+

लिग २ मा टी–२० बाट ओडीआई रुपान्तरण प्रमुख चुनौती

२०८१ भदौ  २५ गते २१:०२ २०८१ भदौ २५ गते २१:०२
लिग २ मा टी–२० बाट ओडीआई रुपान्तरण प्रमुख चुनौती

२५ भदौ, काठमाडौं । नेपाली क्रिकेट टोली त्रिकोणात्मक सिरिज खेल्न मंगलबार राति साढे २ बजे त्यसतर्फ जादैछ ।

मंगलबार बिहान नेपाल क्रिकेट संघ (क्यान)ले एक कार्यक्रम गरी १४ खेलाडीलाई बिदाइ गरेको छ । नेपालका कप्तान रोहित पौडेल र अलराउन्डर दीपेन्द्रसिंह ऐरी भने डेढ हिनादेखि क्यानडामा रहेर अभ्यास गरिरहेका छन् । उनीहरुले ग्लोबल टी–२० क्यानडा र स्थानीय प्रतियोगिता खेलेर आफूलाई ब्यस्त राखेका छन् ।

नेपाली टोली दुई महिना लामो वैदेशिक यात्रामा निस्केको हो । लिग २ मा घरेलु टोली क्यानडा, नेपाल र ओमानबीच प्रतिस्पर्धा हुनेछ । लिग २ मा नेपालले सेप्टेम्बर १६ र २२ मा क्यानडा तथा सेप्टेम्बर १८ र २४ मा ओमानसँग खेल्नेछ । लिग २ अघि नेपालले क्यानडा ११ विरुद्ध एक अभ्यास खेल पनि खेल्ने क्यानका सचिव पारस खड्काले बिदाइ कार्यक्रममा जानकारी दिए ।

यी तीन टोलीबीच नै त्रिकोणात्मक टि२० आई सिरिज २८ सेप्टेम्बरदेखि अक्टोबर ३ सम्म चल्नेछ ।

क्यानडामा त्रिकोणात्मक टी–२० आई सिरिज सकेपछि नेपाल अमेरिकातर्फ जानेछ । अमेरिकामा नेपालले लिग २ र त्रिकोणात्मक टी–२० आई सिरिज खेल्नेछ । अमेरिका, स्कटल्यान्ड र नेपालबीच हुने उक्त लिग २ र त्रिकोणात्मक सिरिजको खेल हुने मैदान र तालिका भने सार्वजनिक भएको छैन । क्यानडाका खेल सकिएको दुई हप्तापछि लिग २ हुने सम्भावना छ ।

टी–२० आई सिरिज खेलाडीलाई अभ्यास मात्रै हुनेछ । तर लिग २ भने निकै महत्वपूर्ण हुनेछ । किनभने ८ टोली सहभागी लिग २ २०२६ डिसेम्बरसम्म चल्नेछ । शीर्ष चारमा रहँदै सोझै विश्वकप छनोटमा पुग्न र ओडीआई मान्यता जोगाउन लिग २ को नतिजा निकै महत्वपूर्ण हुनेछ ।

नेपालले गतवर्ष लिग २ मा अन्तिम १२ मध्ये ११ खेल जित्दै सोझै विश्वकपमा छनोट हुनुको साथै ओडीआई मान्यता जोगाएको थियो ।

लिग २ मा नेपाल सुरुवाती चारमध्ये तीन खेलमा पराजित भएको छ । पछाडिको यात्रा सहज बनाउन नेपालले अहिले देखिनै खेलहरु जित्नुपर्ने हुन्छ । तर क्यानडा र अमेरिकामा नेपाललाई त्यहाँको कन्डिसन र टी–२० बाट ओडीआईमा रुपान्तरण मुख्य चुनौती देखिन्छन् ।

मुख्य प्रशिक्षक मोन्टी देशाई नेपाली ब्याटरले घरेलु मात्रै नभएर विदेशी भूमिमा पनि रन बनाउनुपर्ने बताउँछन् । ‘देशबाट प्रतिनिधित्व गरेपछि धेरै प्राथमिकता हुन्छ । लिग–२ मा अवेमा धेरै रन बनाउनुपर्छ । जित र हार हाम्रो हातमा छैन । आफ्नो भूमिकामा विश्वास गरेर र प्रोसेसलाई ख्याल गर्ने हो भने पक्कैपनि हामी राम्रो गर्दछौं’, उनले भने ।

तर इतिहासदेखि नै नेपालले घरेलु मैदानबाहिर राम्रो प्रदर्शन गर्न सकेको छैन । २०१८ मा ओडीआई मान्यता प्राप्त गरेपछि नेपाली ब्याटरले जम्मा ८ शतक बनाएका छन् । तर विदेशी भूमिमा शतक बनाउनेमा पारस खड्का (२०१९ मा युएईविरुद्ध ११५ रन) मात्रै हुन् । अन्य सात ब्याटरले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शतक हानेका हुन् ।

क्यानडा र अमेरिकाको कन्डिसन नेपालको भन्दा फरक छ । दुई महिनाअघि आईसीसी टी–२० विश्वकपमा नेपालले अमेरिकामा राम्रो ब्याटिङ गर्न सकेको थिएन । समूह डी मा रहेको नेपाल ग्राण्ड पेरी रंगशाला डालासमा नेदरल्यान्ड्सविरुद्ध १०६ रनमा अल आउट भएको थियो ।

त्यसअघि वार्मअप खेलमा खाली रंगशालाभित्र क्यानडाविरुद्ध १८३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १२० रनमा अल आउट भएको थियो ।

त्यसअघि अमेरिका स्थानीय टोली ह्युस्टन हुरिकेन्ससँग भएको दुई अभ्यास खेलमा नेपालले १४६ र १२३ रन मात्रै बनाउन सकेको थियो । त्यस्तै टी–२० विश्वकपमा अमेरिका खेलेर वेस्टइन्डिज पुगेपछि दक्षिण अफ्रिकाले दिएको ११६ र बंगलादेशले दिएको १०७ रनको लक्ष्य पनि पूरा गर्न सकेको थिएन ।

१७ जुनमा बंगलादेशविरुद्ध १०७ रनको लक्ष्य पछ्याउने क्रममा ८५ रनमा अल आउट भएपछि नेपालले पुन अन्तर्राष्ट्रिय खेल खेलेको छैन ।
तर क्यानडा र अमेरिका भ्रमणलाई नेपालले पछिल्लो तीन हप्ता भने राम्रो अभ्यास गरेको छ । यसै महिना नेपालले भारतको नेशनल क्रिकेट एकेडेमी (एनसीए) मा ट्रेनिङ गरेको थियो ।

त्यस क्रममा नेपालले तीन अभ्यास खेल खेलेको थियो । त्यसपछि यसै साता श्रीलंकामा एक हप्ता अभ्यास गरेको थियो । जसक्रममा श्रीलंका डेभलपमेन्टसँग १५९ रनमा अल आउट हुँदै ५ विकेटले हारेको थियो । वर्षाको कारण सुरुवाती दुई अभ्यास खेल हुन सकेको थिएन । एनसीएको तयारीले नेपाललाई सहयोग मिल्ने नेपाली टिमका अनुभवी बलर सोमपाल बताउँछन् ।

‘पहिलो पटक एनसीएमा अभ्यास गर्दा एकदमै खुसी लाग्यो । भारतीय खेलाडीले गर्ने अभ्यास र होटल एउटै थियो । उनीहरु भन्दा धेरै फरक हाम्रोमा थिएन’, सोमपालले भने ।

सन् २०२३ सेप्टेम्बर ४ मा भारतविरुद्ध एसिया कपमा नेपालले २३० रन बनाएको थियो । उक्त प्रतियोगितामा सुपर फोरमा बंगलादेशले बनाएको २६५ पछि भारतविरुद्ध बनेको ठूलो योगफल थियो । फाइनलमा श्रीलंका भारतसँग ५० रनमा अल आउट भएको थियो ।

राम्रो तयारी भएमा भारत र नेपालबीच खासै फरक नभएको सोमपालले बताए । ‘यस्तै क्याम्पहरु लागिराखेको खण्डमा भारतको बराबर हुन्छौं, यस्तै उच्चस्तरमा राम्रो प्रशिक्षकहरुसँग भेटेमा, राम्रो विकेटमा अभ्यास गरी राखेको खण्डमा हामी धेरै टाढा छैनौं । भारतसँग एसिया कप खेल्दा पनि त्यस्तो खासै फरक लागेको थिएन’, उनले भने ।

नेपाली क्रिकेटलाई अर्को स्तरमा पुर्‍याउने हो भने घरबाहिर अभ्यास गर्नुपर्ने सोमपाल बताउँछन् । ‘घरमै खेलेर मात्रै हुँदैन । बाहिर निस्केर पनि अभ्यास गर्नुपर्छ । नयाँ नयाँ कन्डिसन र खेलाडीसँग खेल्ने बानी हुनुपर्छ । अफगानिस्तान अहिले जहाँ पुगेको छ त्यसको मुख्य कारण नै त्यही हो’, उनले भने ।

नेपालले लिग २ मा नेदरल्याण्डससँग फेब्रुअरी २५ मा भएको खेलमा १७२ रनमा अल आउट हुँदै ८ विकेटको पराजय ब्यहोरेको थियो । त्यसपछि टी–२० विश्वकप तयारीमा लाग्दा नेपालले ओडीआई खेल खेलेको छैन ।

टी–२० विश्वकप टोलीमा भएका प्रतिश जि.सी, कमलसिंह ऐरी, अभिनाश बोहरा, सागर ढकाल र सन्दीप जोरा यस सिरिजमा छैनन् ।

ओडीआईका दुई प्रमुख ब्याटर आरिफ शेख र भीम सार्कीसँगै भारत ट्रेनिङमा राम्रो गरेका अर्जुन साउद टोलीमा छन् । टी–२० विश्वकप खेलेका ८/९ खेलाडीले ओडीआई निरन्तरता पाउनेछन् । पछिल्लो समय अत्याधिक टी–२० खेल खेलेको हुँदा ब्याटरको मानसिकता ओडीआईमा रुपान्तरण हुन समय लाग्न सक्छ ।

‘टिम हेर्ने हो भने धेरै परिवर्तन छैन । क्रिकेट ब्याट र बलको खेल हो । हामी कत्तिको बलियो छौं र क्रिकेटको बेसिक कुरा कस्तो छ त्यसमा एकदमै भरपर्छ’, सोमपालले भने ।

आईसीसी विश्वकप लिग २ नेपाल क्रिकेट
लेखक
भुपेन्द्र जि.सी.
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय