+
+

श्रेयाले कोरेको मानवताको मार्गचित्र  

श्रेयाले उपहारमा पाएको जमिन बेचेर रकमको अधिकांश हिस्सा हात्तीहरूको भोजन, सफा पानी र उपचारमा खर्च गरिन्। उनी चितवनमै बस्न लागिन् । हरेक साँझ उनी आफ्ना प्रिय प्राणीहरूलाई भेट्न जान्थिन्, उनीहरूलाई माया र सान्त्वना दिन्थिन्। उनको ममता र सेवाको चर्चा वरपर समुदायमा पनि फैलियो, र मानिसहरूले उनको समर्पणबाट प्रेरणा लिन थाले।

दीपक ओली दीपक ओली
२०८१ पुष ९ गते ९:५२

सवारी यात्रुले पैदल यात्रुलाई र पैदल यात्रुले सवारी यात्रुलाई आँखा तर्दै र मनमनै गाली गर्दै हिंड्नु हाम्रा शहरहरूमा सामान्य झैं भएको छ । दुवै थरीलाई एक-अर्कोले नियम नबुझेको, अधैर्य भएको वा असभ्य भएको ठान्छन् । तर श्रेया भने उनको दिदीसँग भन्छिन् कि ! ‘जतासुकै बाटो काट्दै हिंड्ने पदयात्री वा पैदलयात्रीकै बाटोमा घुसेर मोटर वा मोटरसाइकल चलाउनेसँग हामी रिसाउनुहुँदैन दिदी !

हामी जुन समाजमा बस्यो त्यहींका मानिसलाई प्रेम गर्न जान्नुपर्छ । हाम्रो समाजको चेतनास्तर नै हाम्रो वास्तविकता हो, हाम्रो पदचाप हो । रिसाउँदा आफ्नै मन पीडित हुने हो ।’ श्रेया को र कस्ती हुन् ? उनको मानवताको परिभाषाभित्र के-के पर्छन् होला भन्ने कुराको चर्चा यो लेखले गर्नेछ । पहिला मानवताको बारेमा थोरै चर्चा, हामीले गरिराखेका अभ्यास र सन्दर्भहरूलाई केही जोडौं ।

खासमा मानवता भनेको के हो त? यो शब्द यति अमूर्त (अब्स्ट्र्याक्ट) छ कि यो शब्दको सर्वमान्य परिभाषा पाउन कठिन छ । मानव मात्रको बृहत्तर हितलाई ध्यान दिनु मानवता हो भन्ने एकथरी छन् । पृथ्वी यहाँ बस्ने सबै प्राणीको साझा घर हो ।

अरू प्राणीको पीडा र चीत्कारमा मान्छे जातिको सुख-सुविधा-सोख प्राप्ति हुन्छ भने त्यो मानवता हुन सक्दैन । त्यसैले सहअस्तित्वको भावना लिएर अरू प्राणीप्रति पनि प्रेम र करुणा देखाउनुपर्छ, उनीहरूको पीडालाई पनि महसुस गर्नुपर्छ भन्ने अर्का थरी छन् । अझ केही मानिसहरूले वनस्पतिमा पनि जीवन तत्व हुने भएकोले उनीहरूमा समेत प्रेम र करुणा देखाउनुपर्छ भन्न लागेका छन् ।

पीडा कसलाई हुँदैन र ? के ठूला जन्तुलाई मात्र पीडा हुने हो ? साना एककोषीय जीवहरूलाई त हामीले श्वासप्रश्वास गर्दा पनि सायद मारिराखेको हुन्छौं, के अब श्वास लिन छोड्ने ? त्यसैले यस्तो प्रकारको पीडाको बारेमा बकम्फुसे कुरा गरेर अनावश्यक बहस छेड्नु ठिक होइन ।

मानिसकै हालत खराब भएको बेलामा अरूको पीडाको कुरा गर्ने बेला भएको छैन भन्नेहरू पनि एक हिसाबले सही नै लाग्छन् । तर के हामीलाई अप्ठ्यारो पर्‍यो, मन पर्‍यो वा तृष्णा जाग्यो भन्दैमा अरूमाथि अन्याय गरिरहने? सक्नेले नसक्नेलाई र बोल्नेले नबोल्नेलाई गर्ने थिचोमिचो र होची अर्घेली मत्स्य न्याय नै होइन र ?

