+
+

अखिल क्रान्तिकारीमा वर्षमान र जनार्दन आमनेसामने 

विहीबार प्रचण्डलाई भेट्न गएको पार्टी नेतृत्वको एक टोलीलाई प्रचण्डले उल्टै सोधे, ‘होइन, के गर्ने हो ? म त अलमलमा छु । बाहिर के छ भन्नुस् त ?’

विनोद घिमिरे विनोद घिमिरे
२०८१ असोज १० गते १८:०१

१० असोज, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को विद्यार्थी सङ्गठन अनेरास्ववियू (क्रान्तिकारी) को २३औं सम्मेलन आजदेखि त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा सुरु हुँदैछ । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने सम्मेलन असोज १४ गतेसम्म चल्नेछ ।

२१ औं राष्ट्रिय सम्मेलनमा निर्वाचनबाट रञ्जित तामाङ अध्यक्ष चुनिएका थिए । त्यसपछि २०७४ भदौमा सम्पन्न २२औं सम्मेलनले नेतृत्व नै छान्न सकेन । लामो समयको विवादपछि पार्टी अध्यक्ष प्रचण्डले आफ्नो निजी निवासमा अध्यक्षका आकांक्षीहरूलाई बोलाएर पञ्चा सिंहलाई अध्यक्ष घोषणा गरिदिएका थिए ।

त्यसयता आन्तरिक विवादका कारण समानान्तर गतिविधि हुँदै गुज्रिएको अनेरास्ववियु (क्रान्तिकारी) यसपटक फेरि निर्वाचनबाट नेतृत्व चयनको प्रयासमा छ ।

‘भ्रष्टाचारको अन्त्य र सुशासन सुनिश्चितताका निम्ति हाम्रो आन्दोलन, रोजगार, उत्पादन र समाजवादी शिक्षाको लागि २३ औं राष्ट्रिय सम्मेलन’ मूल नारासहित हुन लागेको सम्मेलनले प्रतिस्पर्धाबाट नेतृत्व छान्ने नेताहरूले दाबी गरिरहेका छन् । अधिकांश कमिटीहरूमा निर्वाचनबाट नेतृत्व र राष्ट्रिय सम्मेलन प्रतिनिधि छनौट पनि भइसकेका छन् ।

अध्यक्ष पञ्चा सिंहले यसै साता गरेको पत्रकार सम्मेलनमा देशभरबाट सम्मेलनमा २ हजार ३२३ प्रतिनिधि सहभागी हुने जानकारी दिइन् ।

अध्यक्षमा डेढ दर्जनको आकांक्षा

यसअघि ‘टिके प्रणाली’ बाट अधिकांश नेतृत्व छनौट गर्दै आएको अखिल (क्रान्तिकारी)को सम्मेलनमा यसपटक चुनावबाटै नेतृत्व चयन हुने सम्भावना बढेको छ । पार्टीमा अभ्यास भइरहेको गुटगत राजनीतिको छायाँ विद्यार्थी संगठनमा पनि पर्दा विभिन्न पदमा सयौं आकांक्षी देखिएका छन् ।

२२औं सम्मेलन सम्पन्न भएपछि मनोनयन भएका १९ उपाध्यक्षमध्ये एक जना सांसद भइसकेकी छन् भने एकजना देश बाहिर छन् । बाँकी १७ मध्ये इन्‍द्र भुसाल, नरेश रेग्मी, पवन कार्की, मदन भूल, मदन भट्टराई, नारायण खनाल, जीपी मैनाली, क्षितिज सापकोटा, केशव रावल, डा. अच्युत भट्ट, तुकमान महरा, मिलन एमसी, लक्ष्मी जोशी, प्रविणा अधिकारी, सूर्यनारायण साह, गजेन्द्र देव लगायत अधिकांशको अध्यक्षमा सशक्त दाबेदारी छ । यो दौडमा बलियो गरी दाबी प्रस्तुत गरिरहेका छन् महासचिव दिपेश पुनले पनि ।

