+
+

बुटवल–गोरुसिङ्गे सडक वन्यजन्तुमैत्री बनाइँदै

‘मुख्य राजमार्ग स्तरोन्नति गर्दा वन्यजन्तुको आवतजावतलाई सहज हुने गरी जैविक विविधता र वातावरण संरक्षणलाई समेत मध्यनजर गरी संरचनाहरुको डिजाइन बनाएर कार्यान्वयन गर्न लागिएको यो नेपालकै ठूलो योजना हो ।’

टोपराज शर्मा टोपराज शर्मा
२०८१ भदौ २७ गते ११:०८
भारतको नेसनल हाइवे–४४ को जंगल क्षेत्रमा ठूला वन्यजन्तु ओहोर–दोहोरका लागि बनाइएको अण्डर पास । तस्वीर साभार : डब्लुआईआई देहरादुन ।

२७ भदौ, बुटवल । दुई लेनबाट चार लेनमा स्तरोन्नति हुन लागेको पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडकखण्ड वन्यजन्तुमैत्री बनाइने भएको छ ।

यो सडक विस्तार योजना अन्तर्गत पहिलो चरणमा बुटवल–गोरुसिङ्गे ५० किलोमिटर सडकखण्ड चार लेन बनाउन १३ अर्ब ५५ करोड ६५ लाख रुपैयाँमा ठेक्का लागिसकेको छ । असोज पहिलो हप्ताभित्र ठेक्का पाएको चिनियाँ कम्पनी शान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले काम शुरु गर्ने तयारी छ ।

नेपालका मुख्य राजमार्गहरु हालसम्म वन्यजन्तुमैत्री बनेका छैनन् । वन्यजन्तुविद्हरुले जनावर र मानवबीच हुने द्वन्द्व, दुर्घटना र त्यसबाट हुने क्षति रोक्न तथा जैविक विविधता र वातावरण संरक्षणका लागि वन्यजन्तुमैत्री पूर्वाधार अपरिहार्य भएकामा जोड दिँदै आएका छन् ।

लामो वा रेखीय पूर्वाधार निर्माण गर्दा वन्यजन्तु सजिलै र स्वतन्त्ररूपमा ओहोरदोहोर गर्नसक्ने पूर्वाधार निर्माण गर्नुपर्ने, वन्यजन्तुको बासस्थान, गतिविधिलगायत अध्ययन गरेर मात्र सडकमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइनुपर्ने मागलाई यो सडकमा सम्बोधन हुँदैछ ।

एक सय किलोमिटर प्रतिघण्टाको गतिमा सवारीसाधन गुड्न सक्ने गरी बनाउन लागिएको यो सडक नेपालकै पहिलो वन्यजन्तुमैत्री तथा वातावरणमैत्री हुने बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडक योजना कार्यालय प्रमुख इन्जिनियर कुशलता न्यौपानेले बताइन् ।

चितवनको रामनगर–आँपटारी जंगल क्षेत्रमा पनि साना अन्डरपास बनाइए पनि ती वन्यजन्तुमैत्री छैनन् । एडीबीको सहयोगका विस्तार भइरहेको बुटवल–नारायणगढ सडकखण्डको ११५ किलोमिटर क्षेत्रमा ११२ वटा अन्डरपास बनाएका छन् । ५० मिटर फराकिला दुई वटा ओभरपास बन्ने क्रममा छन् ।

३० वटा पुल, १४९ वटा कल्भर्ट र ६ वटा अण्डर पास बनाइने

वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका, २०७८ अनुसार वन्यजन्तुको आवतजावतलाई सुरक्षित तुल्याई वन्यजन्तु दुर्घटना कम गर्न तथा मानव र वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण गर्न वन्यजन्तु ओहोरदोहोर गर्नकै लागि एउटा ठूलो पुल सहित १९ वटा साना, मझौला क्रसिङ बनाउन लागिएको इन्जिनियर न्यौपानेले बताइन् ।

सडक विस्तारका लागि एसियाली विकास बैंक (एडीबी)को सहयोगमा यसअघि नै डिजाइन स्वीकृत भइसकेको छ ।

जस अनुसार सालझण्डी–पिपरा जंगल क्षेत्रमा ठूला वन्यजन्तु आवतजावतका लागि कोठी नदीमा ४२ मिटर लामो पुल बनाइने छ । यही जङ्गल क्षेत्रमा दुईवटा ‘मिडियम वाइल्डलाइफ क्रसिङ’ र दुई वटा आरसीसी बक्स ब्रिज (साना पुल)  बन्ने छन् ।

