
तराईं–मधेशमा जन्मे हुर्केको मान्छे म । पाठ्यपुस्तकमा छापिएको हिमाल कक्षाकोठामा देखेर पढेर हुर्किएँ । हामी नेपाली सानैदेखि नै हिमालको देश भन्ने कुराको गौरव बोकेरै हुर्किएका छौं । मलाई लाग्छ कि सबै नेपालीसँग आफूले एकपटक हिमाल चढ्न पाए हुन्थ्यो भन्ने सोच र सपना पक्कै हुन्छ ।
विगत एक/डेढ दशकयता जलवायु परिवर्तनको विश्वव्यापी चिन्ता, चासो र बहस बढी हुन थालेको छ । पृथ्वीको तापक्रम जुन गतिले बढिरहेको छ, त्योभन्दा अलि बढी नै गतिमा हिमालहरूमा तापक्रम बढेको समाचारहरू पढ्दै आयौं ।
समाचारमा सुनेको र भिडियोहरूमा हेरेको हिमालभन्दा प्रत्यक्ष रूपमा भोगेर, वस्तुस्थितिसँग निकट रहेर आफू सुसूचित हुनुपर्दछ भन्ने लाग्यो । । त्यसकारण, हिमाल चढ्नुपर्दछ भन्ने अलि अघिदेखि लागेको थियो । प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेपछि यो एउटा रहरभन्दा कर्तव्य बन्न गयो ।
पार्टी कार्यक्रमका क्रममा हिमाली जिल्लाहरू त पुगिएकै थियो । सोलुखुम्बु पुग्दा पनि खुम्बु क्षेत्र भने पुगेको थिइनँ । करिब ६ महिना अघि नै एकपटक खुम्बु पदयात्रामा जाने निर्धारण गरेको थिएँ । हिमाल त चढ्नै पर्दछ भनी निश्चय गरेको थिएँ । हिमाल चढ्ने कुराको टुंगो ६ महिना अघि गरे पनि सोच भने करिब दुई वर्ष अघि नै बनाएको थिएँ ।
हिमाल चढ्ने तयारी गर्दा पहिलो त आकांक्षा हुनुपर्यो । आकांक्षा हुनु र आँट हुनु फरक हो । आकांक्षासँग आँट भएर मात्रै भएन, अनुभवी साथीहरू पनि चाहियो । २/४ पैसा खर्च गर्ने क्षमता भएका साथीहरू पनि चाहियो ।
लोबुचे हिमाल चढ्ने निर्णय गरिसकेपछि ‘फिजिकल इस्टामिना’ बनाउनुपर्ने लाग्यो । बिहान एक घण्टा नियमित फुटसल खेल्न थालें । तागत बढाउन फुटसलले साथ दियो ।
तिहारलगत्तै जाने तालिकालाई परिमार्जन गर्नुपर्ने अवस्था स्थानीय तहको उपनिर्वाचनले गर्यो । उपनिर्वाचनमा केन्द्रीय तहबाट संयोजन गर्ने मेरो जिम्मेवारी थियो । उपनिर्वाचन सकिएपछि २१ मंसिरमा खुम्बु पदयात्रामा हिँड्यौं ।
२७ गते राति ११ः५० बजे लोबुचेको हाई क्याम्पबाट पैदल यात्रा सुरु गर्यौं । २८ गते बिहान ६ः४५ बजे ६ हजार १४५ मिटरको लोबुचे हिमाल सफल आरोहण गर्यौं । आरोहण दलमा म, कीर्तिमानी आरोही मिङ्मा शेर्पा, लाक्पा शेर्पासहित अनुसन्धानकर्ता प्रकाश लामिछाने, इन्जिनियर सुवास अधिकारी र पदम शर्मा थियौं ।
हिमाल चढ्दा साथीहरूले व्यक्त गरेको स्वर्गीय अनुभूति मेरो स्मरणमा छ । तेन्जिङ शेर्पा, पासाङ ल्हामु शेर्पा लगायतले त्यसबेला देखेको हिमाल र अहिले हामीले हेरिरहेको हिमाल बीचको फरक के होला ? साथीहरूसँग कुरा हुन्थ्यो । हाम्रो पुस्ताभन्दा २० वर्ष पछाडिको पुस्ताले प्राप्त गर्ने हिमाल कस्तो होला ? हामीले सुम्पिने हिमाल कस्तो होला ?
डोरी समातेका छौं, ओरालो झर्दै थियौं । सँगै भावी पुस्ताले देख्ने हिमालका बारेमा कुरा गर्थ्यौं । यदि पृथ्वीको रक्षा गर्नुछ भने सबैभन्दा पहिले बचाउनुपर्ने हिमाल हो ।
एकातिर, सेताम्मे देखिएको हिमाल छ, अर्कोतिर हेर्दा रित्तो पनि । वल्लो कोठामा भरी हिउँ, पल्लो खाली भएजस्तो । हिमाल संकटमा रहेको यसले गम्भीर संकेत गरेको छ ।
हिमालको अवस्था देखेपछि पूर्वप्रधानमन्त्री माधव नेपाललाई सम्झिएँ । उहाँले कालापत्थरमा मन्त्रिपरिषद्को बैठक राख्नुभएको थियो । विश्वव्यापी रूपमा ध्यानाकर्षण गराउने मन्त्रिपरिषद् बैठकबाट प्रयास गर्नुभएको थियो । राष्ट्रपति रामचन्द्र पौडेल कोप सम्मेलनमा पुगेको अवस्था र चित्रण पनि सम्झियौं ।
प्रत्यक्ष आँखाले साक्षात्कार गरेको कतिपय चित्र छन् । थुक्लाबाट लुबुचेको हाई क्याम्प जाँदै थियौं । बाटोमा चोलात्से र तबुचे नाम गरेका हिमालहरू देब्रेपट्टि थिए । यी दुई हिमालको बीचबाट गएको पहिरोले जोङ्लाबाट बगेर आएको नदीलाई पुरेको छ । त्यो नदी आफ्नो प्रवाहमा छैन अहिले । त्यो नदी हिमतालमा परिणत भएको छ ।
जलवायु परिवर्तनको असरले हिमतालहरूको आकार बढेर गयो । हिमतालहरू अस्थिर हुँदै गएका छन् ।
अलि अस्तिको घटना सोलुखुम्बुको थामेमा देख्यौं । जलवायु परिवर्तनले नै हिमपहिरो गई थामेमा क्षति पुर्यायो । हिमपहिरोले क्षति पुर्याउँछ । क्षति पुगेपछि काठमाडौं दौडिने कुरा हुन्छ । काठमाडौंले सक्नेसम्म सहयोग गर्छ । र, संसारका सामू दृश्य राख्छ ।
समाचार बन्नुपूर्व नै हिमपहिरो किन गइरहेको छ ? जलवायुले पुर्याएको असर र त्यसको सम्भाव्य कारणहरूको खोजी गर्नु राज्यको कर्तव्य हो । तापक्रम बढ्दै गयो भने हिमतालहरू विस्फोट हुन्छ भन्नका लागि वैज्ञानिक आधार खोजिरहनु पर्दैन । हिमताल फुट्दा त्यसले तल्लो क्षेत्रमा बस्नेलाई डुबाउँछ । घटना हुनुपूर्व राज्यको ध्यान पुग्नुपर्दछ ।
विश्वव्यापी रूपमा बढेको तापक्रमको असर हाम्रा हिमालहरूमा छ । सन् १८५० पछाडिको तथ्यहरूले के भन्छ भने बितेको दशकमा तापक्रम बढेर गएको छ । तापक्रम वृद्धिदर वार्षिक १.५ डिग्रीले भइरहेको छ । तापक्रम बढ्नु हुँदैन भन्ने संयुक्त राष्ट्रसंघदेखि कोपसम्म सबैको प्रयास छ । त्यसैले तापक्रम वृद्धिलाई नेपालले नयाँ ढंगले बहसको विषय बनाउनु पर्दछ ।
जलवायु परिवर्तनको गम्भीर असर नेपालले भोग्दै गर्दा अन्तर्राष्ट्रिय तहमा उठाउँदा यो मुद्दालाई घनिभूत बनाउन सकेका छैनौं । कार्बन उत्सर्जनका कारणले परेका असरहरू हामीले बेहोर्दै आएका छौं । सात समुद्र पारिको राष्ट्र वा नजिकका तीन अर्बका जनसंख्या भएका दुई देशले उत्सर्जन गरेका कार्बनका कारणले बढी समस्या भोगिरहेका छौं कि ?
दक्षिण र उत्तरमा दुई शक्ति राष्ट्रहरू छन् । संसारको पहिलो र दोस्रो अर्थतन्त्र बनाउने गरी अघि बढिरहेका छन् । उनीहरूको आर्थिक गतिविधिबाट लाभान्वित हुनुको साथै हाम्रो हिमालहरूको रक्षा पनि गर्नुछ । दुई राष्ट्रबाट उत्सर्जन भएको कार्बनको कारण परेको असरको सन्दर्भमा पनि घनिभूत र खुला छलफल गर्नुछ । हाम्रो हिमालमा परेको असर हाम्रा कारणले मात्रै होइन ।
जलवायु परिर्वतनको कारणले उत्पादन हुने जमिनमा हाल उत्पादन नभएको देखिन्छ । कतिपय स्थानमा भने उत्पादन सुरु भएको सकारात्मक कुरा पनि देखिन्छ । चिसो बढेको वा अत्यन्तै बढी तापक्रम बढेको पनि छ । नाम्चे बजारमा समेत गर्मी भएको भनेर सुनिन्छ । ३०–३५ डिग्रीको तापक्रमलाई सामान्य रूपमा लिन थालेका छौं ।
तर, हिमालको तल्लो भेगमा १०/१२ डिग्री तापक्रम पुग्दा असामान्य मानिन्छ । अनेपक्षित तरिकाले हिमपहिरो गएको छ । जीवजन्तुको रक्षामा चुनौती थपिएको छ । जुन औसतमा पृथ्वीको तापक्रम वृद्धि भइरहेको छ, त्योभन्दा बढी वृद्धि हिमाली क्षेत्रमा देखिन्छ । हाम्रो शान, मान, गौरव रहेको हिमाल विश्व सम्पदा पनि हो । मानव जातिको अस्तित्व माथिको संकट सुरुवाती विन्दु हिमाल हुनसक्छ ।
(कांग्रेस महामन्त्री शर्मासँग हिमाल आरोहणको सन्दर्भमा रहेर गरिएको कुराकानीमा आधारित)
प्रतिक्रिया 4