+
+

सामाजिक विपत् टार्ने एउटै उपाय-शिक्षामा व्यापक सुधार

केही व्यक्ति र समूहले झुट, धोकाधडी, तोडफोड, अराजकता र अत्याचार जस्ता गतिविधिलाई न्यायसंगत र स्वीकार्य ठहर्‍याउन खोज्दैछन् । अरूमाथि दुराचार र अत्याचारलाई स्वाभाविक मान्ने प्रवृत्ति बढ्दो छ ।

कृष्णराज अधिकारी कृष्णराज अधिकारी
२०८१ पुष ८ गते ७:५९

जनताको जीवनलाई स्तरोन्नति गर्न, समाजमा एकता कायम गरी देशलाई समृद्धितर्फ लैजाने ध्येयले समय–समयमा राजनीतिक दलहरूको अगुवाइ र आम जनताको साथ र संलग्नतामा नेपालमा ठूल्ठूला परिवर्तनहरू भए ।

परिवर्तनपछि देशमा विकास निर्माणमा ‘चमात्कार’ हुनेछ, जनजीवनमा मामिलामा ठूलो सुधार आउनेछ, हरेक जनले महसुस हुने गरी सुशासनको प्रत्याभूति हुनेछ, देशमा कानुनी राज्यको स्थापना हुनेछ, सबैलाई पढ्न र लेख्न समान अवसर प्राप्त हुनेछ र स्वास्थ्य सेवाको जिम्मा राज्यले लिनेछ भन्ने विश्वासका साथ २००७ सालको क्रान्ति बाहेकका आन्दोलनहरूमा आम जनता सामेल थिए ।

फलतः आज धेरै क्षेत्रमा सकारात्मक परिवर्तन भए तापनि गरिखाने श्रमजीवी वर्गदेखि सम्पन्न मानिने वर्गसम्मले अनुभूत गर्ने गरी काम हुन सकेका छैनन्, आम जनाताले सुशासनको प्रत्याभूति र देशमा कानुनी राज्यको अनुभूति गर्न सकिरहेका छैनन् भन्ने कुरा सरकार र जिम्मेवार राजनीतिक दलहरूले गम्भीर भएर सोच्ने बेला आएको छ ।

समाजमा आज केही व्यक्ति र समूहहरू घटनालाई अतिरञ्जित गर्ने, संवेदनाहीन टीकाटिप्पणी र काल्पनिक कुरामा पुलकित हुँदै आनन्द लिने प्रवृत्ति बढ्दो छ । कहीं कतै सानो रूपमै किन नहोस् बदलाभाव र मौका पाउँदा प्रणालीमाथि नै प्रहार गर्न अरूलाई उक्साउने निरर्थक प्रयास गरिरहेको देखिन्छ । निःसन्देह लोकतन्त्रमा समर्थन र विरोध वा आलोचना गर्ने हरेक व्यक्ति र समूहको अधिकार हो जसले व्यवस्था र प्रणालीलाई मजबूत बनाउन नै सहयोग पुर्‍याउँदछन् । तर सचेत रहनुपर्ने कुरा के पनि हो भने हरेक कुरा र क्रियाका सीमा हुन्छन् । कतै विरोधका नाममा हुने यस्ता क्रियाकलाप र गतिविधिले समाजमा भ्रम र त्रास सिर्जना गर्ने, सामाजिक सद्भाव खलबल्याई परस्पर घृणा फैलाउने कार्य त गरिरहेका छैनन् ? यो पनि सोचौं हामीले यो ताकत देश निर्माणमा खर्चन पाएको भए ठूलै परियोजनाहरू सम्पन्न हुनेथिए ।

सानै किन नहोस् अराजक र संवेदनाहीन गतिविधिले सरकारलाई सचेत बनाउने नभई समाज र देशलाई गलत दिशातर्फ लैजाने र कानुनको उपहास गर्न मद्दत गर्ने एवं युवापिंढी र समाजलाई दिग्भ्रमित पार्ने जोखिम रहन सक्दछ । यस परिवेशमा यो सानो लेखमा नेपालमा विकसित विद्यमान नकारात्मक प्रवृत्ति वा समस्याहरू ती सृजित हुनुका कारण के हुन सक्छन् सोको पहिचान गरी समाधानका उपाय सुझाउन प्रयास गरिएको छ ।

समाज कुन बाटोमा जाँदैछ र किन ?

आज हाम्रो समाज कुन दिशामा अघि बढ्दैछ भन्ने कुरा हाम्रो लागि गहन सोचको विषय बनेको छ । यहाँ कुनै व्यक्ति वा समूहप्रति आक्षेप लगाउने उद्देश्य होइन, बरु यस्ता प्रवृत्तिहरूलाई समयमै सम्बोधन नगर्ने हो भने समाज र देशलाई नै दिशाहीन र भ्रमित बनाउने सम्भावना रहन्छ भन्ने चिन्ताले यो चर्चा गरिएको हो । यस सन्दर्भमा, केही प्रमुख प्रवृत्तिहरूलाई प्रतिनिधिमूलक रूपमा प्रस्तुत गरी, तिनको समाधानका उपायहरू खोज्ने प्रयत्न गरिएको छ ।

क. समाजमा केही व्यक्ति र समूहले झुट, धोकाधडी, तोडफोड, अराजकता र अत्याचार जस्ता गतिविधिलाई न केवल सामान्य बनाउन खोजिरहेका छन्, बरु यस्ता कार्यहरूलाई न्यायसंगत र स्वीकार्य ठहर्‍याउने प्रयास समेत गरिरहेका छन् । अझ भयावह कुरा त के छ भने, अन्य व्यक्तिहरूमाथि गरिने दुराचार र अत्याचारलाई पनि स्वाभाविक र उचित मान्ने प्रवृत्ति विस्तार हुँदै गएको छ ।

ख. राजनीतिमा केही अपवाद बाहेक, देशको सामाजिक–आर्थिक अवस्था र वस्तुस्थितिको गहिरो अध्ययनमा आधारित विश्लेषण र नीति निर्माण र त्यागको कमी देखिंदै गएको छ । साथै केही बौद्धिक समुदायमा पनि विषय र परिस्थितिको गहिराइमा पुगेर विचार र विश्लेषण गर्नुभन्दा लहड र भीडको आधारमा सतही टिप्पणी र निष्कर्ष निकाल्ने प्रवृत्ति देखिनु दुःखद् पक्ष हो ।

ग. केही व्यक्तिहरू आफ्नो जीवनमा बढ्दै गइरहेका निराशा, ईष्र्या, भय र क्रोधका लागि अरू व्यक्ति, संस्था वा व्यवस्थालाई दोष दिन थाल्छन् । उनीहरू आफूलाई अरूभन्दा माथि पुग्न पालो नकुरी जसरी भए पनि अग्रस्थानमा पुग्नुपर्छ भन्ने सोच राख्दछन् । यस्तो अवस्थाको सिर्जनाको कारण के हो र यसको जिम्मेवारी कसको हो भन्ने विषयमा गहिरो रूपमा विचार गर्ने समय आएको छ ।

घ. देशभर विद्यालयहरूको संख्या बढिरहेको छ । तर विडम्बना के छ भने सार्वजनिक विद्यालयहरूसँग प्रायः योग्य जनशक्ति र भौतिक सुविधाको उपलब्धता छ तर सीमित विद्यालय बाहेक अधिकांशले ‘गुणस्तरीय शिक्षा’ प्रदान गर्न र ‘राम्रो नतिजा’ दिन सकेका छैनन् । अर्को पक्षमा, मध्यमस्तरका जनशक्ति र भौतिक सुविधाका साथ सञ्चालनमा रहेका निजी विद्यालयहरूले अभिभावकबाट महँगो शुल्क असुली तुलनात्मक रूपमा ‘राम्रो नतिजा’ देखाउन सफल भएका छन् । यसले शहरी क्षेत्रका अभिभावकहरूलाई सार्वजनिक विद्यालयभन्दा निजी विद्यालयप्रति बढी आकर्षित बनाएको छ । यस्तो परिस्थिति सिर्जना हुनुका कारणहरूको पहिचान गरी समाधान खोज्ने समय अब ढिला भइसकेको छ ।

समाजमा विद्यमान वातावरण र संस्कारले भविष्यका कर्णधार बालबालिकामा नकारात्मक प्रभाव पारेको छ र यही स्थिति कायम रहे अझ गहिरो प्रभाव पार्नेछ । तलदेखि माथिसम्मका जिम्मेवार राजनीतिक दल र व्यक्तिहरूले यस सन्दर्भमा आत्मसमीक्षा गर्ने बेला आएको छ । हाल प्राप्त यस अवसरको सही सदुपयोग गर्दै समृद्ध र न्यायपूर्ण समाज निर्माण गर्नेतर्फ कदम चाल्न आवश्यक छ

ङ. विद्यालयहरूले बालबालिकाको रुचि र क्षमता अनुसार अतिरिक्त क्रियाकलाप र गैरशैक्षिक कोर्स पहिचान गरी उनीहरूलाई पर्याप्त अवसर प्रदान गरेको देखिंदैन । यसको परिणामस्वरूप, आर्थिक रूपमा सम्पन्न परिवारका बालबालिकाहरूले बाहिरी तालिमका लागि महँगो शुल्क तिर्न सक्छन्, तर आर्थिक रूपमा कमजोर वर्गका बालबालिका यस्ता अवसरबाट वञ्चित रहन्छन् । यो केवल सीप विकासमा अवरोध मात्र होइन, रोजगारीका अवसरहरूबाट पनि वञ्चित गराउने कारक पनि हो । यस्तो असमानताको कारण र समाधानबारे गम्भीरतापूर्वक सोच्न आवश्यक छ ।

च. असल सरकार सूचकाङ्कका २०२१ देखि २०२४ सम्मका प्रतिवेदनहरूमा नेपाल ९२ देखि ९८औं स्थानमा रहेको तथ्यले देशमा सुशासनको अवस्था कमजोर रहेको देखाउँछ । प्रतिवेदनले जनाए अनुसार, राजनीतिक दलका नेता र राष्ट्रसेवकहरूमा देश निर्माणको दूरदृष्टि, इमानदारिता र पेशाप्रतिको निष्ठाको अभाव छ । साथै, पेशागत जिम्मेवारी बोधको कमी, ढिलासुस्ती, कमिसनखोरी, घूसखोरी र भ्रष्टाचार जस्ता अनुशासनहीन गतिविधि प्रचलनमा छन् । यस्तो स्थितिले जनसामान्यलाई सुशासनको प्रत्याभूति गराउन असफल बनाएको छ । यी समस्याहरूका कारणको खोजी र समाधान गर्न गम्भीर बन्न आवश्यक छ ।

छ. समाजमा आदर, सम्मान र जिम्मेवारीबोध गर्ने परम्परामा ह्रास आएको छ । नैतिकता, असल चरित्र र इमानदारीभन्दा दौलत, ओहोदा र नातावादलाई प्राथमिकता दिने प्रवृत्ति बढिरहेको छ । आफ्नै संस्कृति र परम्परालाई बेवास्ता गर्दै विदेशी देखासिकी र नक्कल गर्ने मानसिकता विकास भएको छ । साथै, देशमा भविष्य नदेख्ने र विदेश पलायन हुने प्रवृत्तिले समाजमा नकारात्मक प्रभाव पारिरहेको छ । यस अवस्थाको कारण पहिचान गरी सुधार गर्न ढिला भइसकेको छ ।

ज. ज्येष्ठ नागरिकहरूको ज्ञान, सीप, संस्कार र अनुभवको हस्तान्तरणमा उचित ध्यान दिइएको छैन । बरु, उनीहरूलाई परिवार र समाजको बोझका रूपमा हेर्ने प्रवृत्ति छ । यस विपरीत, इलेक्ट्रोनिक र सामाजिक मिडिया एवं आफ्ना आवश्यकतालाई चाहिने भन्दा बढी समय र महत्व दिइँदै आएको छ । यस्तो प्रवृत्तिमा सुधार ल्याउन अब ढिलो भइसकेको छ ।

झ. हाम्रो शिक्षा, कला, संस्कृति र सृजनाले व्यक्ति र समाजमा आत्मगौरव, जोश र सकारात्मक ऊर्जा सिर्जना गर्नुपर्ने हो । तर कतिपय अवस्थामा यी क्षेत्रमा निराशा, घृणा र हीनताबोध जस्ता नकारात्मक सोचहरू उत्पन्न हुने गरेका छन् । यस्तो हुने कारणको खोजी र समाधान अपरिहार्य छ ।

यी परिघटनाहरू हाम्रो समाजमा विद्यमान नैतिक, वैचारिक र सांस्कृतिक विचलनका प्रतिनिधि उदाहरण हुन् । यी समस्याहरू सानै देखिन्छन्, तर समयमै सम्बोधन नगरे यी थप जटिल र गम्भीर बन्न सक्छन् । त्यसैले, यी समस्याको मूल कारण पहिचान गरी दीर्घकालीन समाधान खोज्नुपर्छ ।

हामीले के गर्नुपर्ने थियोः आत्मसमीक्षा र अवसरको सदुपयोग

हामीले नेपाली संस्कार, संस्कृति, सदाचार, सहअस्तित्व र इतिहासबारे घर–परिवार र समाजबाटै बालबालिकालाई सिकाउनुका साथै विद्यालय र विश्वविद्यालयहरूमा थप प्राज्ञिक ज्ञान प्रदान गर्नुपर्ने थियो । हरेक व्यक्तिलाई जीवन जिउने कला र जीवनमा आउने सम्भावित उतार–चढावलाई स्वाभाविक परिघटना ठान्न सिकाउनु आवश्यक छ, ताकि उनीहरू निराशा, ईष्र्या, भय, क्रोध र घृणा जस्ता नकारात्मक भावनाहरूलाई सहजै नियन्त्रण गर्न र सामना गर्न सक्षम बनून् ।

जीवन लामो यात्रा हो, जहाँ सफलता–असफलता, प्रगति–अधोगति र उन्नति–अवनति स्वाभाविक हुन् । यसलाई स्वीकार्दै, असल परिणाम प्राप्त गर्न निरन्तर प्रयास गर्न, पालो कुर्ने धैर्य गर्न र आवश्यक परे त्याग गर्न सक्ने गुण विकसित गर्नुपर्नेमा जोड दिनु जरूरी छ । समाजमा देखापर्ने विकृति र बेथितिहरूको समाधानका लागि जोन स्टुअर्ट मिलको भनाइ सान्दर्भिक छ– “जब व्यक्तिगत क्रियाकलापहरूले समाजको हित नगर्ने अवस्था उत्पन्न हुन्छ, सरकारको प्रभावकारी हस्तक्षेप स्वाभाविक रूपमा आवश्यक हुन्छ ।”

शिक्षा र स्वास्थ्य प्राप्ति जनताका नैसर्गिक अधिकार हुन्, यी दिइएका कुनै सुविधा होइनन् । तसर्थ, यी अधिकारहरूको सुनिश्चितताका लागि समयसापेक्ष विधेयक समयमै ल्याइनु पर्नेथियो । अब पनि ढिलो नगरी शिक्षा ऐन ल्याउन ठोस कदम चाल्न जरूरी छ । यस्तो विधेयकले जनताका छोराछोरीहरूलाई समानस्तरीय शिक्षा प्राप्त गर्ने अवसर सिर्जना गर्नुपर्छ । यसले उनीहरूलाई अनुशासित, लगनशील र त्यागको भावना जागृत गर्दै देशभित्रै सम्भावनाहरूको खोजी गर्ने र रोजगारी सिर्जना गर्ने जीवनोपयोगी शिक्षा प्रदान गर्नुपर्छ ।

बालबालिकाका रुचि, क्षमता र सम्भावनाका क्षेत्रहरूलाई (अतिरिक्त क्रियाकलाप र ननक्रेडिट कोर्सहरू) प्रोत्साहन गर्दै समान अवसर प्रदान गर्नुपर्छ । सामुदायिक विद्यालयहरूको स्तरोन्नति गरी तिनलाई भरोसायोग्य र गुणस्तरीय बनाउनुपर्छ । साथै, सामुदायिक र निजी विद्यालयहरूको प्रभावकारी अनुगमन र मूल्याङ्कन गरी उपयुक्त दण्ड र पुरस्कारको व्यवस्था गर्नुपर्छ ।

आज परीक्षामा प्राप्त अङ्कका आधारमा मात्र गुणस्तर नाप्ने, ओहोदावाल र सम्पत्तिवाललाई असल व्यक्ति मान्ने मानसिकता र स्वार्थी सोचको विकास भइरहेछ । हाम्रो शिक्षानीति र प्रणालीले यस्ता गलत परम्परा र सोचलाई परिवर्तन गर्न हस्तक्षेपकारी भूमिका खेल्न सकेको देखिंदैन । त्यसैले अबको शिक्षाले यी चुनौतीलाई सम्बोधन गर्दै भविष्यप्रतिको सकारात्मक दृष्टिकोण प्रदान गर्ने भूमिका निर्वाह गर्नुपर्छ ।

संक्षेपमा, हाम्रो शिक्षा प्रणालीले इमानदार, सक्षम र समाजमा सकारात्मक योगदान गर्न सक्ने व्यक्तिहरू तयार पार्नुपर्छ । व्यावहारिक शिक्षा, सामाजिक उत्तरदायित्व र सृजनात्मकतालाई प्रोत्साहन गर्दै शिक्षालाई बालबालिकाको समग्र विकासमा केन्द्रित गरिनुपर्छ । यसरी मात्र समाजका समस्याहरूको समाधान गर्दै देशलाई समृद्ध बनाउन सकिन्छ

घुस लिने र दिने दुवैलाई मुलुकका शत्रु भनेर भनिएको छ । तर तदनुरूप सदाचार, नैतिक मूल्य र अनुशासित जीवन निर्माणका लागि पर्याप्त प्रशिक्षण, सुधारका योजना र दण्ड तथा पुरस्कारको प्रभावकारी व्यवस्था गर्न सकेको देखिंदैन । अरूप्रति सम्मान, आदरभाव, सदाचार र जिम्मेवारीबोध मानिसको जीवनको सफलता र समाजमा सद्भाव कायम गर्न अपरिहार्य छन् । यी मूल्य–मान्यताहरू नेपाली संस्कार र संस्कृतिको महत्वपूर्ण अंग हुन् भन्ने चेतना जगाउन सक्नुपथ्र्याे । साथै, श्रमजीवी वर्गप्रति सम्मान व्यक्त गर्ने भावना र वातावरण निर्माण गर्नुपर्नेमा त्यसमा सफलता मिल्न सकेको छैन ।

थोमस हब्सले लेभियाथन पुस्तकमा भनेका छन्– “सशक्त र प्रभावकारी केन्द्रीय सत्ता विना समाज अराजक हुन्छ, र त्यो अवस्था एक्लो, क्रूर र अल्पकालीन हुन्छ ।” त्यसैले, सरकारका विभिन्न तह र जिम्मेवार राजनीतिक दलहरूले जनताको जीवनस्तर उकास्दै देशलाई समृद्धिको बाटोमा लैजानुका साथै समाजमा कानूनी शासन कायम गर्न क्रियाशील हुनुपर्छ । उनीहरूले जनताको भरोसाको केन्द्र बन्न सक्नुपर्छ । वर्तमान अवस्थामा सीमित सम्पन्न वर्गले मात्र पाइरहेको अवसर, वैभव र आनन्द भविष्यमा आम जनताका लागि पनि उपलब्ध हुने वातावरण सिर्जना गरिनुपर्छ । त्यस्तो अवस्थामा मात्र जनताको जीवन अर्थपूर्ण हुनेछ र सरकार तथा दलप्रति जनआस्था बढ्नेछ ।

