+
+
Shares

बेपत्ता चलितर २५ वर्षपछि घर फर्किए

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १८ गते २०:१७

१८ कात्तिक, जनकपुरधाम । २० वर्षभन्दा बढी समयदेखि बेपत्ता धनुषाका एकजना घर फर्केका छन् । धनुषाको बटेश्वर गाउँपालिका-१, लक्ष्मीनिवास सोनापुरका ५८ वर्षीय चलितर महतो आज गाउँ फर्केका हुन् ।

युवा अवस्थामै मजदुरीका लागि पञ्जाव गएका उनी बेपत्ता भएका थिए । वर्षौंसम्म घर नफर्किँदा उनको मृत्यु भइसकेको घरपरिवारसहित गाउँलेको आकलन गरिसकेका थिए । तर २५ वर्षपछि अचानक गाउँ आइपुगेपछि घरपरिवारसहित गाउँले उत्साहित भएका छन् ।

घर फर्केका महतो आफूलाई पञ्जावको एक जिम्मेवारले बन्धक बनाएर श्रम गराएको बताए । ‘मलाई मालिकले बन्धक बनाएर श्रम गरायो । बाहिर जाने नाम लिँदा काटेर फालिदिन्छु भन्थे । डरले बाहिर निस्किन सकिरहेको थिएन । त्यहाँ गाईवस्तु पाल्ने काममा मलाई लगाएको थियो’, महतोले अनलाइनखबरसित भने ।

भारत बिहार सितामढीका मंगल महतो भन्ने मान्छे जिम्मेवारको घरको कामको क्रममा चिनजान हुँदा आफू बन्धकबाट उन्मुक्ति पाएको उनको भनाइ छ । त्यहाँ मंगल महतो भन्ने मान्छे पहलकदमी लिँदा परपञ्चायत भएको थियो । त्यसपछि घर फर्किन दिन साहु सहमत भएको चलितरको भनाइ छ ।

बन्धक बनाएर काम गराउँदा उनको एक रुपैयाँ समेत पारिश्रमिक नदिएको उनले गुनासो गरे । यद्पि आफू उन्मुक्ति भएर गाउँ फर्किन पाउँदा अत्यन्त खुसी भएको उनले सुनाए ।

चलितर वर्षौंसम्म घर नफर्किँदा अस्तव्यस्त बनेको विपन्न परिवार केही वर्ष अघि सर्लाहीको हरिवन नगरपालिकाको घुर्कौली सरेका छन् । त्यहाँ उनका एक्लो छोरा प्रवीण महतो खाजा पसल चलाएर परिवार चलाइरहेका छन् । तर उनको परिवार नागरिकता र जन्मदर्ताविहीन छन् ।

अभिभावक नै सम्पर्कविहीन बन्दा छोराले पनि नागरिकता बनाउन पाएका थिएनन् । बुबा गाउँ आएको खबरले उत्साहित उनको परिवार स्वागतका लागि साविक गाउँ सोनापुर आउन लागेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?