+
+

एउटा जहाजको अवकाश

१६ वर्षदेखि अनवरत स्वदेशी तथा विदेशी यात्रुलाई गन्तव्य पुर्‍याइरहेको एउटा हवाईजहाजलाई मंगलबारदेखि सदाका लागि अवकाश दिइयो । यस्तो रमाइलो संयोग नेपालमै पहिलो पटक हुन पुगेको हो ।

अच्युत पुरी अच्युत पुरी
२०८१ भदौ २५ गते २०:१०

२५ भदौ, काठमाडौं । सरकारी होस् वा निजी जागिर, निश्चित अवधिपछि अवकाश हुनु सामान्य प्रक्रिया हो । यो नौलो विषय होइन । तर, आकाशमा उड्ने हवाईजहाजलाई पनि अवकाश दिइयो भन्दा अचम्म नमाने हुन्छ ।

मंगलबार नेपाली उड्डयन क्षेत्रमा भने यसअघि कहिल्यै नभएको एउटा यस्तो रमाइलो घटना भइदियो, जसले धेरैलाई अचम्भित बनायो ।

१६ वर्षदेखि अनवरत स्वदेशी तथा विदेशी यात्रुलाई गन्तव्य पुर्‍याइरहेको एउटा हवाईजहाजलाई मंगलबारदेखि सदाका लागि अवकाश दिइयो । यस्तो रमाइलो संयोग नेपालमै पहिलो पटक हुन पुगेको हो ।

एउटा जहाजको ‘आयु’ समाप्त भएपछि उसलाई अवकाश दिने काम निजी वायुसेवा कम्पनी बुद्ध एयरले गरेको हो ।

बुद्धले आफ्नो ‘फ्लिट’ मा रहेका ४७ सिट क्षमतायुक्त तीनथान ‘एटीआर४२–३२०’ जहाजमध्ये दर्ता नम्बर ‘९एन–एआईएन’ लाई मंगलबार अवकाश दिएको हो ।

नेपाली उड्डयन इतिहासमै पहिलो पटक उडान आयु सकिएको भन्दै एउटा जहाजलाई सदाका लागि अवकाश दिइएको हो ।

किन अवकाश दिइयो जहाजलाई ?

अवकाशप्राप्त यो जहाजको निर्माता कम्पनी फ्रान्सको एटीआर हो । एटीआरको नियम अनुसार आफ्ना जहाजलाई ७० हजार ‘साइकल’ पूरा गरेपछि व्यावसायिक उडानमा प्रयोग गर्न पाइँदैन । एक साइकल भनेको एक उडान र एक अवतरण हो ।

यसको मतलब मंगलबार अवकाश पाएको जहाजले मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तिम उडान (७० हजार साइकल) का लागि माउन्टेन फ्लाइट गरेको थियो । बिहान विमानस्थलबाट उडेर माउन्टेन फ्लाइट सकेपछि यहीँ अवतरण गरेको यो जहाजले अन्तिम साइक पूरा गरेको थियो । त्यसपछि यसको आयु समाप्त भएको थियो ।

यो जहाजले नेपालमा ४४ हजार ४ सय ७७ साइकल उडान गरेको थियो । सन् १९९७ मा उत्पादन भएपछि पहिलो उडान गरेको यो जहाज युरोपबाट सन् २००८ मा नेपाल ल्याइएको थियो । नेपालमा ‘एटीआर परिवार’ का रूपमा भित्रिएको यो पहिलो जहाज हो । यसले १६ वर्षमा १८ लाख यात्रु बोकेको थियो ।

अर्को रमाइलो पक्ष के हो भने एटीआर कम्पनीकै इतिहासमा पनि अवकाश पाउने यो पहिलो जहाज हो । किनभने, योभन्दा पुराना एटीआरकै जहाज पनि साइकल पूरा नहुँदै दुर्घटनामा परेका थिए भने धेरैजसो ‘फोजआउट’ (विस्थापन) भएका थिए ।