आजको सबैभन्दा ठूलो चुनौती भनेको बालबालिकालाई यसरी विकसित गर्नु हो, जसले गर्दा उनीहरू ठूला वा बालिक भएपछि कसैलाई नोक्सान पुर्‍याउने इच्छा समेत नराखुन् । तर, जिम्मेवार वर्ग र हालको शिक्षाले यो समस्या समाधान गर्न पर्याप्त प्रयास गरेको देखिंदैन । परम्परागत शिक्षाले कतै अन्धभक्त, प्रश्न गर्नेको मुख बन्द गर्ने र आदेश पालना गर्ने जमात तयार पारिरहेको त छैन ? शिक्षाले प्रत्येक नागरिकलाई जीवन र त्यसको महत्व बुझाउन नसक्नु अर्काे गम्भीर समस्या हो । जसले आफ्नै जीवनको मूल्य बुझ्दैन, उसले अरूको जीवनप्रति पनि कुनै सम्मान राख्दैन । त्यस्ता व्यक्तिले आफ्नो परिवार, समाज र समग्र मानव जातिलाई विनाशको सँघारमा पुर्‍याउन सक्छन् ।

विभिन्न तहका सरकारहरूले थुप्रै ऐन, कानुन र नीति–नियमहरू बनाएका छन् । तर तिनको प्रभावकारी कार्यान्वयन, बाँकी आवश्यक कानुनहरूको समयमै निर्माण र विधिको शासन स्थापनामा भने कमी देखिन्छ । “हाम्रालाई भन्दा राम्रालाई” अवसर दिने तथा “उपयुक्त स्थानमा उपयुक्त व्यक्ति” को नियुक्ति गर्ने पद्धति स्थापित गर्न अधिकांश सरकारहरू चुक्दै आएका छन् ।

यसरी समाजमा विद्यमान वातावरण र संस्कारले भविष्यका कर्णधार बालबालिकामा नकारात्मक प्रभाव पारेको छ र यही स्थिति कायम रहे अझ गहिरो प्रभाव पार्नेछ । तलदेखि माथिसम्मका जिम्मेवार राजनीतिक दल र व्यक्तिहरूले यस सन्दर्भमा आत्मसमीक्षा गर्ने बेला आएको छ । हाल प्राप्त यस अवसरको सही सदुपयोग गर्दै समृद्ध र न्यायपूर्ण समाज निर्माण गर्नेतर्फ कदम चाल्न आवश्यक छ ।

समाधान के हुन्

क. समाजमा विद्यमान यस्ता विकृत संस्कारहरू किन र कसरी निर्माण भए भन्ने कुरा पहिचान गर्दै समाधानका उपायबारे गम्भीर छलफल गर्ने बेला आएको छ । कारण र परिणामबीच निश्चित सम्बन्ध हुन्छ, जसलाई खोजी, विश्लेषण र खुट्याउन सकिन्छ । अहिले देखिएका साना समस्याहरू वास्तवमा ठूला समस्याका अंग हुन् । ती समस्याहरू, जसले हाम्रो समाज र देशलाई नकारात्मकतातर्फ डोर्‍याइरहेका छन्, तिनलाई नजरअन्दाज गर्नुहुँदैन । समस्याहरूको जरा पहिचान गरी उपयुक्त समाधान निकाल्न सकिएन भने, साना समस्या विकराल रूप लिन सक्छन्, जसले समाजलाई अराजक बनाउने छ ।

ख. शिक्षा भनेको जीवन उपयोगी ज्ञान, नैतिकता, आचरण, प्रविधि, सीप र सही मनोवृत्ति विकास गर्ने प्रक्रिया हो । यसले ज्ञान, समुचित आचरण, प्राविधिक दक्षता र सामाजिक मूल्यहरूको विकाससँगै व्यक्तिलाई समाजसँग जोड्ने माध्यमको रूपमा कार्य गर्दछ । शिक्षा औपचारिक (विद्यालय, महाविद्यालय र विश्वविद्यालय) र अनौपचारिक (परिवार, समाज र परिवेश) माध्यमबाट प्राप्त हुन्छ । यसले व्यक्तिलाई इतिहासको ज्ञान दिन्छ, व्यक्तित्व विकासमा मद्दत पुर्‍याउँछ र जिम्मेवार नागरिक बन्न आवश्यक सीप र ज्ञान प्रदान गर्छ ।