वर्षमान र जनार्दन आमने-सामने, नारायणकाजी र देव गुरुङका पनि उम्मेदवार

केही अध्यक्षका प्रत्यासीहरू यही साता पार्टी अध्यक्ष प्रचण्डको निजी निवास खुमलटार पुगेका थिए । त्यहाँ प्रचण्डले आफ्नो उम्मेदवार कोही नभएको जिकिर गरेका थिए । ‘तपाईंहरू सबै प्रत्यासी मेरै हुनुहुन्छ, जसले जित्छ, त्यही मेरो उम्मेदवार हो,’ प्रचण्डको भनाइ उद्धृत गर्दै अध्यक्षका एक प्रत्यासी भन्छन् । आश्वस्त पार्न खोजे पनि प्रचण्डले सक्दो चलखेल गर्ने आशंका उनले व्यक्त गरे ।

पार्टीभित्र अध्यक्षको एकाधिकारविरुद्ध संघर्ष गर्नुपर्छ भन्दै कुनै बेला उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा सहकार्यमा थिए । दुवै जना महासचिवको आकांक्षी रहेको बेला प्रचण्डले एकका विरुद्ध अर्कोलाई देखाएर देव गुरुङलाई महासचिव बनाइदिए ।

अध्यक्षको चालबाट आजित भएर सहकार्य गरेका पुन र शर्मा पछिल्लो समय फरक लाइनमा छन् । ‘वर्षमान हिजोआज केही समय प्रचण्डसँगै उभिनुपर्छ भन्ने ठाउँमा आइपुग्नु भएको छ’ अखिल क्रान्तिकारीका एक पदाधिकारीले भने, ‘हाम्रो सम्मेलनमा प्रचण्डले वर्षमान र जनार्दनलाई आमनेसामने उभ्याइदिनुभएको छ ।’

यद्यपि, बागमतीमा भने नारायणकाजी समूहका विद्यार्थीहरूलाई रोक्न कतिपय कमिटीहरूमा जनार्दन र वर्षमान समूह मिलेर चुनाव लडेका छन् भने कतैकतै नारायणकाजी र जनार्दनको पनि सहकार्य देखिन्छ ।

यो पृष्ठभूमिमा अखिल क्रान्तिकारीको चुनावमा प्रचण्ड, नारायणकाजी र जनार्दन समूहबीच प्रतिस्पर्धा हुने देखिन्छ । साथमा मोहन वैद्य किरणको नेतृत्वमा पार्टी विभाजन गरेर पछि माओवादी केन्द्रमा फर्किएका उपाध्यक्ष पम्फा भुसाल र महासचिव देव गुरुङको खेमाबाट नरेश रेग्मीले अध्यक्षमा दाबी प्रस्तुत गरेका छन् ।

वर्षमान पुन र प्रचण्डको समर्थन रहेका महासचिव दिपेश पुन विभिन्न प्रकरणमा जोडिएर विवादित भए पनि उनी अध्यक्षको दौडमा छन् । सूर्य थापा नेतृत्वको सहकारी छानबिन संसदीय समितिले दिपेशलाई दोषी ठहर नगरेको र आरोप प्रमाणित नहुँदासम्म समर्थन गर्नुपर्छ भनेर नेताहरू नै तर्क गररहेका छन् ।

पार्टीभित्रको गुटगत गतिविधिलाई विद्यार्थी नेतृत्वले थप मलजल गर्ने भयबाट ग्रसित माओवादी संस्थापनका लागि दिपेश भरपर्दा उम्मेदवार बनेका छन् ।

सार्वजनिक प्रश्न र विद्यार्थीहरूकै दबाबका कारण दिपेश पछि हटेमा नारायणकाजी श्रेष्ठ समूहका पवन कार्की संस्थापनबाटै अध्यक्षमा भिड्ने दाउमा छन् । जनार्दन शर्माले प्रश्न उठाइरहेको बेला नारायणकाजीलाई सँगै लिएर हिंड्न कार्की समूहलाई प्रचण्डले पनि केही समय समर्थन गरेजस्तो गरे । त्यतिबेला उनले अध्यक्ष पञ्चा सिंह विरुद्ध समानान्तर संगठनको अभ्यास गरिरहेका थिए ।

