+
+

गोकर्णेश्वरमा भेटिएको ३ जनाको शव २ साता पुरानो

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २९ गते १८:५९

२९ कात्तिक, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३, गाम्छामा भेटिएको शव कम्तीमा दुई साता पुरानो हुनसक्ने प्रहरीको प्रारम्भिक जाँचबाट देखिएको छ ।

घटनास्थलमा पुगेका उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका एक अधिकृतका अनुसार, तीन जनाकै शव सडेको अवस्थामा फेला परेको छ ।

त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुले गरेको स्थलगत जाँच, छिमेकीहरुसँगको सोधपुछ र मृतकका श्रीमानको बयानका आधारमा तीनै जनाको कम्तीमा दुई साताअघि मृत्यु भएको हुनसक्ने अनुमान गरिएको हो ।

कान्छा नगरकोटीले श्रीमती र दुई छोराछोरी हराएको भन्दै प्रहरीलाई खबर गरेपछि प्रहरी वृत्त, बौद्ध र जिल्ला प्रहरी परिसर, काठमाडौंले खोजी थालेको थियो । त्यसक्रममा बिहीबार अपराह्न आफ्नै घरको बन्द कोठाभित्र ३३ वर्षीया सीता मोक्तान, उनकी छोरी अंशु मोक्तान र छोरा दुई महिनाका बालकको शव भेटिएको थियो ।

प्रहरीका अनुसार, घरमा बाहिरबाट ताला लगाएकाले श्रीमती कतै गएको हुनसक्ने अनुमान गरेको श्रीमान् कान्छा नगरकोटीले बयान दिएका छन् । ‘उहाँहरुबीच पटकपटक घरमा झगडा पनि हुने गरेको रहेछ, त्यस्तोमा कहिले श्रीमान् घर छाडेर हिँड्ने कहिले श्रीमती हिँड्ने हुने गरेको रहेछ’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘पछिल्लो समय १६ कात्तिकदेखि श्रीमान् घरबाट बाहिरै रहेछन् ।’

फर्किएर आउँदा घरको बाहिरपट्टी नै ताला लागेको देखेपछि आफू बाहिरै बसेको उनले बयान दिएका छन् । प्रहरीका अनुसार, तालाभित्र र बाहिर दुवैतिरबाट लगाउन मिल्ने किमिसको छ ।

घटनास्थलमा पुगेका काठमाडौं प्रहरीका एक अधिकृतका अनुसार, कोठामा बीच भागतिर माकल बालेर आगो तापेको देखिएको छ । ‘त्यहाँ तेल पनि भेटिएको छ, दुई महिनाको बच्चालाई लगाइदिन राखेको जस्तो देखिन्छ’, प्रहरी स्रोतले भन्यो, ‘यद्यपि, थप विषयहरुको जाँच भइरहेको छ ।’

अहिलेसम्म हेर्दा निसासिएर उनीहरुको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको प्रहरीले बताएको छ । अहिले घटनास्थलमा शवको मुचुल्का भइरहेको छ । घटनास्थलमा पुगेका त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट खटिएका चिकित्सकहरुले शव सडिसकेकाले पोष्टमार्टम गर्न समेत कठिनाइ हुनसक्ने बताएका छन् ।

हालसम्म सीताका श्रीमान् कान्छा प्रहरी नियन्त्रणमा छन् । यद्यपि, अहिलेसम्मको जाँचले घटना भवितव्य जस्तो देखिएको अधिकृतहरुको भनाइ छ । दुवै जनाले एकअर्कासँग दोस्रो विवाह गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले यो घटनामा अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?