५ पुस, काठमाडौं । रोजगारीको सिलसिलाको साउदी अरब पुगेका एक ३६ वर्षीय युवकलाई मंकीपक्स संक्रमण पुष्टि भएको छ ।
बिहीबार (हिजो) मात्रै साउदीबाट फर्किएका ती युवा विमानस्थलबाट सिधै अस्पताल पुगे । सुरुमा मेडिसिटी अस्पताल पुगेका उनी त्यहाँबाट चिकित्सकको सल्लाहपछि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकु पुगे ।
टेकुमा परीक्षणपछि उनको शुक्रबार दिउँसो मंकीपक्स पुष्टि भयो । अहिले उनको टेकु अस्पतालको आइशोलेसनमा उपचार भइरहेको छ ।
उपचारमा संलग्न एक चिकित्सकका अनुसार, सुरुमा गुप्ताङ्ग नजिकै साना–साना बिमिरा देखिएपछि उनी आत्तिएका रहेछन् ।
‘गुप्ताङ्ग नजिकै साना–साना बिमिरा देखिएपछि उहाँ नेपाल फर्कनुभएको रहेछ,’ ती चिकित्सक भन्छन्, ‘अहिले ज्वरो कम भएको छ । अवस्था सामान्य नै छ ।’
एसपक्स रोग मंकीपक्स भाइरसबाट हुने एक किसिमको सरुवा रोग हो । एमपक्स मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्ने गर्दछ ।
मंकीपक्स भेटिएका ती युवालाई कसरी यो रोग सर्यो भन्नेबारे अहिलेसम्म खुलिसकेको छैन् । यद्यपि कुनै व्यक्तिसँगको असुरक्षित यौनसम्पर्क वा अन्य केही कारणले यस्तो संक्रमण देखिएको हुनसक्ने उपचारमै संलग्न अर्का एक चिकित्सक बताउँछन् ।
शरीरमा बिमिरा देखिन थालेपछि सुरुमा ज्यान तात्तिएको र ज्वरो बढेको ती युवाले चिकित्सकलाई सुनाएका छन् ।
शरीरका विभिन्न ठाउँमा एकपछि अर्को बिमिरा बढ्दै जान थालेपछि उनले साउदीमै एक अस्पतालमा चिकित्सकलाई पनि देखाए । शरीर तात्तिँदै गएपछि उपचारका लागि नेपालनै सहज हुने ठानेर कम्पनीमा कुराकानी गरेर फर्किएको ती युवाले बताएका छन् ।
चिकित्सकहरूले असुरक्षित यौन सम्पर्कबाट संक्रमण सरेको हुनसक्ने अनुमान लगाएका छन् । तर, यसबारे अहिले नै सबै खुलिसकेको छैन ।
टेकु अस्पतालमा गरिएका सबै रिपोर्टहरू पनि आइसकेका छैनन् । ‘अहिले नै कारणबारे सबै भन्नसक्ने अवस्था छैन,’ एक चिकित्सकले भने, ‘रिपोर्ट आएपछि थप प्रष्ट होला ।’
यो पोक्सभिरिडे परिवारको अर्थोपक्स भाइरस जिनस अन्तर्गत पर्ने डबल स्ट्रन्डेड डीएनए भाइरस हो । मंकीपक्सका लक्षण बिफरसँग मिल्दाजुल्दा हुन्छन् । यद्यपि बिफरको तुलनामा मंकिपक्स कम गम्भीर र विरलै घातक हुन्छ ।
विश्वव्यापी बिफर खोपको अन्त्यपछि मंकीपक्स मध्य, पूर्वी र पश्चिम अफ्रिकामा निरन्तर रूपमा देखा परिरहेको छ । मंकीपक्सले २०२२–२०२३ मा विश्वव्यापी प्रकोपको रूप लिएको छ । तर यो भाइरसको प्राकृतिक भण्डार अज्ञात छ । विभिन्न साना स्तनपायी जनावर (लोखर्के, बाँदर) बाट भाइरस सर्ने गर्छ ।
चिकित्सकका अनुसार संक्रमण भएको ५ देखि २१ दिनसम्ममा ‘मंकीपक्स’ को लक्षण देखिने गर्छ । ज्वरो आउनु, टाउको र जीउ दुख्नु, जाडो लाग्नु, लिम्फ ग्रन्थीहरू सुन्निनु यसका प्रारम्भिक लक्षण हन् ।
यस्तो लक्षण देखिएको १ देखि ३ दिनसम्ममा अनुहार तथा शरीरका अन्य भागमा बिमिराहरू देखिन थाल्छन् र चिलाउँछन् । पछि पानी फोका हुँदै, फुट्दै, सुक्दै जान्छन्, तर दाग बसिरहन सक्छ ।
मंकीपक्सका गम्भीर बिरामीमा सेकेन्डरी इन्फेक्सन, ब्रोन्कोनिमोनिया, सेप्सिस, इन्सेफलाइटिस र कर्नियाको संक्रमणले दृष्टि गुम्ने समेत हुन सक्छ ।
प्रतिक्रिया 4