+
+

५० करोडमा खुल्यो ‘भिडोल लुब्रिकेन्ट्स’, नेपालको आधा माग धान्ने दाबी

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २ गते १७:३७

२ असोज, काठमाडौं । नेपालमा दैनिक १५ हजार लिटर लुब्रिकेन्ट्स उत्पादन हुने गरी ‘भिडोल’ को प्लान्ट स्थापना भएको छ । युनाइटेड लुब्रिकेन्टस् कम्पनीले १ सय वर्षभन्दा पुरानो अमेरिकी फ्रेन्चाइज भिडोल नेपाल भित्र्याएको हो ।

भिडोलको फ्रेन्चाइज नेपाल भित्र्याएर मंगलबारदेखि ‘नेपाल गोल्ड लुब्रिकेन्ट्स’ उत्पादन गर्दै आएको युनाइटेडले भिडोल पनि उत्पादन थालेको हो ।

धनुषा मिथिला नगरपालिका–२ लालभट्टीमा  भिडोलले  १ लाख ७५ हजार ८ सय ७६ वर्गफिट क्षेत्रफलमा प्लान्ट स्थापना गरेको हो । कम्पनीको दाबी अनुसार नेपालमा दैनिक ३० हजार लिटर लुब्रिकेन्ट खपत हुुनेमा आधा उत्पादन  यही उद्योगले गर्न सक्ने क्षमता छ ।

‘हाम्रो एक सिफ्ट मात्रै उद्योग चल्दा पनि नेपालमा चाहिने लुब्रिकेन्ट्सको माग आधा धान्न सक्छौं,’  कम्पनीका नायब महाप्रबन्धक दिनेश  खनाल भन्छन् ।

मंगलबार प्लान्टको भिडोल यूकेका निर्देशक अरिजित बासु र मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

हाल ७५ भन्दा बढी देशमा  प्रयोग हुने भिडोल लुब्रिकेन्ट्सले १७ स्थानबाट उत्पादन गर्दै आएकोमा नेपाल सहित अब १८औं स्थान हुने भएको छ । खनालका अनुसार यसअघि नेपालमा भिडोल आयात भएर बिक्री भइरहेको थियो ।

लगानी ५० करोड

युनाइटेडले सन् २०२१ बाट फ्याक्ट्री निर्माण थालेको थियो । कम्पनीले कूल ५० करोड लगानीमा लुब्रिकेन्ट उत्पादन प्लान्ट स्थापना गरेको हो । २ हजार ४ सय किलोटिर लुब्रिकेन्ट स्टोरेज ट्यांक क्षमता रहेको प्लान्टमा  लुब्रिकेन्टको कच्चापदार्थ स्टोरेज, प्रोसेसिङ, प्याकेजिङ तथा स्टोरेजको काम हुन्छ  ।

खनालका अनुसार उद्योगको मुख्य प्लान्ट ३८ हजार ४ सय २५ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । यस्तै कच्चापदार्थ  स्टोरेजका लागि ६ हजार ७ सय ९३ वर्गफिट, बोइलर क्षेत्रका लागि ४ हजार ७ सय ४४ वर्गफिट, वेयरहाउस क्षेत्र ३८ हजार ४ सय २५ वर्गफिट छ ।

मासिक १० लाख लिटर उत्पादन क्षमता रहेको प्लान्टमार्फत हाल दैनिक एक सिफ्टमा १५ हजार लिटर लुब्रिकेन्ट उत्पादन गरिरहेको छ ।

प्लान्टबाट दैनिक सिफ्ट अनुसार १० हजार किलो ग्रिज पनि उत्पादन हुँदै आएको छ । कम्पनीले लुब्रिकेन्ट्सका लागि आवश्यक पर्ने कच्चापदार्थ बेस आयल, सिन्थेटिक लगायत नेपाल ल्याएर लुब्रिकेन्ट्स तयार पार्छ ।

कम्पनीका निर्देशक अरिजित वासुले नेपालमा तयारी भिडोल आयात गर्नुभन्दा नेपालमै उत्पादन गर्दा उपभोक्ता र उत्पादकलाई फाइदा हुने बताए ।

‘नेपालको यातायातको सबैभन्दा ठूलो हिस्सा सवारीसाधनले नै लिएको छ । नेपालमै गुणस्तरीय लुब्रिकेन्ट्स बनाएर बेच्दा फाइदा सबैलाई हुने र सस्तो पनि हुने भएकाले हामीले फ्रेन्चाइज दिएका हौं,’ उनले भने । उनले ‘ग्लोबल स्ट्यान्डर्ड’ मा नेपालमै भिडोल उत्पादन हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?