
७ पुस, काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघले सञ्चालकहरूको स्वामित्वमा भएको सेयर कम्पनीमा राजीनामापछि पनि एक वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाप्रति नेपाल धितोपत्र बोर्डको ध्यानाकर्षण गराएको छ ।
धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ को नियम ३८ (१ क) अनुसार संगठित सञ्चालकले पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकास पाएको एक वर्षसम्म सम्बन्धित कम्पनीको सेयर खरिद–बिक्री गर्न नपाउने व्यवस्था अव्यावहारिक रहेको संघको भनाइ छ ।
निर्जीवन बीमा व्यवसायी संघद्वारा जारी विज्ञप्तिमा छ, ‘सेयर बिक्री सम्वन्धी व्यवस्था अत्यन्तै अव्यावहारिक रहेको जानकारी गराउँदछौं । कम्पनीमा कायम रहेका सबै सेयरधनी जस्तै सञ्चालकहरू पनि लगानीकर्ता नै रहेको र सेयरधनीको साधारणसभाबाट निर्वाचित भई उनीहरूका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गरेकै आधारमा सेयर बिक्री गर्न नपाउने व्यवस्था न्यायोचित नभएको जानकारी गराउँदछौ ।’
संघ अध्यक्ष राजेन्द्र मल्लसहित पदाधिकारी टोलीले धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठसँग उक्त प्रावधान सच्याउन आग्रह समेत गरेको छ । लगानीका दृष्टिकोणबाट कम्पनीका अन्य सेयरधनीको वित्तीय स्वार्थ र सञ्चालकहरूको वित्तीय स्वार्थमा कुनै फरक नरहेको संघ अध्यक्ष मल्लले बताए ।
सञ्चालकहरूले अन्य सेयरधनी सरह नै कम्पनीमा लगानी गरेपछि त्यसको उपयोग गर्नबाट सञ्चालकलाई वञ्चित गर्ने कार्य न्यायोचित नभएको संघले जनाएको छ ।
कुनै व्यवसायीले आफ्नो चलसम्पति बिक्री गर्न नपाउने परिस्थितिमा उद्यम–व्यवसाय विविधीकरण लगायत अत्यावश्यक घरायसी कार्यमा समेत अवरोध सिर्जना हुने अध्यक्ष मल्लले बताए ।
‘कुनै व्यक्ति सञ्चालकको पदमा बहाल रहुन्जेल र सो पदबाट हटेको एक वर्षसम्म सोही संस्थाको कुनै पनि प्रकारको सेयर खरिद–बिक्री गर्न नपाउने व्यवस्था संशोधन गरी सञ्चालक पदमा बहाल रहेकै बखत सेयर स्वामित्वको ५० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्थाका लागि आग्रह गर्दछौं,’ कम्पनीको विज्ञप्तिमा छ ।
सेयर बिक्री सम्बन्धी पछिल्लो व्यवस्थाले लगानीको वातावरणमा समस्या सिर्जना गर्नुका साथै वैदेशिक लगानी समेत प्रभावित हुने अध्यक्ष मल्लको भनाइ छ ।
प्रतिक्रिया 4