यसको बारेमा मानिसले नबोले कसले बोल्ला त ? के मानिसको चेतनस्तरले अरु सह-अस्तित्व भएका प्राणीहरूको पीडालाई महसुस गर्न सक्दैन र ? जब हामी थाहा हुँदाहुँदै पनि अरूको पीडा थाहा नपाए जस्तो अभिनय गर्न लाग्छौं तब पशु-पन्छी मात्र होइन कि मान्छे माथि नै जाइलाग्न शुरु गर्छौं मिसाइल र आधुनिक हतियार लिएर, आफूलाई त्यसबाट फाइदा हुन्छ भन्ने लाग्छ भने ।

स्टाटिसा डटकमको सन् २०२३ को एक रिपोर्टमा उल्लेख गरे अनुसार शहरी चीनमा मात्रै लगभग ५ करोड १० लाख कुकुर र ६ करोड ५० लाख बिरालो ‘पेट’ को रूपमा पालिएका छन्, जुन संख्या नेपालको जनसंख्या भन्दा लगभग ४ गुणा बढी हो । ती ‘पेट’ हरूले चिनियाँहरूलाई खुसी र प्रेम मात्रै दिएका छैनन् कि उनीहरूको एक्लोपन र नीरसतालाई पनि हरण गरिदिएका छन् ।

तर एक अर्को रिपोर्टमा यसो पनि भनिएको छ कि काटेर खान भनेर बेचिएका धेरै कुकुरलाई केही अधिकारकर्मीहरूले किनेर चीनबाट अरू देशमा लगेर ‘पेट’ बनाएका छन् । चीनमा कुकुरको मासुको ठूलो बजार छ । त्यसो त कोरिया लगायत थुप्रै एसियाली र युरोपका स्विट्जरल्याण्ड लगायत देशहरूको केही भागहरूमा कुकुरको मासु खाइन्छ ।

मासु जुनसुकै जनावरको खाए पनि कसैको बध गरिनै पर्छ । त्यसरी बध गर्ने क्रममा उनीहरूलाई कमभन्दा कम पीडा दिइनुपर्छ भन्ने आधुनिक मानव मूल्य र मान्यताले स्वीकार गरेको देखिन्छ ।

नेपाल लगायत धेरै देशका कानूनमा पशु-पक्षीलाई काम लगाउँदा वा उनीहरूबाट मासु प्राप्त गर्दा उनीहरूलाई गरिनुपर्ने व्यवहारको बारेमा प्रस्ट व्यवस्था गरिएको पाइन्छ । प्राय:जसो देशका नियम-कानूनले कमभन्दा कम पीडा दिइनुपर्ने कुरालाई जोड दिएको देखिन्छ ।

उनीहरूलाई मार्दा मात्रै होइन कि पाल्दा वा काम लगाउँदा हामीले अझ बढी पीडा दिइराखेको हुन्छौं । हाम्रो स्वादको लागि अरूको जीवन हरिनु आफैंमा निर्दयता होइन र ? अझ त्यसमाथि कतिपय अवस्थामा उनीहरूलाई तड्पाएर मार्नुमा हामी रोमाञ्चकता महसुस गर्छौं । यो कस्तो खालको मानवता वा सभ्यता होला ?

