
४ पुस, काठमाडौं । त्रिविका स्ववियु सचिव सिद्धान्त भट्ट ३५ बुँदे माग राखेर २४ सै घण्टा उपकुलपति प्राडा केसरजंग बरालको कार्यकक्ष अगाडि ढोकामा बसेको ९ दिन भयो । उनी धर्ना बसेकै ठाउँमा साथीहरूले खाना ल्याइदिन्छन् र राति पनि सँगै बस्छन् ।
भट्ट माग सम्बोधन नभएसम्म धर्नामा बसिरहने बताउँछन् । ‘धर्नामा बसेको दोस्रो दिन भीसी सर, रेक्टर र रजिस्ट्रार सर आउनुभएको थियो । त्यसपछि आउनुभएको छैन,’ धर्नामा बसेका भट्टले भने ।
बिहीबार हामी उपकुलपति कार्यालय पुग्दा बराल कार्यकक्षमा थिएनन् । भीसी कार्यालयको प्राङ्गणदेखि कार्यकक्ष अगाडिसम्म एमाले निकटका विद्यार्थीहरू थिए ।
उपकुलपति बराल यतिबेला पोखरामा छन् । अनलाइनखबरले उपकुलपति बराललाई सोध्यो, ‘तपाईको ढोकै अगाडि विद्यार्थी धर्नामा रहेछन् नि ?,’ उपकुलपति बरालले छोटो जवाफमा भने, ‘प्रजातन्त्रमा जे गर्न पनि छुट छ नि !’
धर्नामा बसेको दोस्रो दिन उपकुलपति बरालले वार्ता समिति बनाएको र स्वास्थ्यको ख्याल गर्न भनेको भट्टले भने ।
तर ९ दिन पुग्दा पनि आफ्नो माग सम्बोधन नभएको उनले गुनासो गरे । ‘भीसी सरलाई फोन गरेको उठाउनुभएन । रजिस्ट्रार केदार प्रसाद रिजाल र रेक्टर खड्ग केसी सरले वार्ता समितिसँग कुरा गर्नु भनेर म्यासेज गर्नुभयो,’ भट्टले भने ।
त्रिविका सहप्राध्यापक प्रमोद पौडेलको संयोजकत्वमा वार्ता समिति बनाइएको छ । समिति बनाएपछि माग सम्बोधन हुने विश्वास उनको थियो ।
‘समितिले माग पूरा गर्ने आधार देखिएन । अधिकार नै भएको समितिले कसरी माग सम्बोधन गर्न सक्छ,’ भट्टले भने, ‘समितिसँग एकपटक कुरा भयो । त्यसपछि संवादै भएको छैन ।’
गत मंसिर २७ गते त्रिविको सभा थियो । त्यसकै अघिल्लो दिनबाट भट्टले धर्ना सुरु गरेका हुन् । सोही समयमा त्रिविको डिन नियुक्तिको विषय पेचिलो बनेको थियो ।
एमाले निकटका प्राध्यापक डिन नबन्ने स्थिति आएपछि धर्नामा बसेको उनलाई आरोप लाग्यो । उनी एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु त्रिविका अध्यक्ष पनि हुन् । तर भट्ट भने डीनको विषयलाई लिएर आफू धर्नामा नबसेको दाबी गर्छन् ।
‘३५ बुँदे मागलाई छायाँमा पार्न डिनको विषय जोडियो । डीन भागबन्डासँग जोडेर हेर्नुको औचित्य छैन । शैक्षिक सुधारको माग राखेर धर्नामा बसेको हुँ,’ उनले भने ।
कुनै विद्यार्थी संगठनको हैसियतमा नभई स्ववियु सचिवको रूपमा धर्नामा बसेको पनि उनले बताए । ‘स्ववियू सभापतिलाई पनि धर्नाको विषयमा जानकारी गराएको छु । संगठनको हैसियतमा होइन । मलाई मत दिएर जिताउने विद्यार्थीको हक हितका लागि स्ववियु सचिवको रूपमा धर्नामा बसेको हुँ,’ उनले भने, ‘स्ववियुका अरु साथीहरूको पनि सहयोग छ ।’
संगठनभन्दा माथि उठेर विद्यार्थीको माग उठाएको उनको दाबी छ । ‘कुन माग विश्वविद्यालयको हानीमा छ, त्यो भन्नु भयो भने फिर्ता लिएर जान्छौं । विश्वविद्यालय बिगार्न धर्नामा बसेको होइन,’ उनले भने ।
उपकुलपति बराल धर्नामा बसेका भट्टको मागको विषयमा वार्ता समितिले काम गरिरहेको बताउँछन् । ‘कति माग पूरा भएका छन्, हुन्छन् । वार्ता समितिले काम गरिरहेको छ,’ उपकुलपति बरालले भने ।
समितिका संयोजक पौडल सचिव भट्टले उठाएको मागका विषयमा प्रतिवेदन बनाएर पदाधिकारीलाई बुझाएको बताउँछन् ।
‘मागका विषमा यो यो काम गर्न सकिन्छ भनेर रिपोर्ट बुझाएका छौँ’ उनले भने, ‘पदाधिकारीहरूले थप छलफल गर्ने भन्नुभएको छ ।’
विद्यार्थी संगठनको दबाब
बिहीबार दिउँसो उपकुलपति कार्यालय अगडि नै एमाले निकट विद्यार्थी संगठनले पत्रकार सम्मेलनको आयोजना गरेको थियो । त्यहाँ अनेरास्ववियुका अध्यक्ष समिक बडालले ३५ बुँदे मागका विषयमा उच्चस्तरीय समिति बनाएर समाधान गर्न त्रिवि नेतृत्वलाई दबाब दिए ।
‘भीसी सरलाई बाहिर राखेर धर्ना बसेको छैनौं । काम गर्न खुला राखेर बसेको हो । पदाधिकारीलाई निषेध गरेका छैनौं’ अध्यक्ष बडालले भने, ‘उच्चस्तरीय समिति बनाएर सम्बोधन गर्न नखोजिएको देखिन्छ ।’
३५ बुँदे राजनीतिक माग नरहेको अध्यक्ष बडालले बताए । ‘शैक्षिक माग छन् । त्रिवि सुधारको माग हो, राजनीतिक होइन । विद्यार्थीको जायज माग छ । अप्रिय कदम उठाउनु नपरोस्,’ उनले चेतावनी दिए ।
अध्यक्ष बडालले क्यालेन्डर अनुसार स्ववियुको चुनाव समयमै गर्न पनि माग गरे ।
‘तोकिएको समयभित्र स्ववियु चुनावका लागि सहयोग गर्न तयार छौं । स्ववियु चुनाव समयमा सम्पन्न भएन भने गुरुहरूमाथि प्रश्न उठ्छ । गुरुहरूलाई सचेत गराउन यही प्राङ्गणमा पत्रकार सम्मेलन गरेका हौँ,’ बडालले भने ।
त्रिविको क्यालेन्डर अनुसार १५ फागुनभित्र स्ववियु चुनाव गर्नुपर्ने हुन्छ ।
प्रतिक्रिया 4