तीनकुनेस्थित रोयल व्यांक्वेटमा तेस्रो केन्द्रीय समितिको बैठकमा कार्की समूहले गरेको होहल्ला र सामान्तर गतिविधिपछि अध्यक्ष पञ्चा सिंहले कार्कीसहित ९ जनालाई निलम्बनको निर्णय गरेकी थिइन् । तर अध्यक्ष प्रचण्डको हस्तक्षेपमा निलम्बन फुकुवा गरिएको थियो । प्रचण्डको त्यो कदम पवनको समर्थनमा भन्दा पनि जनार्दनलाई साइजमा राखेर नारायणकाजीलाई साथमा राख्नका लागि रहेको नेताहरू बताउँछन् । यद्यपि त्यसपछि पनि कार्की प्रचण्डसँग निकट सम्बन्धमा रहँदै आएका छन् ।

संस्थापन पक्षविरुद्ध समानान्तर गतिविधि गर्नेलाई अध्यक्षको उम्मेदवार बनाउँदा गलत नजिर बस्ने भन्दै कतिपयले कार्कीलाई अध्यक्ष नबनाउन लबिङ गरिरहेका छन् । त्यसैले नारायणकाजी समूहले अध्यक्ष नपाए महासचिव आफ्नो समूहलाई दिनुपर्ने दाबी गर्ने तयारी समेत गरिरहेको छ ।

यता, संस्थापन पक्षबाटै लुम्बिनीका पूर्वमुख्यमन्त्री जोखबहादुर महराका छोरा तुकमान पनि अध्यक्षका दाबेदार हुन् । प्रचण्डको समेत विश्वासपात्र रहेका उनले वर्षमानको पनि सहानुभूति बटुलेका छन् ।

यसअघि रञ्जित तामाङ कार्यसमितिका पनि उपाध्यक्ष रहेका इन्द्र भुसालले यो भूमिका दुई कार्यकाल निर्वाह गरिसके । उनी बरिष्ठताका हिसाबले संस्थापनबाटै अध्यक्षका प्रत्यासीमध्ये स्वाभाविक रूपमा सबैभन्दा माथि छन् ।

तर भुसालले पोखरा विश्वविद्यालय र सीटीईभीटीसँग अखिल क्रान्तिकारीले ‘अफिसियल्ली बार्गेनिङ’ गरेको भन्दै फेसबुक स्टाटस लेखेपछि र संगठनमा पञ्चाको स्वेच्छाचारिता देखिएको भन्दै अरु तीन उपाध्यक्षसँग मिलेर संयुक्त विज्ञप्ति जारी गरेपछि संस्थापन पक्षको निशानामा परेका थिए ।

‘अफिसियल्ली बार्गेनिङ’ भन्दै अर्का उपाध्यक्ष नारायण खनालले पनि फेसबुक स्टाटस लेखेका थिए । पछि अध्यक्ष प्रचण्डकै अगाडि उपस्थित गराएर उनलाई आत्मालोचना गर्न लगाइएको थियो ।

जनार्दन समूह बलियो तर प्रत्यासी धेरै

२१औं सम्मेलनसम्म अखिल क्रान्तिकारीमा जनार्दनका भाइ अनिल शर्मा नेतृत्वको दाबेदार थिए । तर, उनी सो सम्मेलनमा रञ्जित तामाङसँग पराजित भए ।

अहिलेसम्म पनि विद्यार्थीमा जनार्दन समूहको ४५ प्रतिशत ‘होल्ड’ रहेको छ । तर पनि उनको समूहमा अध्यक्षका प्रत्यासीहरूको भिड छ । मदन भूल, मदन भट्टराई, नारायण खनाल, क्षितिज सापकोटा, केशव रावल, डा. अच्युतप्रसाद भट्ट लगायतले यो समूहबाट अध्यक्षमा दाबी प्रस्तुत गरेका छन् ।

तर संगठनमा पञ्चाको स्वेच्छाचारिता र पवन कार्की समूहको समानान्तर गतिविधिको विरोध गर्दै संयुक्त विज्ञप्ति जारी गर्ने चार उपाध्यक्षहरुमा भट्ट पनि एक हुन् । २०७९ भदौ २७ गते भट्टसँगै इन्द्र भुसाल, मिलन एमसी र लक्ष्मीप्रसाद जोशीले संयुक्त विज्ञप्ति जारी गरेका थिए । भट्ट पहिले वर्षमान पुन समूह निकट रहे पनि हाल उनी जनार्दन पक्षमा रहेको उनी निकट नेताहरू बताउँछन् ।