कतिपय हिमाली र विकट ठाउँमा खानको लागि मासु मात्र उपलब्ध हुने अवस्था रहेछ भने यस अवस्थामा आवश्यकताको सिद्धान्त आकर्षित भई त्यस परिस्थितिलाई फरक ‘लेन्स’बाट हेरिनुपर्छ होला । जीवन धान्न सबै जीवले जस्तोसुकै कसरत गरेको देखिन्छ र त्यस बखत अरूको जीवन हरण गरिंदा पनि त्यसलाई मूल्यांकन गरिने मापदण्ड फरक पर्न सक्छ ।

आधुनिक विश्वले यातायातको विकासमा जुन फड्को मारेको छ, त्यसले मानिसलाई भन्दा यातायातमा प्रयोग गरिने जनावरलाई ठूलो पीडाबाट मुक्ति दिएको छ भन्दा अतिशयोक्ति नहोला । समाज जति अविकसित छ वा हामीले काम र यातायातको लागि जति धेरै घोडा, खच्चड, गोरु, राँगा वा ऊँटको प्रयोग गरिराखेका छौं त्यति नै ती जनावरहरू बढी प्रताडित भएका हुन्छन् ।

दुर्भाग्यवश, श्रेयालाई एक दिन क्षयरोग (टीबी)ले थाहै नपाई समात्यो। रोगले उनलाई कमजोर बनायो, तर उनले परिवारलाई आफ्नो स्वास्थ्यको बारेमा धेरै कुरा गरिनन्, किनकि उनलाई लाग्यो, यसले उनलाई हात्तीहरूलाई भेट्न जानबाट रोक्न सक्छ। उनको स्वास्थ्य दिन प्रतिदिन बिग्रिंदै गयो, तर उनको समर्पण कहिल्यै घटेन

डोल्पा-हुम्ला जस्ता विकट उकालाहरूमा जब एक किशोरलाई घोडा वा खच्चरको मालिक वा चालक बनाइन्छ उसको आफ्नो मजाको लागि ती निर्दोष प्राणीहरूले कति सास्ती भोग्नुपर्छ होला ? थकाइ र श्वासप्रश्वासको गति बढेर मुटु फुट्ला जस्तो भइसकेको हुन्छ तर उसले नाक ठोकिने उकालोमा मालिकको आनन्द र मजाको लागि दौडिनै पर्छ ।

घोडाको बुझाइबाट यो दुनियाँ कस्तो देखिन्छ भन्ने कुरालाई बडो मार्मिक ढङ्गबाट लेखिएको ‘ब्ल्याक ब्युटी’ भन्ने किताबले जसरी घरपालुवा जनावरहरूको मर्म उजागर गरेको छ, त्यसलाई हामीले थोरै मात्रै हृदयंगम गर्न सक्यौं भने पनि हाम्रो भावनात्मक बौद्धिकता (इमोसनल इन्टेलिजेन्स) को यौटा पर्दा खुल्थ्यो कि !

हिन्दु, बुद्ध, इस्लाम लगायत धेरै धार्मिक अनुयायीहरूको हार्दिक र सहिष्णुतापूर्ण शहरको ताज पहिरेको काठमाडौंका हामी बासिन्दाहरूले पशुलाई दिएको पीडाको वर्णन गरेर नसकिने खालको छ । बढी दूध प्राप्तिको लागि गाईको बाच्छालाई जन्मिनासाथ मार्ने मात्रै होइन कि त्यही बाच्छाको भित्री अङ्ग निकालेर त्यसमा भुस भरी सिंगो बाच्छो देखाएर गाईबाट धेरै दूध निकाल्ने जुगाड निकाल्ने धेरै गोठ छन् काठमाडौंमा ।

अझ कतिले त तुरुन्तै बाछो मर्दा गाईले दूध नदिने भएकोले बाछोलाई केही नदिई बाँचुन्जेलसम्म नजिकै बाँधिदिने गरेको पनि धेरै देखिन्छ । त्यो कलिलो बाच्छो खान नपाएको कारणले नै केही दिनमा कराई कराई भोकले तड्पँदै मर्छ ।  त्यतिखेर हामी बुद्धका वा ऋषिमुनिका अनुयायीहरू हौं भन्ने कुरा कसरी सजिलै बिर्सन्छौं ? हाम्रा करुणा, दया, माया जस्ता विशेषता कता गायब हुन्छन् होला ?

जापान, कोरिया, चीन लगायत देशहरूमा सर्प र माछालाई जिउँदै फ्राई गरिन्छ । भियतनामको एक व्यक्तिले कुकुरलाई भित्तामा झुण्ड्याएर जिउँदै साप्रातिरबाट काटिरहेको एउटा दृश्य त केही वर्ष अगाडि भाइरल नै भएको थियो । सर्पको टाउको समातेर सिंगो जीउ तातो तेलमा ‘डिपफ्राई’ गरेका दृश्य सामाजिक सञ्जालमा छरपस्ट देख्न सकिन्छ । विकास र मानवताले ओतप्रोत र गौरवान्वित युरोपियनहरूले पनि पशुहरूलाई दिने पीडाका श्रेणीहरू वर्णन गरेर नसकिने खालका छन् ।

एउटा उदाहरण नै लिऊँ : फ्रान्स लगायत थुप्रै युरोपियन देशहरू, अमेरिका र चीनमा हाँसको बोसोले जेलिएको कलेजो (फ्याट्टीलिभर)नभएमा क्रिसमस नै खल्लो हुने वा नमाने सरह हुने प्रचलन छ । फ्रान्समा ‘फ्वा ग्रा’ वा बोसो जेलिएको कलेजो प्राप्त गर्न हाँसहरूलाई हप्तौं अगाडिदेखि विभिन्न प्रोटिन र भिटामिनहरू मुखमा कोचेर खुवाइन्छ । यसो गर्दा हाँसको कलेजो यसको सामान्य आकारको १० गुणासम्म वृद्धि हुन्छ भने सो हाँसले असिम पीडा भोग्नुपर्ने हुन्छ । फ्रान्सले यो आफ्नो २५०० वर्ष पुरानो चलन भएको हवाला दिंदै सरकारी रूपमै यस प्रथाको निरन्तरता र संरक्षण गरेको छ ।

नेपालको अपर डोल्पा लगायतका केही हिमाली क्षेत्रमा मासुको लागि याक र चौंरी गाई जस्ता जनावरलाई मार्ने एउटा परम्परागत तरिका छ, जुन अत्यन्तै अमानवीय र पीडादायी छ। यो प्रक्रियामा जनावरको खुट्टा बाँधेर चलमलाउन नदिने अनि नाक र मुख कसिलो गरी बाँधेर श्वासप्रश्वास रोक्ने गरिन्छ, जसले गर्दा तिनीहरू सास रोकिने कारणले मर्छन्, लामो समयसम्म तड्पँदै।

स्थानीयहरू भगवान् बुद्धको शिक्षामा आधारित भएर मासु प्राप्त गर्दा रगत नझार्नुपर्ने भन्ने कुरा मान्छन्, र जनावरलाई श्वास रोकेर मार्नु उचित ठान्छन्। दुःखको कुरा, यस विधिले २० देखि ४५ मिनेटसम्म लामो समय जनावरलाई अत्यन्तै अकल्पनीय पीडा दिन्छ l लाग्छ, यसको निहित अर्थले बुद्धका करुणामय शिक्षाहरूलाई गलत व्याख्या गरिरहेको छ।

बुद्धको मुख्य दर्शन सबै प्राणीप्रति करुणा र अहिंसामा आधारित छ। उहाँका शिक्षाहरूले कुनै पनि प्राणीलाई पीडा दिन, त्यसमा पनि लामो समयसम्म कष्ट दिने प्रक्रियालाई समर्थन गर्दैनन्। तथापि, यस अभ्यासले यी मूल्यहरूको गलत व्याख्या गर्दै मानवीय सुविधा अनुकूल बनाएको छ। “रगत नझार्ने” भन्ने नियममा मात्र ध्यान केन्द्रित गर्दा “अल्पतम वा अतिकम पीडा दिने” भन्ने मर्मलाई बिर्सिएको छ, जसले बुद्धका शिक्षालाई आफ्नै उपभोगका लागि प्रयोग गर्ने झैं देखिन्छ।

यो पीडादायी तरिकाले बौद्ध धर्मको आधारभूत सिद्धान्तलाई मात्र होइन, आधुनिक मानवीय मूल्यहरूलाई पनि चुनौती दिन्छ। यस्तो अभ्यासले सांस्कृतिक मान्यता र प्रथाहरूमा गहिरो आत्मसमीक्षा आवश्यक छ भन्ने सन्देश दिन्छ। करुणामय दृष्टिकोणबाट यी परम्परागत मान्यतालाई पुनः मूल्यांकन गरेर मासु प्राप्त गर्ने अन्य मानवीय तरिकाहरू अपनाउने वा बुद्धले देखाउनुभएको दयालु मार्गसँग मिल्ने विकल्पहरूको खोजी गर्न सकिन्छ।

मासु उपभोगका विकल्पहरू धेरै छन् जुन धेरै लेख तथा प्रवचनहरूमा धेरै महानुभावले हजारौं पटक चर्चा गरी नै राख्नुभएको छ त्यसैले यहाँ मासुको विकल्पको बारेमा केही लेख्नुभन्दा मासुकै स्वाद खोज्ने व्यक्तिहरूलाई लक्षित गरेर ‘क्लिन मिट’ बारेमा केही चर्चा गर्ने प्रयास गरिएको छ ।

‘क्लिन मिट वा सफा मासु’ जसलाई ल्याबमा उत्पादन गरिएको, संस्कारित वा कोष-आधारित मासु पनि भनिन्छ । यो एउटा यस्तो मासु हो जुन पशुपालन र वध नगरी जनावरका कोषहरूलाई वास्टेम सेल वा मांसपेशी कोषहरू नियन्त्रित वातावरणमा बढाएर उत्पादन गरिन्छ।

यसलाई “क्लिन” भनिनुको कारण परम्परागत मासु उत्पादनसँग जोडिएका नैतिक, वातावरणीय र स्वास्थ्य सम्बन्धी समस्याहरू यस विधिमा नहुनु हो। यो प्रविधिले पशु कल्याण, वातावरणीय स्थिरता र जनस्वास्थ्यसँग मेल खाने गरी वास्तविक मासु उपलब्ध गराउन सक्छ। यो प्रक्रियाबाट उत्पादन भएको मासु परम्परागत मासुसँग संरचना, स्वाद र पोषणमा समान हुन्छ।

‘क्लिन मिट’ उत्पादनमा कम जमिन, पानी र ऊर्जा प्रयोग हुने भएकाले यसको कार्बन फुटप्रिन्ट धेरै कम हुन्छ। यसले पशुहरूलाई पाल्नु र मार्नुपर्ने आवश्यकता हटाउँछ, जसले गर्दा यो एक क्रूरतारहित विकल्प हो। ‘क्लिन मिट’लाई निर्जलित वातावरणमा उत्पादन गर्न सकिन्छ, जसले जीवाणु संक्रमण र जनावरबाट सर्ने रोगको जोखिम घटाउँछ।

केही मानिसहरू अरू प्राणीको सहजता र प्रेमको लागि आफ्नो जीवन नै दाउमा राखिराखेका छन् र केही मानिसहरू अरू प्राणीलाई बढीभन्दा बढी पीडा दिनुलाई आनन्द मान्दछन् । यति धेरै फरक-फरक बुझाइ भएका मानिस देख्दा श्रेयालाई कति अनौठो लाग्थ्यो होला ?

यद्यपि अहिलेको अवस्थामा ‘क्लिन मिट’ उत्पादनमा उच्च लागत, ठूलो मात्रामा उत्पादन गर्न कठिनाइ र नियामक अवरोध जस्ता चुनौतीह छन् तर निरन्तर अनुसन्धान र लगानीसँगै ‘क्लिन मिट’लाई दीर्घकालीन र नैतिक मासु उपभोगको मुख्य समाधानका रूपमा विकसित गर्न सकिन्छ। त्यसो त ‘क्लिन मिट’ प्रयोगशालामा उत्पादन गरिने भएकोले यसले ठूला-ठूला उद्योगीलाई फाइदा पुग्ने र स-साना फार्म र किसानको आम्दानीको स्रोत गुम्ने खतरा पनि रहन्छ ।

अर्कोतर्फ धर्मको कारणले वा पुण्य प्राप्तिको लालसा राखेर होइन कि अहिंसाकै लागि भनेर खाने स्वाद जिब्रोमा हुँदाहुँदै मासु त के अन्डा पनि हात नलगाउने पनि छन् हाम्रो समाजमा । मैले चिनेका एक मानिस छन्, जो लामखुट्टेलाई पनि मार्दैनन्, बरु धपाउँछन् ।

उनको कुरा ल्याउँदा अतिवादी पनि भइन्छ होला । तर यो पनि एउटा मानिसकै भावनाको कुरा भएकोले चर्चा गर्न सान्दर्भिक लाग्यो । उनी भन्छन् कि लामखुट्टेले हामीलाई दुखाउन वा रोग सार्न भनेर टोकेको होइन, उसको खाना खोजेको मात्र हो ।

लामखुट्टेलाई थाहा पनि छैन कि उसले खाना खाँदा मानिस भन्ने जातलाई के के असर परिराखेको छ भन्ने कुरा, जसरी हामीलाई साग टिपेर खाँदा कुनै थाहा वा मतलब नै हुँदैन कि सागलाई दुख्यो कि दुखेन भनेर । हामी पीडा हुन्छ भनेर जान्दा-जान्दै त मारेर खान कुनै संकोच मान्दैनौं भने त्यो सूक्ष्म प्राणीलाई अरूको दुखाइ वा पीडाको के अन्दाज र ?

अब कुरा गरौं श्रेयाको । हाम्रो समाजमा श्रेया जस्ता प्रेमका प्रतिमूर्ति पनि छन् जसको मन सबै जीवजन्तुप्रति गहिरो माया र करुणाले भरिएको छ। सानैदेखि, श्रेयालाई हरेक प्रकारका जनावरहरू मन पर्थ्यो-सानो कीरा-माकुरा बचाउनदेखि बाटामा भेटिने कुकुर र कछुवालाई माया गर्नमा समेत उनको मन अडिन्थ्यो। उनका बुबा उनको करुणा भावलाई देखेर अचम्म मान्थे र विश्वास गर्थे कि उनी कुनै दिन आफ्नो मायाले संसारलाई थप सुन्दर बनाउने छिन्।

श्रेयाको विवाहमा उनका आमा-बुबाले उनलाई एउटा जमिन उपहार दिए, जसले उनलाई भविष्यमा आर्थिक योजना बनाउनको लागि एउटा आधार तय गर्न सक्थ्यो । तर त्यसो भएन किनकि श्रेयाको मनमा हामीले सोच्ने भन्दा फरक कुरा चल्थ्यो । उनको श्रीमान् ‘युगल’पनि उनको ममतापूर्ण भावनालाई पूर्णरूपले समर्थन गर्थे। उनीहरू एउटा त्यस्तो जोडी हुन्, जो एकअर्काको सपनामा विश्वास गर्छन् र करुणालाई जीवनको मूल्य मान्छन्।

एक दिन, श्रेया र उनका श्रीमान् चितवनको सौराहा घुम्न गए। त्यहाँ, पर्यटकहरूको लागि प्रयोग गरिएका हात्तीहरूलाई उनीहरूले गम्भीर अवस्थामा देखे। ती विशाल प्राणीहरू थाकेका र कमजोर देखिन्थे। केही हात्तीलाई राम्रोसँग खानपान र उपचार समेत नगरिएको थाहा पाएपछि, श्रेयाको मन दु:खेर आयो। त्यस रात उनले श्रीमान्‌सँग आफ्नो पीडा बाँडिन् र हात्तीहरूको लागि केही गर्न चाहेको कुरा बताइन्।