यस्तै कोइली–बनगाई गोरुसिङ्गे जंगल क्षेत्रमा वन्यजन्तु आवतजावतका लागि १० वटा क्रसिङ बन्दैछन् । जसमा आरसीसी बक्स ब्रिज ३ वटा र आरसीसी बक्स कल्भर्ट ७ वटा बनाइने छ ।

यस्तै बडहरा–बेलगुडवा नदी क्षेत्रमा ५ वटा वन्यजन्तुमैत्री क्रसिङ बन्नेछन् । जसमा साना वन्यजन्तु क्रसिङ एउटा, आरसीसी बक्स ब्रिज २ वटा र आरसीसी बक्स कल्भर्ट २ वटा बनाइने छ ।

वन्यजन्तुमैत्री यी संरचनासहित यो सडक खण्डमा ३० वटा पुल, १४९ वटा कल्भर्ट र ६ वटा अण्डर पास बनाइने इन्जिनियर न्यौपानेले जानकारी दिइन् ।

‘मुख्य राजमार्ग स्तरोन्नति गर्दा वन्यजन्तुको आवतजावतलाई सहज हुने गरी जैविक विविधता र वातावरण संरक्षणलाई समेत मध्यनजर गरी संरचनाहरुको डिजाइन बनाएर कार्यान्वयन गर्न लागिएको यो नेपालकै ठूलो योजना हो’ इन्जिनियर न्यौपानेले भनिन्, ‘वन्यजन्तुमैत्री पूर्वाधार निर्माण वन्यजन्तुका लागि मात्र नभई मानिस र घरपालुवा जनावरको सुरक्षाका लागि पनि आवश्यक छ ।’

मानिसले गर्ने यातायातको सुरक्षाका लागि पनि यस्ता पूर्वाधार आवश्यक रहेको भन्दै उनले वन्यजन्तुमैत्री पूर्वाधार निर्माणबाट मात्र जैविक विविधताको दिगो संरक्षण गर्न सकिने बताइन् ।

बुटवल–नारायणगढ सडक विस्तारका कमजोरी सुधारिने

सडक विस्तारका लागि एसियाली विकास बैंक (एडीबी)को सहयोगमा यसअघि नै डिजाइन स्वीकृत भइसकेको छ । ५० किलोमिटरलाई दुई चरणमा २५/२५ किलोमिटर मा विभाजन गरी सडक विस्तार गर्न लगिएको योजना प्रमुख इन्जिनियर न्यौपानेले बताइन् । उनका अनुसार पहिलो चरणका लागि ७ अर्ब ८९ करोड ४३ लाख र दोस्रो चरणका लागि ५ अर्ब ६६ करोड २२ लाख रुपैयाँमा ठेक्का लगाइएको हो ।

सडक विस्तार गर्दा सवारी आवागमनमा कमभन्दा कम असर पर्ने गरी पहिले क्रसिङ, कल्भर्ट, पुल र सर्भिस लेनको काम पूरा गरेर मात्र बीचको मुख्य सडक भत्काएर काम थालिने इन्जिनियर न्यौपानेले बताइन्  ।

‘बुटवल–नारायणगढ सडक विस्तारका क्रममा देखिएको कमजोरी र नकारात्मक पक्षलाई यता सिर्जना हुन नदिने गरी काम हुन्छ, त्यही अनुसार ट्राफिक व्यवस्थापन योजना पनि बनाउँदैछौं’ उनले भनिन्, ‘रुख काट्ने अनुमति पाइसकेका छौं, अब पोल सार्ने सम्झौता विद्युत प्राधिकरणसँग हुँदैछ, त्यसपछि संभवत एक हप्ताभित्र ठेकेदार कम्पनीले काम शुरु गर्छ ।’

सडक विस्तारको काम शुरु भएको दिनदेखि तीन वर्ष भित्र पूरा गर्ने गरी समय तोकिएको बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडक योजना कार्यालयका अर्का इन्जिनियर किसन गैरेले जानकारी दिए ।

