प्रेमिका राम दुलारीलाई घुम्न भनेर सुन्दरीजल लगेका थिए । त्यसपछि सन्तोषको सहयोगमा रामदुलारीको हत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।

‘प्रेमीले घुम्न जाउँ भनेकाले प्रेमिकाले सहजै मानेको देखिन्छ,’ एक अनुसन्धान अधिकृतले अनलाइनखबरसँग भने, ‘सुन्दरीजल पुर्‍याएपछि उनीहरुले (रामविनय र सन्तोषले) डिलबाट धकेलेर बोक्सेदहमा दुलारीलाई खसालेका थिए । त्यसपछि ढुंगाले टाउकोमा प्रहार गरेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’

हत्यापछि बोक्सेदहकै ढुंगाको कापमा दुलारीको शव लुकाएर उनीहरु त्यहाँबाट हिँडेको पाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?