ग. तसर्थ, उल्लिखित समस्याहरूको मूल जड हाम्रो शिक्षानीति र शिक्षण प्रणालीमा नै रहेको देखिन्छ । शिक्षानीतिको निर्माण र कार्यान्वयनमा सरकार, राजनीतिक नेतृत्व, शिक्षाविद्, शिक्षक, परिवार र समाज सबैको भूमिका रहन्छ । अतः यस समस्याको जिम्मेवारी सबैमा बाँडिएको छ । शिक्षा नीति निर्माण गर्दा सबै बालबालिकालाई समान स्तरको शिक्षा प्रदान गर्ने सुनिश्चितता पहिलो प्राथमिकता हुनुपर्छ ।

घ. शिक्षाको प्रमुख उद्देश्य मानिसलाई आफ्नै जीवनसँग खुशी रहन सक्षम बनाउनु हो । नोम चोम्स्कीले भनेझैं, “शिक्षालाई नाफामूलक दृष्टिकोणबाट हेर्नुको सट्टा सामूहिक भलाइका लागि पहुँचयोग्य र समान बनाउनुपर्छ ।” यी विचारलाई मनन् गर्दै शिक्षालाई मानव जीवनको सार्थकता र खुशीका लागि योगदान दिन सक्षम बनाउनुपर्छ ।

. शिक्षा र स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रलाई प्रवेश गराउने अवस्थामा स्पष्ट नीति, मापदण्ड, निष्पक्ष र प्रभावकारी अनुगमन एवं सक्षम नियमनकारी निकायको स्थापना आवश्यक छ । शिक्षाले मानवीयता, प्रशन्नता र जीवनको सार्थकता बुझ्ने व्यक्तिहरू तयार गर्नुपर्छ । कार्ल मार्क्सको भनाइ, ‘हरेक व्यक्तिको स्वतन्त्र विकास सबैको स्वतन्त्र विकासको शर्त हो’ लाई आत्मसात् गर्दै बालबालिकालाई स्वतन्त्रता, आत्मसम्मान र आदर प्रदान गर्नुपर्ने वातावरण घरैदेखि निर्माण गर्नुपर्छ ।

च. हाम्रो शिक्षानीति, विद्यालय, महाविद्यालय र विश्वविद्यालयहरूको कार्यशैली र शिक्षण विधिमा परिवर्तनको आवश्यकता छ । व्यावहारिक र जीवन उपयोगी शिक्षालाई प्राथमिकता दिन आवश्यक छ, ताकि शिक्षार्थीले आफ्नो जीवनलाई समाज र देशका लागि सकारात्मक योगदान दिने ढंगले उपयोग गर्न सकुन् ।

छ. शिक्षाले केवल सैद्धान्तिक ज्ञान मात्र होइन, व्यावसायिक र व्यावहारिक ज्ञान र सीप प्रदान गर्नुपर्छ । यसले शिक्षार्थीलाई अरू व्यक्तिहरूका आवश्यकताप्रति पनि संवेदनशील, सहानुभूतिपूर्ण र सामाजिक रूपमा उत्तरदायी बनाउनुपर्छ । यस्तो शिक्षाले समाज र देशलाई समृद्धिको बाटोमा लैजान सक्षम बनाउने व्यक्ति निर्माण गर्न मद्दत गर्दछ ।

संक्षेपमा, हाम्रो शिक्षा प्रणालीले इमानदार, सक्षम र समाजमा सकारात्मक योगदान गर्न सक्ने व्यक्तिहरू तयार पार्नुपर्छ । व्यावहारिक शिक्षा, सामाजिक उत्तरदायित्व र सृजनात्मकतालाई प्रोत्साहन गर्दै शिक्षालाई बालबालिकाको समग्र विकासमा केन्द्रित गरिनुपर्छ । यसरी मात्र समाजका समस्याहरूको समाधान गर्दै देशलाई समृद्ध बनाउन सकिन्छ ।

(लेखक पश्चिमाञ्चल क्याम्पस, पोखराका सह-प्राध्यापक हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?