+
+

‘बेहुली फ्रम मेघौली’बारे स्वस्तिमा : रोनाधोना नारीप्रधान हैन, रमाइलो फिल्म

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १३ गते २०:४१

काठमाडौं । ‘बेहुली फ्रम मेघौली’ दशैंको घटस्थापनामा रिलिज तयारीमा छ । निश्चल बस्नेत र स्वस्तिमा खड्काले निर्माण र अभिनय गरेको फिल्मको कारण यसले चर्चा बटुलिरहेको छ ।

स्वस्तिमाले निर्मात्रीको रुपमा यो फिल्मबाट डेब्यु गर्दैछिन् । यो फिल्मले उमेरले ३० पुगेकी युवतीलाई योग्य वरसँग विवाह गर्न हुने सकसको कथा भन्छ । यतिबेला निश्चल र स्वस्तिमा फिल्मको प्रवर्धनमा ब्यस्त छन् ।

स्वस्तिमा यो फिल्मलाई नारीप्रधान फिल्म बताउँछिन् । यसको अर्थ, रोनाधोनायुक्त नारीप्रधान फिल्म भने होइन । सुरुमा आफूलाई फिल्मबारे प्रस्ताव गरिँदा परम्परागत शैलीको रोनाधोना टाइपको फिल्म लागेको थियो रे । निर्देशकद्धय साजन काफ्ले र आकाश काफ्लेले नारीप्रधान फिल्म भन्दै स्क्रिप्ट पेश गरेका थिए ।

जब उनले स्क्रिप्ट पढिन, उनलाई यसको कथा नारीप्रधानभन्दा रमाइलो शैलीको लाग्यो । मुख्य पात्रले उमेरले ३० टेक्दा पनि अविवाहित बसेको र विवाह गर्न परिवारको दबाब देख्न सकिन्छ । समस्या भोगिरहेका पात्रमार्फत दर्शकले मनोरञ्जन पाउने ठानेर स्वस्तिमाले यसलाई नारीप्रधान भइकन पनि रमाइलो फिल्मको रुपमा ब्याख्या गरिन् ।

‘नारीप्रधान फिल्म भनेपछि हाम्रो दिमागमा कस्तो हुन्छ भने अलिक गम्भिर, दुःख देखाउने सिनेमा भन्ने लाग्छ नि । मलाई कसैले नारीप्रधान सिनेमा छ है भन्यो भने अलि दुखीयारी किसिमको कथा भइरहेको हुन्छ’ भन्छिन्, ‘नारीप्रधान हुँदाहुँदै पनि यो व्यवसायिक र दर्शकले रमाइलो लिने फिल्म हो ।’

यसकारण स्वस्तिमा यो फिल्मलाई नारीप्रधान मात्र मान्न तयार छैनन् । उनी यसलाई रमाइलो फिल्म बताउँछिन् । ‘नारीप्रधान फिल्मजस्तो मात्र नसोचियोस् । किनभने त्यस्तो फिल्म भन्दा निश्चित दर्शक केन्द्रित हुन जान्छन् । योचाँहि व्यवसायिक पक्ष भएको परिवारसँग गएर हेर्ने फिल्म हो, खास विषयलाई लिएर रमाइलोसँग बनाएको फिल्म हो’ उनले भनिन् ।

स्वस्तिमाको कुरासँग उनीसँग स्क्रिन सेयर गरिरेका निश्चल बस्नेतको पनि समान धारणा छ ।

‘परिवारसँग बसेर हेर्दा झन् महसुस गर्न सकिने फिल्म हो । यसमा विवाह गरिसक्नुभएकाले पहिलाको कुरा सम्झेर धेरै मनोरञ्जन लिनुहुनेछ भने विवाह गर्न बाँकीले योचाँहि अहिले नै मेरो जीवनमा भइरहेको छ भनेर महसुस गर्नुहुनेछ ।’

घोषणादेखि दर्शकको पर्खाइमा रहेको फिल्मलाई लिएर दर्शकमा प्रतिक्षा छ । फिल्मको गीत र ट्रेलरले दर्शकमाझ चर्चा पाइरहेको छ । ‘छड्के सलाम’ गीतले टिकटक र युट्युवमा लोकप्रियता पाइरहेको छ ।

यो फिल्ममा वसुन्धरा भुषाल, विजय बराल, सिम्रन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर शिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय छ ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको नृत्य निर्देशन, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन,छ ।

यो फिल्मको वितरणमा एप्पल इन्टरटेनमेन्ट र डीसीएनले सहकार्य गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?