त्यसकारण पूरै आयु उडेर अवकाश पाउने यो पहिलो भाग्यमानी एटीआर जहाज हो ।

बुद्धका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतका अनुसार यो जहाजले यस्तो रेकर्ड बनाएको छ, जसलाई विश्वमै पहिलो पटक एटीआर परिवारमध्ये ७० हजार उडान/अवतरण साइकल पूरा गरी सुरक्षित अवकाश दिइएको हो ।

 

बुद्धका बजार निर्देशक रुपेश जोशी संसारभरि उडिरहेका एटीआर जहाजमध्ये ७० हजार साइकल पूरा गरी नियमित व्यावसायिक उडानबाट बिदा हुनु सुखद संयोग रहेको बताउँछन् ।

उड्डयन नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धक तथा सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार नेपालको आन्तरिक उडानमा ९० प्रतिशत जहाज दुर्घटनाका कारण फेजआउट भएका छन् ।

१० प्रतिशत जहाज साइकल बाँकी छँदै कवाडीका रूपमा विदेशी कम्पनीलाई बिक्री गरी फेजआउट गरिएको विवरण छ । बुद्धको यो जहाज नै पूर्णसाइकल पूरा गरी अवकाशमा जाने पहिलो जहाज बनेको उनले बताए ।

जहाजले अवकाश पाउँदा दुई प्रकारको सन्देश जाने उनी बताउँछन् । एक त नेपाली आकास सुरक्षित छ, जहाँ एक जहाजले पूरै साइकल पूरा गरी बिदा हुन सम्भव छ र अर्को केही नेपाली वायुसेवा कम्पनीले थोरै रकमको लोभमा हवाई सुरक्षामा सम्झौता गर्दैनन् भन्ने सन्देश गएको छ ।

नियमित उडानमा रहेको जहाजलाई अवकाश दिँदा हवाई सुरक्षामा थप बलियो हुनुपर्छ भनेर अन्य वायुसेवा कम्पनीलाई समेत प्रेरित गरेको भुलको भनाइ छ ।

‘एउटै कानुनको छाताभित्र कुनै कम्पनीले १६ वर्ष निरन्तर जहाज चलाएर सुरक्षित अवकाश दिन्छ भने यो एक प्रेरणादायी विषय हो,’ उपप्रबन्धक भुल भन्छन्, ‘जहाज निर्माण गर्ने कम्पनीको गाइडलाइन पच्छ्याउँदा मात्र पनि उडान सुरक्षित हुन्छ भन्ने सन्देश यसले दिएको छ ।’

उनका अनुसार यो जहाज एटीआरको गाइडलाइन अनुसार अवकाशमा गएको हो । यो जहाजमा जडान भएका इन्जिन, ल्यान्डिङ गियर तथा अन्य पार्टपुर्जाको आफ्नो साइकल अनुसार पुनः प्रयोग हुन्छ । मेन बडी भने व्यावसायिक उडानमा लगाउन पाइँदैंन । सोहीकारण यो जहाजले अवकाश पाएको हो ।

के गरिन्छ यो जहाज ?

बुद्धका अनुसार कम्पनीसँग अवकाश पाएकै जस्ता थप दुई जहाज सञ्चालनमा छन् । ती दुइटा जहाजलाई आवश्यक पार्टपुर्जा अवकाश पाएको यही जहाजबाट निकालेर प्रयोग गरिने छ । किनभने, आयु बाँकी रहेका पार्टपुर्जा पुनप्र्रयोग गर्न पाइने जहाज निर्माता एटीआरको गाइडलाइनमा उल्लेख छ ।

अब यो जहाजको बडी (जिउ) भने नागरिक उड्डयन प्राधिकरणलाई हस्तान्तरण गरिने छ । अवकाश प्राप्त जहाजको बडी प्राधिकरणले फायर फाइटिङ सर्भिस विभागलाई दिनेछ । जहाँ नयाँ आउने जनशक्तिलाई जहाजमा आगो लागेका बेला कसरी निभाउने भन्ने तालिम दिइने छ ।

हाल फायर फाइटिङ विभागसँग अर्को निजी कम्पनी यती एयरलाइन्सको जहाजको बडी छ । अब बुद्धको अवकाश प्राप्त जहाजलाई समेत सोही प्रयोजनमा प्रयोग गरिने छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?