+

बाह्य संक्रमणबाट हुने सेप्सिस बन्न सक्छ मृत्युको कारण

२०८१ मंसिर  २३ गते ११:५७ २०८१ मंसिर २३ गते ११:५७
बाह्य संक्रमणबाट हुने सेप्सिस बन्न सक्छ मृत्युको कारण

चिकित्सकले बिरामीको मृत्युको कारण संक्रमण फैलिएर भएको भन्ने जवाफ दिएमा त्यो व्यक्ति सेप्सिसको सिकार भएको बुझिन्छ । ग्लोबल सेप्सिस एलाइन्सेसको तथ्यांक अनुसार वर्षेनी चार करोड ९० लाख मानिस सेप्सिसबाट सङ्क्रमित हुन्छन् । तीमध्ये एक करोड १० लाखले ज्यान गुमाउँछन् ।

विश्वभर हुने मृत्युमध्ये २० प्रतिशत सेप्सिसको कारणले हुने तथ्याङ्कले देखाउँछ । अस्पतालमा आउने बिरामीको सबैभन्दा बढी मृत्यु हुनसक्ने स्वास्थ्य समस्यामध्ये सेप्सिस एक हो ।

सेप्सिस कस्तो समस्या हो ?

कुनै संक्रमण विरुद्ध शरीरले प्रतिक्रिया गर्दा आफ्नै तन्तुलाई हानि गर्न थाल्ने अवस्थालाई सेप्सिस भनिन्छ । यो एक प्राणघातक अवस्था हो । यो एउटा रोग नभई रोगहरुको एकीकृत समूह हो, जसको प्रमुख कारण नै संक्रमण विरुद्ध लड्न नसक्नु हो ।

शरीरमा बाह्य भाइरस, फंगल, कीटाणुको संक्रमण गर्दा प्रतिरक्षा प्रणाली नै योद्धा जसरी त्यस विरुद्ध लड्छ । कुनै कारणवश यी संक्रमण विरुद्ध लड्न नसकेपछि सेप्सिस हुन्छ । यो अवस्थामा शरीरको प्रतिरक्षा प्रणालीले बाह्य संक्रमण विरुद्ध असामान्य प्रतिक्रिया देखाउँछ ।

प्रतिरक्षा प्रणाली अति सक्रिय भइदिन्छ । यस्तोमा संक्रमणविरुद्ध लड्नुको साटो प्रतिरक्षा प्रणालीले उल्टो शरीरमा असामान्य प्रतिक्रिया देखाई तन्तु तथा अंगलाई आफैं हानि गर्न सुरु गर्छ । जसकारण शरीरको सबै भाग सुन्निन्छ । बाह्य संक्रमण रगतको माध्यम हुँदै शरीरको विभिन्न भागमा फैलिन्छ ।

कलेजो र मिर्गौला जस्तो अंगलाई क्षति गराई मृत्यु समेत गराउन सक्ने यो एक प्राणघातक अवस्था (लाइफ थ्रिएटिङ अर्गान डिसफङ्सन) हो ।

संक्रमण हुने बित्तिकै सेप्सिस हुन्छ ?

भाइरल संक्रमण, फङ्गल, पारासाइट जस्ता संक्रमण हुँदैमा सेप्सिस भइहाल्छ भन्ने होइन । यी संक्रमण विरुद्ध प्रतिरक्षा प्रणालीले लड्न बन्द गरेमा शरीरमा भएको तन्तुलाई हानि गर्न सुरु गर्छ । जसकारण शरीरको सबै भाग सुन्निन्छ । रक्तनलीमा रगत जम्न थाल्छ । बिस्तारै सबै अंग क्षति हुन्छ ।

कडा, जटिल रोगको संक्रमणले मात्र नभई साधारण सानो मानिने वा देखिने रोगको संक्रमण बढेर उपचार नभएको खण्डमा सेप्सिस हुनसक्छ । यदि कुनै रोग निमोनिया (फोक्सोको संक्रमण), पेटको संक्रमण, मिर्गौला र रगतमा संक्रमण, क्यान्सर लगायत समस्याका कारण शरीरको प्रतिरोधी क्षमता अति कमजोर भएमा र पहिलेबाटै शरीरको प्रतिरोधी क्षमता कमजोर भएमा पनि सेप्सिस हुने गर्छ ।

कसलाई हुनसक्छ ?

