+
+

प्रधानमन्त्री भेट्दै लामिछानेले जनाए यी असन्तुष्टि

उपसभामुखले पदीय गरिमा राख्न नसकेको, उल्टै संसदको मानमर्दन गरेको भन्दै प्रतिनिधिसभामा उनीहरुले प्रश्न उठाएका छन् । लामिछानेले राजनीतिक प्रतिशोध साँध्ने नियतवश उक्त प्रश्नहरु उठेको आरोप लगाउँदै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २५ गते २३:०७

२५ भदौ, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्दै पछिल्ला घटनाक्रमबारे असन्तुष्टि जनाएका छन् ।

उपसभामुख इन्दिरा रानामगरको राजीनामा माग्न दबाब बढेको र पोखरामा आफूमाथि शृंखलाबद्ध विरोध भइरहेको भन्दै लामिछानेले असन्तोष जनाएका हुन् ।

मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका लामिछानेले प्रतिनिधिसभामा मंगलबार उपसभामुख लक्षित टिप्पणीहरु भएको भन्दै त्यो रोकिनुपर्ने आग्रह गरेका थिए ।

गत वर्ष उपसभामुख रानाले संसदको लेटरप्याड दुरुपयोग गर्दै अमेरिकी दूतावासलाई अनधिकृत चिठी लेखेकी थिइन्, जसमा उनले संसद र आफ्नो सचिवालयसँग कुनै सम्बन्ध नरहेका छ जना व्यक्तिलाई अमेरिका पठाउन प्रयास गरिएको थियो ।

उनले त्यो पत्रमा दूतावाससमक्ष भिसा अन्तर्वार्ताको मिति मिलाइदिन आग्रह गरेकी थिइन् । त्यस क्रममा पैसाको लेनदेन भएका विषयसमेत अनुसन्धानको क्रममा बाहिर आइसकेका छन् ।

यो विषय खुलासा भएसँगै रानाको पदीय दुरुपयोगबारे सांसदहरुले निरन्तर चासो देखाउँदै आएका छन् । उपसभामुखले पदीय गरिमा राख्न नसकेको, उल्टै संसदको मानमर्दन गरेको भन्दै प्रतिनिधिसभामा उनीहरुले प्रश्न उठाएका छन् । लामिछानेले राजनीतिक प्रतिशोध साँध्ने नियतवश उक्त प्रश्नहरु उठेको आरोप लगाउँदै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

‘उहाँले समय मागेरै भेट्न आउनुभएको हो, पछिल्लो राजनीतिक विषय र उहाँको आफ्नो विषय पनि थियो,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘प्रधानमन्त्रीज्यूले संसदमा जनप्रतिनिधिले राख्ने विषयलाई व्यक्तिगत रुपमा नलिन आग्रह गर्नुभएको छ ।’

स्रोतका अनुसार संसदमा विभिन्न दलका प्रतिनिधिले राख्ने विषयमा आफ्नो नियन्त्रण नरहने भन्दै उनीहरुसँगै संवाद गर्न लामिछानेलाई आग्रह पनि गरेका थिए ।

लामिछानेले पोखरामा सूर्यदर्शन सहकारीसँग सम्बन्धित विषय जोडेर आफूमाथि विगतमा खोया प्रहार भएको, मंगलबार पनि कालो झन्डा देखाउने काम भएको भन्दै आफू यस्ता क्रियाकलापबाट विचलित नहुने बताएका थिए । उनले प्रधानमन्त्री ओलीलाई आफूमाथि नियतवश प्रतिशोध साँध्ने काम भइरहेको भन्दै यसले सत्तापक्षलाई पनि फाइदा नहुने चेतावनी दिएका थिए ।

लामिछानेले पोखरामा बोल्ने क्रममा राजनीतिक एजेन्डामै प्रतिष्पर्धा गर्न भन्दै व्यक्तिगत पूर्वाग्रह नराख्न ठूला दलहरुले कार्यकर्तालाई आग्रह गर्नुपर्ने समेत बताएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?