जनार्दन समूहले सकेसम्म समझदारीमै एक उम्मेदवारलाई अगाडि सार्ने गृहकार्य गरिरहेको छ ।

प्रतिस्पर्धाकै मुडमा विद्यार्थीहरू

अखिल (क्रान्तिकारी)का २३ औँ राष्ट्रिय सम्मेलनले ३३ पदाधिकारी सहित २४३ केन्द्रीय समिति र तीन आयोगका पदाधिकारी निर्वाचित गर्नेछ । खुमलटारमा प्रचण्डलाई भेटेर फर्किएका अखिल क्रान्तिकारीका नेताहरूको निष्कर्ष छ, ‘उहाँ पनि टीका लगाएर समाधान निस्कँदैन, चुनाव नै गर्नुपर्छ भन्नेमा हुनुहुन्छ ।’

तर अध्यक्षका अर्का प्रत्यासीले अनलाइनखबरसँग आशंका व्यक्त गर्दै भने, ‘यस्ता कुरा पहिला पनि भनिएका थिए, व्यवहार अर्कै भयो ।’ चुनाव नै हुन्छ भन्नेमा विश्वस्त हुनसक्ने अवस्था नरहे पनि परिस्थिति भने धेरै बदलिएको उनको बुझाइ छ ।

‘अहिले पार्टीभित्र पनि अन्तरसंघर्ष छन्, तलबाट पनि धेरै प्रतिनिधिहरू चुनावबाटै चुनिएका आएका छन्, त्यसैले कसैले चाहेर पनि चुनाव रोक्न सक्ने अवस्था छैन,’ उनले भने ।

यसपटक चुनाव हुन्छ भन्ने बलियो आधार हो- प्रतिनिधि छनौटमा अधिकांश महत्वपूर्ण कमिटीहरूमा निर्वाचन भएका छन् । साथै, पार्टीभित्र गुटगत संघर्ष तीव्र छ ।

जनार्दन खेमाबाट अध्यक्षका प्रत्यासी रहेका एक नेता भन्छन्, ‘हामी जनार्दन शर्मा खेमाकै उम्मेदवारका बीचमा चुनाव हुने अवस्था छ । अब संगठनकै महाधिवेशनमा चुनाव नहुने भन्ने प्रश्नै हुँदैन ।’

चुनावी प्रतिस्पर्धाका लागि अधिकांश उम्मेदवारहरूले आफ्ना एजेन्डा र योजना अगाडि सारिरहेका छन् । अध्ययनशील छवि बनाएका नरेश रेग्मी आन्दोलनको रचनात्मक आयामहरू विकास गरेर ‘जेन जी’ पुस्ता लक्षित विद्यार्थी संगठन बनाउने र विद्यार्थी आन्दोलनलाई नै पुनर्परिभाषित गर्न आफूले नेतृत्वमा दाबी गरेको बताउँछन् ।

कुनै बेला समानान्तर कमिटीको नेतृत्व गरेका पवन कार्की विद्यार्थी आन्दोलनलाई भरलाग्दो बनाउने र प्रश्नहरूले घेरिएको विद्यार्थी आन्दोलनलाई उत्तरमा रुपान्तरण गर्ने बताउँछन् । मदन भुलले आफूलाई पिछडिएको वर्ग, क्षेत्र र उत्पीडित समुदायको प्रतिनिधिका रूपमा आफूलाई अगाडि सारिरहेका छन् । भुलप्रति अध्यक्ष पञ्चा पनि सकारात्मक रहेको स्रोत बताउँछ ।

उनी नभए पूर्वका मदन भट्टराईलाई विकल्पका रूपमा अगाडि सार्ने तयारीसमेत शर्मा समूहले गरेको देखिन्छ ।

रुकुमका केशव रावल २१ औं महाधिवेशनमा रञ्जित तामाङ समूहमा उभिएका थिए । रञ्जित वर्षमान समूहका नेता हुन् । गत निर्वाचनमा रावलले गठबन्धनविरुद्ध रुकुम पूर्वबाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएसँगै पञ्चा सिंह नेतृत्वको अखिल क्रान्तिकारीले उनलाई कारबाही गरेको थियो । पछि पञ्चा सिंहकै रुचिमा उनको कारबाही फुकुवा पनि भएको छ ।