विशेषगरी रोगप्रतिरोधात्मक क्षमता कमजोर हुनेहरुमा यसको जोखिम उच्च रहन्छ । अंग प्रत्यारोपणपछि रोगसँग लड्ने क्षमता घटाउने खालको औषधि (स्टेरोइड लिने) बिरामी, नवजात शिशु, बालबालिका र वृद्धहरुमा बढी जोखिमको सम्भावना बढी रहन्छ ।

त्यस्तै, बाथरोग, एचआईभी/एड्स, क्यान्सर, मधुमेह, दीर्घकालीन मिर्गौलाको रोग, दम हुने बिरामी, लामो समय कृत्रिम श्वासप्रश्वास दिएर राखेका बिरामीमा पनि यो समस्या हुने जोखिम उच्च रहन्छ । सेप्सिस भएको लक्षणले पत्ता लगाउन सकिन्छ ।

हाइपरथर्मिया, मुटुको चाल प्रतिमिनेट २० भन्दा बढी हुनु वा अनियमित हुनु, अचानक शरीरको तापक्रम बढ्नु वा स्वाट्ट घट्नु, थकान तथा कमजोरी र रक्तचाप न्यून हुनु सेप्सिसको लक्षण हुन् । यी लक्षण देखिएसँगै  अंगले काम गर्न छाडेको पनि हुनसक्छ । यस्तोमा पनि शरीरले गम्भीर लक्षण देखाउँछ ।

जस्तो कि होस कम हुनु वा बेसुरको कुरा गर्नु, पिसाबको मात्रा अति न्यून हुनु, सास फेर्न समस्या हुनु, रगत जमाउने कोषिकाको मात्रा कम हुनु, अत्यधिक पेट दुख्नु, जन्डिस देखिनु, मुटुको चाल र काम गर्ने क्षमतामा ह्रास आउने लक्षण देखिन्छ ।

यस्तोमा तत्काल आईसीयूमै राखेर उपचार प्रक्रिया सुरु गरिहाल्नुपर्छ ।

ईसीयू नै किन ?

किनकि, उनीहरुको ग्लुकोज, छालामा परिवर्तन, रक्तचाप घट्न र पिसाबको दर घटेको हुन्छ । यस्तोमा नजिकैबाट चिकित्सकको निगरानीमा राखेर रक्तचाप, ग्लुकोजको स्तर बढाउने औषधि, स्लाइन पानी दिएर राख्नुपर्ने भएकाले आईसीयूमै राखेर उपचार गरिन्छ ।

पहिचान तथा उपचार

सेप्सिसको पहिचान गर्ने आधार लक्षण नै हुन् । यसको यकिन गर्न र कुन जीवाणुले सेप्सिस गराएको हो भने पत्ता लगाउन रगत र पिसाब परीक्षण आवश्यक पर्छ ।

ती परीक्षण रिपोर्ट आउन ४८ घण्टा लाग्छ । सो अवधिसम्म पर्खिएर उपचार गर्दा ढिला हुने हुँदा सेप्सिसको लक्षण देखिने बित्तिकै प्राय: केसमा बोर्ड स्पेक्ट्रम एन्टिबायोटिक नामक औषधि दिइन्छ । बोर्ड स्पेक्ट्रम एन्टिबायोटिकले कैयौं ब्याक्टेरिया, फंगललाई मार्न सक्छ । साथै, लक्षण अनुसारको उपचार पनि आवश्यक पर्छ ।

उपचार नपाएमा

सेप्सिसको उपचार नै नभए अंगहरुले एकपछि अर्को गर्दै बिस्तारै काम गर्न छाड्छ । जसकारण ज्यान जान सक्छ ।

रोकथाम

– हात धुनेसहित सरसफाइमा ध्यान दिनुपर्छ ।

– काटेको तथा अन्य घाउहरू सफा राख्नुपर्छ । धारिलो फलामको हतियारले काटेको अवस्थामा टिटानसको खोप लिनुपर्छ ।

– संक्रमणको शंका भएमा तुरुन्तै पहिचान तथा उपचार गर्नुपर्छ ।

– बालक र वृद्धमा ज्वरो, रुघाखोकी र निमोनिया भए घरेलु उपचार भन्दा पनि तत्काल चिकित्सकलाई देखाइ उपचार गराउनुपर्छ ।

डा. अनाम प्याकुरेल संक्रमण सेप्सिस
डा. अनाम प्याकुरेल
लेखक
डा. अनाम प्याकुरेल
जनरल प्राक्टिसनर

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : २३९६४ अध्ययन : एमबीबीएस हाल काठमाडौं नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा कार्यरत, बुवाकेयरका अध्यक्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय