+
+

बाढीपहिरोले काभ्रेमा विद्युत र सञ्चारमा पनि समस्या

कपिल कोइराला कपिल कोइराला
२०८१ असोज १५ गते १४:३५

१५ असोज, काभ्रे । काभ्रेमा बाढीपहिरोले यातायातसँगै विद्युत र सञ्चार पनि प्रभावित भएको छ । बाढीपहिरोले विजुली बत्तीमा क्षति पुर्‍याउँदा सञ्चारसमेत प्रभावित भएको हो ।

जिल्ला प्रहरी प्रमुख वसुन्धरा खड्काले सञ्चारमा समस्या हुँदा वीपी राजमार्गअनर्तगत रोशी क्षेत्रबाट अलपत्र यात्रुहरुको उद्धार भएपनि अन्य क्षेत्रको बारेमा जानकारी लिन नसकिएको बताइन् । ‘ग्रामीण क्षेत्रमा विद्युत अवरुद्ध हुँदा सञ्चारसेट तथा मोबाइल चार्ज नभएर घटनाबारे एकिन जानकारी लिन समस्या भयो’, उनले भनिन् ।

बाढीट पहिरोले काभ्रेका १३ पालिका मध्ये ७ पालिका केन्द्र जोड्ने सडक क्षतविक्षत बनाएको छ । जिल्लाको बनेपा, पनौती, धुलिखेल, नमोबुद्ध र पाँचखाल, र मण्डनदेउपुरको पालिका पुग्ने सडक खुलेपनि अन्य पालिकाहरुमा जाने सडक पूर्ण रुपमा बन्द छन् ।

जिल्लाको बेथानचोकमा पनौतीको सिमाना देखिनै अवरुद्ध छ । सडक र विद्युतको समस्याले उद्धार र राहतमा कठिनाइ भएको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए । उनका अनुसार पनौती–खोपासी–चलाल–ढुंखर्क जाने सडकको चलाल–ढुंखर्क सडक पूर्ण रुपमा बन्द भएको छ ।

त्यस्तै रोशी गाउँपालिका जाने वीपी राजमार्ग रोशी र दाप्चा खोलाले बगाउँदा केन्द्र जाने सडक पूर्ण रुपमा बन्द छ । बाढीका कारण रोशी पालिकाभित्र पर्ने वीपी राजमार्गमा धेरै क्षति भएको छ । रोशी भित्रको चौकीडाडा, लास्कोटबेशी, चारसय, गिम्दीबेशी, नार्के, दाउन्ने, मंगलटार, कालढुंगा, डालाबेंशी, माम्ती लगायतका ठाउँमा वीपी राजमार्ग नै बगाएको छ ।

नमोबुद्धको भकुण्डेबेंशीसम्म यातायात चलेपनि भित्री सडकहरु अवरुद्ध छन् । भकुण्डेबेशी हुँदै तेमालको केन्द्र जाने भकुण्डे–नारायणस्थान–मेच्छे सडक समेत बन्द छ ।

काभ्रेको कर्णाली भनेर चिनिने महाभारत र खानीखोला केन्द्र जाने सडक पनि पूर्णरुपमा क्षति भएको छ । खानीखोलामा अलपत्र परेकाहरुलाई हेलिकप्टर मार्फत राहत सामाग्री पठाइएको छ ।

कोशीपारी क्षेत्रमा रहेको भुम्लु र चौरीदेउराली गाउँपालिकाको केन्द्र पुग्ने सडक अवरुद्ध छ । भुम्लुको केन्द्र सल्ले जान दोलघाटबाट सडक खुलाउँदै गइरहेको भुम्लु गाउँपालिकाले जनाएको छ । केन्द्रसम्म यातायात पुगेका पालिकाहरुका ग्रामिण भेग समेत अवरुद्ध छन् ।

अरनिको राजमार्गको काभ्रे खण्डको धुलिखेल खावा सडक खण्ड एकतर्फी तथा खावाबाट दोलालघाटसम्म दुईतर्फी नै यातायात सञ्चालनमा आएको पाँचखाल नगरप्रम्ख महेश खरेलले जानकारी दिए ।

सडक सञ्जालमा क्षति पुग्दा उद्धारमा जान लागेका नेपाली सेना, नेपाल प्रहरी र ससस्त्र प्रहरी समेत पैदलमार्गबाट गन्तव्यसम्म पुग्न समस्या भएको छ ।

४८ घन्टापछि पुग्यो उद्धार टोली

पहिरोमा पुरिएका तेमाल २ मा एकै परिवारका ८ जना पुरिएका मध्ये ५ जनाको ४८ घण्टा पछि मृत अवस्थामा भेटिए भने अन्य ३ जना अझै फेला पर्न सकेका छैनन् । स्थानीय शिक्षक ग्यान्जा लामाका अनुसार उद्धार टोली नै त्यहाँ ४८ घन्टा पछि पुगेको थियो ।

नेपाली सेनाको उद्धार टोली र स्थानीयले पुरिएको ठाउँ उत्खनन् गर्दा ५ जनाको शव भेटिएको लामाले बताए । उनका अनुसार उक्त ठाउँमा अझै ३ जना बेपत्ता छन् ।

त्यस्तै नमोबुद्ध ५ ठोक्रेमा पहिरोमा परेर २ जना पुरिएको मध्ये १ जना अझै निकाल्न नसकिएको सुन्दर बडालले जानकारी दिए । काभ्रेमा बाढी र पहिरोमा परेर हालसम्म ६५ जनाको मृत्यु, ५२ जना घाइते तथा ६ जना बेपत्ता छन् ।

लेखकको बारेमा
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?