
२१ मंसिर, काठमाडौं । नेपालको वातावरणीय समस्या, चुनौती र समाधानका विषयमा केन्द्रित विशेष कार्यक्रम ‘ग्रिड संवाद’ को दोस्रो अंक प्रसारण भएको छ ।
कार्यक्रमको दोस्रो अंक १४ मंसिर मंगलबार साँझ ८ बजे प्रसारण भएको थियो । हिमालय टेलिभिजनबाट प्रसारित कार्यक्रममा कृषि क्षेत्रका मूल्य शृङ्ला र यसका आयामबारे बृहत छलफल गरिएको थियो ।
कार्यक्रममा वरिष्ठ कृषि अधिकृत खेमराज जोशी, ग्रामीण उद्यम तथा मूल्य शृङ्खलाविद् अनु जोशी श्रेष्ठ र कृषि उद्यमी मौसमी श्रेष्ठ सहभागी थिए ।
सहभागी वक्ताले कृषि क्षेत्रले ठूलो जनसंख्यालाई आधारभूत सेवा उपलब्ध गराउने भएकाले ग्रामीण जीवनयापनलाई दिगो बनाउन यसको महत्त्वबारे चर्चा गरेका थिए ।
ग्रामीण महिला तथा निम्न वर्गको आर्थिक उपार्जन, विपन्न वर्गको उत्थान, स्थानीय रोजगारी सिर्जनामा कृषि क्षेत्रले बहुआयामिक टेवा पुर्याएका दृष्टान्त कार्यक्रममा प्रस्तुत गरिएको थियो । यद्यपि, मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा अझै ठूलो योगदान दिन सक्ने भए पनि कृषि क्षेत्रको दिगो, वैज्ञानिक र प्रभावकारी ढंगले उपयोग गर्न नसकिएको औंल्याइएको थियो ।
कृषि क्षेत्रबाट अधिकतम लाभ लिन स्थानीय समुदाय, महिला र विपन्न वर्गलाई आयआर्जनका ज्ञान, सिप, तालिम प्रदान गर्नुपर्ने र राज्य र सम्बद्ध निकायले नीतिगत अप्ठ्यारा सहज बनाइदिनुपर्नेमा समेत सहभागीले जोड दिएका थिए ।
कार्यक्रमको पहिलो अंक नेपालमा वायु प्रदूषणको अवस्था, यसले ल्याएका जनस्वास्थ्य समस्या, विकास र अर्थतन्त्रमा पारेको प्रभाव विषयमा केन्द्रित थियो ।
‘नेपालको हरित, उत्थानशील र समावेशी विकासतर्फको मार्ग बुझ्न’ थिम रहेको कार्यक्रम कम्तीमा ७ अंक प्रसारण हुनेछ । कार्यक्रम हिमालय टेलिभिजनका साथै आधिकारिक फेसबुक पेज र युट्युबमार्फत पनि प्रसारण हुने गरेको छ । कार्यक्रम प्रस्तोता पूर्व मिस नेपाल सुगारिका केसी हुन् ।
प्रतिक्रिया 4