+
+

स्थानीय व्यवसायी भन्छन् : सरकार नै भैरहवा विमानस्थल राम्ररी चलाउन चाहँदैन

सरकारले बाहिर भिजिबिलिटीको कारण देखाए पनि खासमा भैरहवा विमानस्थल राम्रोसँग चल्दा काठमाडौंको व्यवसायमा असर पर्ने भएकाले काठमाडौंका ठूला व्यवसायीको दबाब र प्रभावमा सरकारले नै विमानस्थल चलाउन नचाहेको स्थानीय व्यवसायी बताउँछन् ।

टोपराज शर्मा टोपराज शर्मा
२०८१ पुष ८ गते १७:०५

८ पुस, बटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मंसिर पहिलो साता एक नेपाली र चार विदेशी वायुसेवा कम्पनीले उडान सुरु गरेपछि रुपन्देहीका पर्यटन व्यवसायी र निजी क्षेत्र उत्साहित भए ।

उद्घाटनको साढे दुई वर्षसम्म ठप्प प्रायः विमानस्थलबाट एकसाथ कतार एयरवेज, थाई एयर एसिया, फ्लाई दुबई, जजिरा र नेपाल एयरलाइन्सले नियमित अन्तर्राष्ट्रिय उडान थालेपछि व्यवसायी उत्साहित नहुने कुरै भएन । तर, उनीहरूको उत्साह एक महिना पनि टिकेन ।

एक महिना नबित्दै ती चार विदेशी एयरलाइन्सले ‘भिजिबिलिटी’ को समस्या र कतिपयले यात्रु अभावका कारण देखाउँदै उडान रोकेका छन् । अहिले नेपाल एयरलाइन्सले मात्रै साताको तीन अन्तर्राष्ट्रिय उडान गरिरहेको छ ।

अब जजिराले फेब्रुअरी १, थाई एयर एसियाले २६ डिसेम्बर र फ्लाई दुबई १३ जनवरीदेख उडान गर्ने जनाएका छन् । विगतमा जस्तै यसपटक पनि विश्वस्त हुन सक्ने अवस्था नभएको व्यवसायी बताउँछन् । कतार एयरवेजले ३० नोभेम्बरसम्मको मात्र उडान अनुमति लिएको थियो । त्यसयता उडान गर्ने टुंगो छैन ।

ठूला जहाजलाई उडान गर्न १ हजार ८ सय मिटर भिजिबिलिटी चाहिन्छ । जाडो महिनामा हुस्सु लाग्दा भिजिबिलिटी कम हुन्छ । १ हजारभन्दा पनि कम भिजिबिलिटीमा पनि उडान गर्न ‘इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम’ (आईएलएस) विमानस्थलमा जडान छ । तर, ‘एयर स्पेस इस्यु’ का कारण भारतीय पक्षले नमान्दा त्यो सञ्चालन हुन सकेको छैन ।

सरकारले बाहिर भिजिबिलिटीको कारण देखाए पनि खासमा भैरहवा विमानस्थल राम्रोसँग चल्दा काठमाडौंको व्यवसायमा असर पर्ने भएकाले काठमाडौंका ठूला व्यवसायीको दबाब र प्रभावमा सरकारले नै विमानस्थल चलाउन नचाहेको स्थानीय व्यवसायी बताउँछन् ।

विमानस्थल राम्ररी चल्न अत्यावश्यक श्रम स्वीकृति, मेडिकल जाँच, भिसा, म्यानपावर कम्पनीका शाखा, एयरलाइन्स कम्पनीका सम्पर्क कार्यालय भैरहवामा नहुँदा श्रमिक तथा व्यवसायीलाई काठमाडौं नै धाउनुपर्ने बाध्यताले यात्रु अभाव बहाना बनाउन एयरलाइन्स कम्पनीलाई सजिलो भएको व्यवसायीको तर्क छ । दोस्रो वा तेस्रो पटकको श्रम स्वीकृति नवीकरण अनलाइनबाट हुने भए पनि पहिलो पटकको श्रम स्वीकृतिका लागि काठमाडौं नै धाउनुपर्ने बाध्यता छ ।

‘भिजिबिलिटीको समस्या बाक्लो हुस्सु लाग्दा बिहानमात्र हो, दिउँसोमा त मौसम सफा नै छ, उडानको समय (सेड्युल) परिवर्तन गर्न सकिन्छ,’ सिद्धार्थ उद्योग वाणिज्य संघ अध्यक्ष ठाकुरकुमार श्रेष्ठ भन्छन्, ‘सरकारले केही दिन पाँच वटा एयरलाइन्सका जहाज चलाएर भुलभुलैयामा पार्‍यो, उता त्रिभुवन विमानस्थल १० घण्टा बन्द गर्ने भनेकोमा ६ घण्टामा झारियो, मर्मतका लागि ६ महिना लाग्ने भनिएकोमा एक महिनामै ५० प्रतिशत काम सकिनुले गौतमबुद्ध विमानस्थल दिगोरूपमा चलाउन सरकारले नै चाहेको छैन कि भन्ने शंका बढेको छ ।’

श्रम स्वीकृति, मेडिकल, विद्यार्थीको ‘नो अब्जेक्सन सर्टिफिकेट लेटर’ जस्ता कामका लागि काठमाडौं नै जानुपरेपछि विदेश जाने यात्रु काठमाडौंबाट जहाज चढ्ने भएकाले गौतमबुद्ध विमानस्थल चलाउन सम्बन्धित सबै कार्यालय अविलम्ब भैरहवामा स्थापना गर्नुपर्ने श्रेष्ठको माग छ ।

पर्यटनमन्त्री बद्री पाण्डे भैरहवामै आएर नियमित अन्तर्राष्ट्रिय उडान हुनेमा शंका नगर्न आश्वासन दिएर फर्के पनि उडान नभएको, रुपन्देहीकै अर्थमन्त्री विष्णु पौडेलले पनि देखिने गरी ठोस पहल गरेको नपाइएको अध्यक्ष श्रेष्ठले गुनासो गरे ।

‘सरकारले एयरलाइन्सहरूलाई उडान तालिकाको मिति होइन, समय मात्र परिवर्तन गर्न लगाउनुपर्थ्‍यो, अर्थमन्त्रीले पनि सार्थक हस्तक्षेप गर्न सक्नुपर्थ्यो,’ श्रेष्ठले भने, ‘काठमाडौंका होटल र ठूला ट्राभल एजेन्सीको दबाब र प्रभावमा सरकार परेको प्रष्ट देखिन्छ, हामी निर्णायक आन्दोलनको तयारीमा छौं ।’

हवाई नीति परिवर्तन गर्नुपर्छ

भिजिबिलिटी समस्या समाधान गर्न समयमै आईएलएस प्रविधिको विकल्पमा अर्को प्रविधि जडान नगर्नु र आवश्यक सरकारी कार्यालय भैरहवामा स्थापना नहुँदा यात्रु अभाव हुने भएकाले विदेशी एयरलाइन्सले उडान रोकेको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)–लुम्बिनी अध्यक्ष चन्द्र थापाले दाबी गरे ।

भैरहवा विमानस्थलबाट चढ्ने यात्रु पर्याप्त हुन नदिन काठमाडौं केन्द्रित ठूला ट्राभल एजेन्सीले अन्तर्राष्ट्रिय हवाई टिकटमा कार्टेलिङ गरेकाले टिकट काट्न नपाएको थापाले गुनासो गरे ।

एयरलाइन्स कम्पनीहरूले भैरहवामा सम्पर्क कार्यालय पनि नखोलेको र स्थानीय ट्राभल एजेन्सीलाई टिकट काट्न पोर्टल खुला नगरेकाले ९५ प्रतिशत टिकट काठमाडौंबाटै बिक्री गरेको थापाले गुनासो गरे ।

‘काठमाडौंका ट्राभल एजेन्सीले एयरलाइन्ससँग सेटिङमा टिकट बेच्ने गरेका छन्,’ थापाले गुनासो गरे, ‘पहिले सजिलै टिकट काट्दै आएकोमा अहिले विमानस्थल चलेपछि टिकट काट्न नै पाइएको छैन, यहाँबाट काट्दा महँगो पर्ने बनाइएको छ ।’

दुबईबाट काठमाडौं अवतरण गर्ने टिकटको दरभन्दा भैरहवा अवतरण गर्ने टिकट दर धेरै महँगो पर्ने बनाइएकाले त्यो टिकट दरको अन्तर घटाउनुपर्ने थापाले माग गरे ।

टिकट बिक्रीको सिन्डिकेट अन्त्य गर्न लुम्बिनीका मुख्यमन्त्रीसँग पटक–पटक आग्रह गरे पनि सुनुवाइ नभएकाले कतै गौतमबुद्ध विमानस्थल चल्न नदिन केन्द्रदेखि प्रदेश सरकारकै मिलेमतो छ कि भन्ने शंका लागेको थापाले गुनासो गरे ।

पर्यटन व्यवसायी सञ्जय बजिमय भैरहवाबाट उडान गर्ने सबै एयरलाइन्सको टिकट काउन्टर र सम्पर्क कार्यालय विमानस्थलमा हुनुपर्ने, अनलाइन ई–भिसा र इन्टरनेसनल डिजिटल डाइरेक्ट पेमेन्ट प्रणाली हुनुपर्ने बताउँछन् ।

टिकट बिक्रीमा भइरहेको कार्टेलिङ अहिलेकै अवस्थामा रहे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दिगोरूपमा सञ्चालन हुनेमा शंकैशंका रहेको बजिमयले बताए ।

ट्राभल व्यवसायी सागर अधिकारीले विमानस्थल दिगो सञ्चालन गर्न बौद्धमार्गी बाहुल्य देशबाट भैरहवामा सिधा उडान हुनुपर्ने बताए ।

एक महिना भएका उडानमध्ये थाई एयर एसिया र जजिराले मात्र आफ्नो देशबाट भैरहवामा सिधा उडान गरेको र अरूले ट्रान्जिटमात्र बनाएकाले त्यो पर्याप्त नभएको उनको भनाइ छ ।

‘विमानस्थल दिगो सञ्चालन गर्न लुम्बिनीमा बौद्धमार्गी बाहुल्य देश चीन, भियतनाम, म्यानमार, श्रीलंका, भुटान, जापान लगायतबाट सरकारले सिधा उडानको उच्चस्तरीय पहल गर्नुपर्छ,’ उनको सुझाव छ ।

आईएलएसको विकल्पमा ‘आरएनपीएआर’ प्रविधि लागु हुँदै

भैरहवा विमानस्थलका प्रवक्ता दीपककुमार बज्राचार्यले भिजिबिलिटी समस्या समाधान गर्न आईएलएसको विकल्पमा ‘आरएनपीएआर’ प्रविधि लागु गर्न ४२ दिने सूचना प्रकाशित गरिसकिएको बताए ।

‘आरएनपीएआर प्रविधि आइसकेको छ, ४२ दिने सूचना पनि प्रकाशित गरिसकेका छौं, सबै प्रक्रिया पूरा गरेर कार्यान्वयनमा आउन केही समय त लाग्छ नै,’ बज्राचार्यले भने, ‘प्राविधिक विषय भएकाले ठ्याक्कै यही मितिबाट सुरु हुन्छ भन्न सकिन्न ।’

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?