उनका श्रीमान्‌को पूर्ण समर्थनमा श्रेयाले त्यो उपहारमा पाएको जमिन बेचेर रकमको अधिकांश हिस्सा हात्तीहरूको भोजन, सफा पानी र उपचारमा खर्च गरिन्। उनी चितवनमै बस्न लागिन् । हरेक साँझ उनी आफ्ना प्रिय प्राणीहरूलाई भेट्न जान्थिन्, उनीहरूलाई माया र सान्त्वना दिन्थिन्। उनको ममता र सेवाको चर्चा वरपर समुदायमा पनि फैलियो, र मानिसहरूले उनको समर्पणबाट प्रेरणा लिन थाले।

दुर्भाग्यवश, श्रेयालाई एक दिन क्षयरोग (टीबी)ले थाहै नपाई समात्यो। रोगले उनलाई कमजोर बनायो, तर उनले परिवारलाई आफ्नो स्वास्थ्यको बारेमा धेरै कुरा गरिनन्, किनकि उनलाई लाग्यो, यसले उनलाई हात्तीहरूलाई भेट्न जानबाट रोक्न सक्छ। उनको स्वास्थ्य दिन प्रतिदिन बिग्रिंदै गयो, तर उनको समर्पण कहिल्यै घटेन।

मानिसहरूले प्रायः उनलाई ती हात्तीहरूसँग देख्थे, उनको उपस्थिति सदैव न्यानो, करुणामय र सहानुभूतिपूर्ण। त्यसो त यहाँनेर श्रेयाले गरे जस्तो आफ्नो रोग लुकाएर अन्य प्राणीको सेवा गर्नुपर्छ भन्न खोजिएको होइन र त्यो कुरालाई लेखकले समर्थन पनि गर्दैन । आफ्नो स्वास्थ्यलाई ध्यान नदिनु श्रेयाको गम्भीर गल्ती थियो ।

समयमै चिकित्सकसँग परामर्श नगरिएकोले जटिलता थपियो र उपचार हुन नसकी दुई महिना अगाडि ३४ वर्षको उमेरमा अन्ततः श्रेयाले यो संसार छोडिन्। तर उनको करुणामय माया र समर्पणको प्रभावले सायद ती निर्दोष जनावरलाई पनि प्रेमको जादु बुझाएर गएको छ ।

यद्यपि श्रेया अब शारीरिक रूपमा उपस्थित छैनन्, उनको आत्मा ती हात्तीहरूमा, उनका प्रेरणादायी कार्यहरूमा र साँझको शीतल हावामा बाँचिरहेको होला झैं लाग्छ, र जहाँ हात्तीहरू अझै पनि आफ्नो साथीको प्रतीक्षामा बसेका होलान्। के श्रेयाको नाम जस्तै भावना पनि श्रेष्ठ थियो ?

किन मानिसको समझमा यति धेरै फरक ? केही मानिसहरू अरू प्राणीको सहजता र प्रेमको लागि आफ्नो जीवन नै दाउमा राखिराखेका छन् र केही मानिसहरू अरू प्राणीलाई बढीभन्दा बढी पीडा दिनुलाई आनन्द मान्दछन् । यति धेरै फरक-फरक बुझाइ भएका मानिस देख्दा श्रेयालाई कति अनौठो लाग्थ्यो होला ? मानवतालाई साँचो रूपमा कसरी बुझ्ने होला ? उत्तर कोसँग होला ?

लेखकको बारेमा
दीपक ओली

डोल्पाको समाज, जीवन र सामाजिक द्वन्द्वबारे अध्ययनरत लेखक आर्थिक-सामाजिक विषयमा कमल चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?