अध्यक्ष सिंहसँग नजिक रहेका उनले आफूलाई हेडक्वाटर नजिकको नेताको रूपमा प्रचार गरिरहेका छन् । दुवैको नजिक हुन खोज्दा कसैको पनि नहुने जोखिम उनका अगाडि देखिन्छ ।

प्रचण्डलाई अप्ठ्यारो

आफू निकट भनिएका विद्यार्थी नेताहरु विवादमा मुछिएका र धेरै आकांक्षीका बीच पार्टीमा सन्तुलन पनि मिलाउनुपर्ने भएपछि अध्यक्ष प्रचण्ड अप्ठ्यारोमा छन् । त्यसैले उनी यस विषयमा तत्काल मुख नखोल्ने पक्षमा देखिन्छन् ।

विहीबार प्रचण्डलाई भेट्न गएको पार्टी नेतृत्वको एक टोलीलाई प्रचण्डले उल्टै सोधे, ‘होइन, के गर्ने हो ? म त अलमलमा छु । बाहिर के छ भन्नुस् त ?’

उक्त टोलीले बाहिरको हालखबर बेलिविस्तार लगाएपछि प्रचण्डले भने, ‘होइन, म त नबोलौं कि के हो ?’

सन्तुलन मिलाउँदै जाँदा अन्तिममा दिपेश पुन, मदन भुल, नरेश रेग्मी र पवन कार्कीबीच प्रतिस्पर्धा हुने सम्भावना रहेको स्रोतले बतायो । यसमा एउटा पक्ष भने नरेश र पवनलाई मिलाउने प्रयासमा समेत सक्रिय छ । नरेशमा बौद्धिक र पवनमा कार्यकर्ता परिचालनको क्षमता भएकाले दुवैलाई मिलाउँदा संगठन गतिशील बन्ने उनीहरू निकट नेताहरूको विश्वास छ ।

उता, वर्षमान पुनले महासचिव दिपेश पुनलाई सरसहयोगसहित चुनावी तयारीमा पठाइसकेका छन् । यसरी, अन्ततः अखिल क्रान्तिकारीमा शर्मा र पुनका उम्मेदवारबीच नै भिडन्त हुने सम्भावना बलियो बनेको छ । ‘कुनै बेला आफूविरुद्ध उभिन खोजेका जनार्दन र वर्षमानलाई प्रचण्डलाई हाम्रा अध्यक्षले अखिल क्रान्तिकारीको सम्मेलनसम्म आउँदा स्पष्ट रूपमा दुई कित्तामा उभ्याइदिन सफल हुनुभएको छ’ माओवादीका एक नेता भन्छन् ।

महासचिवमै आधा दर्जन बढी उम्मेदवार 

महासचिवमा धादिङका सञ्जीव रेग्मीले पार्टी संस्थापन पक्षबाट दाबी गरेका छन् । उपमहासचिव तथा उपत्यका प्रदेश कमिटीका अध्यक्ष रहेका उनले जनार्दन निकट भनिएको प्राविधिक जिल्ला र क्याम्पस जिल्ला अधिवेशनमा नतिजा उल्ट्याएर प्रचण्ड पक्षमा नतिजा उल्ट्याइदिएका छन् ।

महासचिव पदमा जनार्दन शर्मा समूहबाटै धेरै नेताले रुचि देखाएका छन् । सुदन किराँतीका स्वकीय सचिव रहेका हेमन्त राई, उपत्यका विशेष कमिटी इञ्चार्ज रहेका प्रसुन कार्की लगायतले पनि रुचि देखाएका छन् । हालका उपमहासचिव मदन लिम्बु पनि महासचिवका दाबेदार रहेका छन् । वर्षमान निकट गण्डकीका सुदीन पौडेल र जनार्दन निकट कास्कीकै नारायण बरालले पनि महासचिवमा रुचि देखाएका छन् ।

लेखकको बारेमा
विनोद घिमिरे

घिमिरे अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?