पारबहनमा सहजता ल्याउँदै व्यापार व्यवसाय प्रवर्द्धनका लागि अक्सेलरेटिङ ट्रान्सपोर्ट एण्ड ट्रेड कनेक्टिभिटी इन साउथ एसिया नेपाल फेज १ अन्तर्गत यो सडक निर्माण अघि बढाउन लागिएको हो ।

वि.सं २०१८ मा बनेको यो सडकको २ चरणमा स्तरोन्नति हुनेछ । दोस्रो चरणमा सडक विभागले डिजाइन गरेर गोरुसिङ्गेदेखि चन्दौटासम्मको १९ किलोमिटरमा काम गर्ने योजना रहेको इन्जिनियर गैरेले बताए ।

पुरानो र जीर्ण बनेको बुटवलको तिनाउ पुललाई विस्थापन गरी करिब १ अर्ब लागतमा सिग्नेचर पुल बनाउने योजना पनि छ । यो सडक बुटवलबाट चन्द्रौटा हुँदै लुम्बिनी प्रदेशको राजधानी दाङसँग जोडिन्छ ।

बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडक स्तरोन्नतिमा बनाइने वन्यजन्तुमैत्री संरचनाले  यसपछि नेपालका वन क्षेत्रमा बनाइने सडक, सिँचाइ, रेलमार्ग लगायतका निर्माण कार्यलाई पनि वन्यजन्तुमैत्री बनाउन नजिरको काम गर्ने वन्यजन्तुमैत्री पूर्वाधारको पैरवी गर्दै आएका नेपाल वातावरण पत्रकार समूहका पूर्व कार्यकारी निर्देशक सुवोध गौतम बताउँछन् । ‘अहिलेसम्म वन्यजन्तुमैत्री सडक लगायत पूर्वाधार बनेका थिएनन्, जसले बर्सेनि ठूलो मानवीय र वन्यजन्तुको क्षति हुने गरेको थियो, वातावरण र जैविक विविधतता संरक्षणमा चुनौति थियो, अब वन्यजन्तुमैत्री सडक बनेपछि क्षति रोकिन्छ’ गौतम भन्छन्, ‘यो सडक अब नेपालमा बन्ने नयाँ सडक र स्तरोन्नति हुने सडकका लागि असल अभ्यासको उदाहरण हुन्छ ।’

लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका वातावरण निरीक्षक निर्मल थारु चौधरीले वन्यजन्तुमैत्री संरचना बनाउँदा कूल लागतको एक प्रतिशत हाराहारी मात्रै लागत बढ्ने भएकाले अब पूर्वाधार बनाउँदा वन्यजन्तुलाई अनुकुल हुने गरी बनाउनुपर्ने औंल्याए ।

नेपालमा रहेका ११८ किसिमका पारिस्थितिकीय प्रणालीमध्ये हालसम्म ८० किसिमका पारिस्थितिकीय प्रणाली संरक्षित क्षेत्रभित्र पर्दछन् । यी पारिस्थितिकीय प्रणालीको संरक्षण तथा व्यवस्थापन गर्ने उद्देश्यले १२ राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्ष, एक सिकार आरक्ष, ६ संरक्षण क्षेत्र र १३ मध्यवर्ती क्षेत्र घोषणा भई संरक्षण तथा व्यवस्थापकीय कार्य सञ्चालन हुँदै आएका छन् ।

रेखीय वा लामो प्रकृतिको पूर्वाधार (सडक, सिंचाइ, प्रसारण लाइन, रेलका लिक लगायत) निर्माण गर्दा अपनाउनुपर्ने सावधानी र वातावरणीय पक्षप्रति ख्याल नगर्दा मानव–वन्यजन्तु द्वन्द्वका घटना बढेका छन् ।

वन्यजन्तु संरक्षण तथा राष्ट्रिय निकुञ्ज विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा मात्र २० संरक्षित क्षेत्रमा विभिन्न ४७ किसिमका ५५८ वन्यजन्तु र जीवको मृत्यु भएको थियो । त्यसमध्ये प्राकृतिक कारणले १८७, सडक दुर्घटनाबाट १४१, चोरी सिकारबाट १४, करेन्ट लागेर १०, नहरमा डुबेर २०, तारजालीमा परेर १४, कुकुरको आक्रमणबाट ११३, पासो–जालमा परेर ५, कारण नखुलेको २९ र अन्य कारणले २५ वन्यजन्तुको मृत्यु भएको थियो ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?