+

वैदेशिक रोजगारीले नेपाली दम्पतीको यौन जीवनमा कस्तो असर पारेको छ ?

२०८१ भदौ  २७ गते १२:११ २०८१ भदौ २७ गते १२:११
वैदेशिक रोजगारीले नेपाली दम्पतीको यौन जीवनमा कस्तो असर पारेको छ ?

मान्छे एउटा यौनिक प्राणी हो । त्यसैले मान्छेहरू यौनिक रुपमा आकर्षण हुन्छन् र यौन इच्छा चाहना अभिव्यक्त गर्छन् । तर कसले कसरी अभिव्यक्त गर्छ भन्ने कुरा भने फरक पर्छ ।

हाम्रो नेपाली समाजले विवाह अगाडिको यौन सम्बन्धलाई स्विकारेको छैन । यसको अर्थ विवाह अगाडि यौन सम्बन्ध हुँदैन भन्न पनि सकिंदैन । तर जब विवाहपछि यौन सम्बन्ध स्थापित हुन्छ, त्यसपछि मात्र दम्पतीले यौनलाई सहज रूपले बुझ्छन् । यौन चाहनालाई खुलेर व्यक्त गर्छन् ।

नेपालको सन्दर्भमा धेरै दम्पतीबीच यौन सम्बन्ध स्थापित भएर उनीहरूले त्यसलाई राम्ररी बुझ्न नपाउँदै एउटा पार्टनर वैदेशिक रोजगारीमा जान्छन् भने त्यसपछि दम्पतीलाई यौन इच्छालाई व्यवस्थापन गर्न अप्ठेरो हुन्छ । त्यही कारणले दम्पतीको सम्बन्धमा दरार आउन पनि सक्छ ।

टाढाको सम्बन्धलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा चर्चा हुँदैन । यदि श्रीमान् श्रीमतीमध्ये एक जना वैदेशिक रोजगारीमा गएका छन् भने उनीहरूबीच यौन सम्बन्धलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा चर्चा हुँदैन ।

विवाह भएको केही महिनामै दम्पती छुट्टिएपछि उनीहरूले यौनका विषयमा कुरा गर्दैनन् । जसले गर्दा दम्पतीको यौन जीवन र सम्बन्धलाई बिगारेको उदाहरण थुप्रै छन् ।

उदाहरणका लागि एउटा दम्पतीमा श्रीमती बाहिर कामका लागि गएकी छिन् श्रीमान् यता नेपालमा छन् । ती दम्पतीबीचमा यौनको बारेमा कुरा हुँदैन । दम्पतीको बीचमा कुरा नहुँदैमा ती दम्पतीमा यौनको चाहना नहुने त हुँदैन । यस्तोमा आफ्नी श्रीमतीसँग अभिव्यक्त गर्न नसकेको यौन चाहना पूरा गर्न श्रीमानले यता अर्को पार्टनर खोज्न थाल्छन् । अर्को पार्टनरसँग यौन सम्बन्ध बन्दै गएपछि श्रीमतीसँगको सम्बन्ध भने बिग्रँदै जान्छ । उताबाट श्रीमतीले कमाएर पठाएको पैसा उसले अर्को पार्टनरमा खर्च गर्न थाल्छ । केही वर्षपछि श्रीमती नेपाल फर्किएर आउँदा उसले पठाएको पैसा र श्रीमान् दुवै हुँदैनन् । यसमा महिला र पुरुष दुवै हुन सक्छन् । तर बढी चर्चा चाहिं महिलाको यौन सम्बन्धको हुन्छ ।

एकअर्कामा कुराकानी गर्ने संस्कृतिको विकास भएन भने श्रीमान् होस् वा श्रीमतीले आफ्नो समस्या सुनाउन गलत मान्छेको सहारा खोज्न सक्छ । समस्या सुरु भएको सम्बन्ध बिस्तारै यौनसम्म पुग्छ । यसरी परपुरुष र परस्त्रीको पछि लाग्ने चलन सुरु हुन्छ । दोस्रो भनेको चाहिं यौन विचलनले पनि मान्छे परपुरुष वा परस्त्रीमा लाग्ने गर्छन् ।

पारिवारिक विचलनमा यौनको पनि भूमिका पक्कै धेरै हुन्छ । नेपाली दम्पती अहिले पनि यौनको बारेमा छलफलको विषय बनाउँदैनन् । हामीले परिवार र समाजमा पनि यौनको बारेमा खुलेर कुरा गर्न सकिंदैन । त्यसैले यसलाई भित्रभित्रै गुम्साउने गरिन्छ । यसको प्रत्यक्ष असर पारिवारिक विचलनसम्म पुग्न सक्छ ।

वैदेशिक रोजगारीमा गएकाहरूले आफ्नो यौन जीवन र सम्बन्धलाई व्यवस्थित गर्न सक्छन् । वैदेशिक रोजगारीमा गएकाले पनि आफ्नो यौन जीवन सम्बन्धलाई व्यवस्थित गर्ने उपाय छन् । पार्टनर टाढा छन् भने पनि यौनको बारेमा कुरा गरेर छलफल गरेर, हस्तमैथुन गरेर वा यौन खेलौनाको प्रयोग गरेर पनि यौन सम्बन्धलाई व्यवस्थापन गर्न सक्छन् ।

बाहिर बसेका वा नेपालमा रहेका पति वा पत्नीले आफ्नो पार्टनरलाई यौन खेलौना उपहार दिएर पनि उनीहरूको यौन इच्छालाई व्यवस्थापन गर्न मिल्छ ।

यौन सम्बन्ध स्थापित गर्न सधैं पार्टनर सँगै नै हुनुपर्छ भन्ने हुँदैन । पार्टनरसँगै नभएको बेलामा पनि कुरा गरेर, यौन खेलौनाहरूको प्रयोग गरेर वा आफूलाई मनपर्ने अन्य क्रियाकलापमा संलग्न भएर आफ्नो यौन इच्छालाई व्यवस्थापन गर्न सकिन्छ भन्ने कुराको जानकारी नै धेरैलाई छैन । यौन चाहनालाई व्यवस्थापन गर्ने अन्य उपायको बारेमा धेरै बहस भयो भने यो यस्ता वैदेशिक रोजगारीमा गएकाहरूको सम्बन्ध बिग्रने क्रम कम हुन्छ ।

(अनुसन्धाता अधिकारी अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन् स्वास्थ्यको क्षेत्रमा कार्यरत छन् ।)

अनुप अधिकारी यौन जीवन वैदेशिक रोजगारी
लेखक
अनुप अधिकारी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय