+
+

अनुसन्धानकर्ता भन्छन् : रविले विषाक्त रूखको फल खाएका थिए

रास्वपा सभापति तथा सांसद लामिछानेले त्यस बेला गोर्खा मिडियाका प्रबन्ध निर्देशकका रुपमा गरेका कामकारवाहीको शैली र नतिजालाई अनुसन्धानकर्ताहरुले ‘विषयुक्त रूखको फलको सिद्धान्त’सँग जोडेर हेरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ७ गते २१:२२

७ पुस, काठमाडौं । कानुनी वृत्तमा एउटा बहुचर्चित धारणा छ, ‘फ्रुट्स अफ द पोइजनस् ट्री’ । विषाक्त रुखको फल विषयुक्त नै हुन्छ भन्ने शाब्दिक अर्थ लाग्ने उक्त धारणाले गलत तरिकाले गरिएको कामको नतिजा गलत नै हुन्छ भन्ने मान्यता अघि सार्छ ।

गोर्खा मिडियामा लगानी गरेका रवि लामिछानेले गलत ढंगले सहकारीको रकम प्रयोग गरेको दावी गर्दै आरोपपत्रमा त्यसको परिणाम गलत नै हुने जिकिर भएको छ । रास्वपा सभापति तथा सांसद लामिछानेले त्यस बेला गोर्खा मिडियाका प्रबन्ध निर्देशकका रुपमा गरेका कामकारवाहीको शैली र नतिजालाई अनुसन्धानकर्ताहरुले ‘विषयुक्त रूखको फलको सिद्धान्त’सँग जोडेर हेरेका छन् ।

जुन काम सोझै गर्न मिल्दैन, त्यो काम घुमाउरो रुपमा पनि गर्न हुदैन भन्ने मान्यता कानुनी क्षेत्रमा स्पष्ट छ । तर रवि लामिछानेले सहकारीको रकम घुमाएर आफ्नो खातामा राखेको भनी अभियोगपत्रमा प्रमाण नै पेश भएको छ ।

५ माघ, २०७७ मा पोखराको सूर्यदर्शन सहकारीबाट जीबी राईको स्टान्डर्ड चार्टर्ड बैंकको खातामा २ करोड रुपैंया भुक्तानी भयो । तीन दिनपछि अर्थात् ८ माघमा त्यही बैंकको खाताबाट जीबी राईले २ करोडमध्ये रवि लामिछानेलाई उनको ग्लोबल आईएमई बैंकको खातामा ७५ लाख रुपैंया दिए । भोलिपल्ट नै रविले उक्त रकम गोर्खा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकको खातामा जम्मा गरिदिए ।

छविलाल जोशीको हकमा पनि त्यही शैली प्रयोग भयो । सूर्यदर्शन सहकारीबाट जीबी राईको खातामा २ करोड ५० लाख भुक्तानी भएको थियो । त्यही रकममध्ये जीबीले एक करोड ७५ लाख रुपैंया छविको नविल बैंकको खातामा खारिदिएका थिए ।

सहकारीबाट गोर्खा मिडियामा भएको लगानीबारे आफूलाई कुनै जानकारी नभएको भनी रवि लामिछाने र छविलाल जोशीले बयानमा भनेका छन् । तर जीबी ग्रुफ अफ कम्पनी लिमिटेडबाट बरामद भएको कागजातमा सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा गएको रकमलाई लगानी भनी उल्लेख गरेको भेटिएको आरोपपत्रमा उल्लेख छ ।

आरोपपत्रमा भनिएको छ, ‘यी प्रतिवादीले कम्पनीको सञ्चालन तथा प्रवन्ध निर्देशक समेतको दोहोरो जिम्मेवारी रहेको अवस्थामा संगठित रुपमा तहगत जिम्मेवारी बाँडफाँट गरी आफू निकट व्यक्तिहरुलाई परिचालन गरी सहकारीको बचत हिनामिना गरी गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेड सञ्चालन गर्ने योजना रहे÷भएको र सोही अनुरुप सञ्चालनमा पुष्टि हुन्छ ।’

प्रहरी र सरकारी वकिलहरुले प्रारम्भिक रुपमा नै बदनियत राखी उनीहरुले सहकारीको रकम विभिन्न व्यक्तिको खातामा राखेको र त्यहाँबाट फेरि गोर्खा मिडियामा लगानी गरेको भन्दै गलत क्रियाकलापबाट शुरु भएको कामको नतिजा गलत नै हुने जिकिर गरेका हुन् ।

आरोपपत्रमा भनिएको छ, ‘यी प्रतिवादीहरुले आफूले कुनै पनि लगानी नगरी सहकारीको बचत हिनामिना गरी सोही रकमबाट गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेड सञ्चालनमा ल्याएको ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?