+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

जनतासँग जोडिने नेता पढाउँदै एमाले

देशभरका नेताहरु बोलाएर प्रशिक्षण कक्षा सञ्चालन गर्नुको मूल उद्देश्य भने मिसन–०८४ नै हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २९ गते २०:४१

२९ मंसिर, काठमाडौं । नेकपा एमालेले जनतासँग प्रत्यक्ष जोडिने काममा पार्टीलाई केन्द्रित गर्न नेताहरुलाई प्रशिक्षण दिँदैछ ।

केन्द्रीय संगठन विभागको आयोजनामा जिल्ला पार्टी नेतृत्वमा रहेका तीन सय बढी नेताहरु मुख्यालय च्यासल बोलाएर प्रशिक्षण दिँदै गरेको हो । ‘पार्टीलाई बलियो बनाउन जरातिर फर्कनुपर्छ । जनतासँग जोडिएर सक्रिय हुने नेताहरुको क्षमता अभिवृद्धि गर्नुपर्छ’ संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले भने, ‘भुईं तहमा रहेर संगठन बनाउने नेताहरुलाई हरेक हिसाबले सशक्त बनाउन प्रशिक्षण थालेका हौ ।’

प्रशिक्षणपछि चार वटा उद्देश्य राखेर अगाडि बढ्ने अधिकारी बताउँछन् । उनका अनुसार स्थानीय पार्टी कामको समस्या पहिचान, पहिचान भएका समस्या समाधानको योजना निर्माण र स्थानीय नेताहरुमा रहेको भ्रमको निदान गर्ने काम यो प्रशिक्षणमा हुनेछ ।

‘पार्टीको बारेमा स्थानीय नेताहरुमा भ्रम हुन सक्छन् । अस्पष्टता र जिज्ञासाहरु हुन सक्छन्’ संगठन विभाग प्रमुख अधिकारीले भने, ‘पार्टीको बारेमा रहेका सबै अस्पष्टताहरु हल गर्ने काम सुरु गरेका छौं ।’

देशभरका नेताहरु बोलाएर प्रशिक्षण कक्षा सञ्चालन गर्नुको मूल उद्देश्य भने मिसन–०८४ नै हो । एमालेले ०८४ सालको चुनावबाट निर्णायक मुख्य राष्ट्रिय शक्ति बन्ने उद्देश्य लिएको छ ।

त्यसका निम्ति कुल मतदाताको ६ प्रतिशत अर्थात् १० लाख पार्टी सदस्य बनाउने घोषित नीति छ । १० लाख पार्टी सदस्य बनाउन संगठन विभागसँग ठोस् कार्यक्रम बन्नुपर्ने भएकाले काठमाडौंमा प्रशिक्षण सुरु गरेको अधिकारी बताउँछन् ।

यो प्रशिक्षणमा एमालेले सबै जिल्लाका अध्यक्ष, सचिव र संगठन विभाग प्रमुखलाई बोलाएको छ । प्रदेश कमिटीबाट पनि अध्यक्ष, सचिव, संगठन विभाग प्रमुख र अरु दुई जना महिला नेता आएका छन् । २३ वटै जनसंगठनका अध्यक्ष र महासचिव अनि महानगरपालिका र उपमहानगरपालिकाका मेयर र उपमेयर बोलाइएको छ ।

‘यस्ताखाले गतिविधि एमालेमा हुँदै आएको हो । बीचमा केही रोकिएको थियो । तर अब हामी अगाडि बढेका छौं’, संगठन विभाग प्रमुख अधिकारीले भने ।

प्रशिक्षणको पहिलो दिन महासचिव शंकर पोखरेलले पार्टी कार्यक्रमबारे जानकारी दिएका थिए भने अधिकारीले पार्टी निर्माणको कार्यपत्र प्रस्तुत गरेका थिए ।

आइतबार बिहान १० बजे पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?