
८ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालको कार्यकक्ष अगाडि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)का सचिव सिद्धान्त भट्ट ३५ बुँदे माग राखेर धर्नामा छन् । ढोकै अगाडि उनी धर्नामा बसेको आइतबार १२ दिन भयो । भट्ट २४ सै घण्टा धर्नामा बसेपछि उपकुलपति बराल कार्यकक्षमा गएका छैनन् ।
उनी धर्नामा बसेको दोस्रो दिन उपकुलपति बराल, रेक्टर खड्ग केसी र रजिस्ट्रार केदारप्रसाद रिजाल गएका थिए । ‘एक दिन आउनुभएको थियो । त्यसपछि आउनुभएको छैन’, धर्नामा बसेका भट्टले भने ।
उनी एमाले निकट विद्यार्थी संगठन अखिलका त्रिवि अध्यक्ष पनि हुन् । उनको माग सम्बोधन गर्न अखिलका अध्यक्ष समिक बडालले त्रिवि नेतृत्वलाई आग्रह गरेका छन् । उच्चस्तरीय वार्ता समिति बनाएर सचिव भट्टले उठाएको माग सम्बोधन गर्न नेतृत्वलाई अखिलले अनुरोध गरेको छ ।

‘अनेरास्ववियुले उपकुलपतिज्यूप्रति कुनै प्रकारको दुर्व्यवहार गरेको छैन । विद्यार्थीका प्रतिनिधिले विश्वविद्यालय सुधारका माग राख्दै शान्तिपूर्ण रूपमा आफ्नो धारणा प्रस्तुत गरेकामा उच्चस्तरीय वार्ता टोली गठन गरी विद्यार्थीका जायज मागहरूमाथि गम्भीरतापूर्वक छलफल गरी उचित निष्कर्षमा पुग्न अनुरोध गर्दछौं,’ अध्यक्ष बडालले जारी गरेको विज्ञप्तिमा भनिएको छ । उपकुलपति बराल वार्ता समिति बनाएर काम भइरहेको बताउँछन् । ‘वार्ता समितिले काम गरिरहेको छ । धेरै माग पूरा भएका छन्’, उपकुलपति बरालले भने ।
प्रतिपक्ष दल निकटका विद्यार्थीको चार ठाउँमा ताला
माओवादी, नेकपा एस लगायतका विद्यार्थी संगठनले प्रिन्सिपल कार्यालयसहति ४ ठाउँमा ताला लगाएका छन् । त्रिवि मैदानमा भइरहेको क्रिकेट प्रतियोगिताको पार्किङ शुल्कको विषयलाई लिएर विद्यार्थीहरूले गत मंसिर २५ मा ताला लगाएका हुन् ।
जसका कारण क्याम्पसमा प्रिन्सिपल ध्यानेन्द्र राई कार्यकक्षमा जान नपाएको बताउँछन् । ‘बाहिरै बसेका छौँ । पार्किङको शुल्कको विषमा विद्यार्थीले ताला लगाएका हुन्,’ उनले भने ।
ताला लगाउनेमा अखिल क्रान्तिकारी, अनेरास्ववियू, अखिल छैठौं, अखिल समाजवादी, नेपाल समाजवादी विद्यार्थी युनियन रहेका छन् । एनपीएल प्रतियोगिताको पहिलो दिन स्ववियुका पदाधिकारीको संलग्नतामा पार्किङ शुल्क उठाएको आरोप आन्दोलनरत विद्यार्थीहरूको छ ।

‘प्रिन्सिपल कार्यालयले जिम्मा पार्किङको व्यवस्थापन गर्ने जिम्मा स्ववियूलाई दिएको रहेछ । स्ववियू र विद्यार्थी संगठनको बदानम हुनेगरी पार्किङ शुल्क उठाएपछि छानबनिको माग राखेर ताला लगाएका हौँ । छानबि गर्न समय दिएर ज्ञापन पत्र बुझाउदा पनि सुनुवाइ नभएपछि ताला लगाएका हौँ,’ त्रिवि अखिल क्रान्तिकारीका अध्यक्ष दिनेश ऐरले भने ।
शुल्क उठाउनेगरी स्ववियुलाई पार्किङको व्यवस्थापनको जिम्मेवारी नदिएको बताउँछन् प्रिन्सिपल ध्यानेन्द्र राई । ‘पार्कीङको व्यवस्थापन गर्ने विषयमा कुरा भएको हो । तर शुल्क उठाउनेबारे केही भनेको छैन,’ उनले भने ।
यही विषयलाई लिएर विद्यार्थी संगठनले रजिस्ट्रार कार्यालय अन्तर्गतको सामान्य प्रशासन महाशाखा र स्ववियूको कार्यालयमा पनि ताला लगाएका छन् । क्रिकेट प्रतियोगिताको दोस्रो दिन स्ववियु सभापति श्यामराज ओझाले विज्ञप्ति निकालेर पार्कीङ शुल्क निःशुल्क गरिएको बताएका थिए ।
‘पार्किङ व्यवस्थापनको जिम्मा स्ववियुले लिन खोजेको थियो । ट्राफिक, प्रिन्सिपलको कार्यालयसँग छलफल भएको हो । पढ्दै कमउदै नीति अनुरुप विद्यार्थीलाई सहभागी गराउन खोजेको हो,’ उनले भने, ‘सबैको सझाव अनुसार पार्किङ शुल्क निःशुल्क गरिएको हो ।’
स्ववियु सचिव सिद्धान्त भट्टसहित १३ सदस्यले विज्ञप्ति नै निकालेर स्ववियुमा आधिकारिक निर्णय नभएको बताएका छन् । तर ताला लगाउने विद्यार्थी संगठनहरूले प्रतियोगिताको पहिलो दिन पार्किङ शुल्क उठाएकाले सो रकम फिर्ता गर्नुपर्ने र दोषीमाथि छानबिन हुनुपर्ने माग राखेका छन् ।
प्रिन्सिपल कार्यालयले यो विषय स्ववियुभित्रकै भएकाले स्ववियुबाट समाधान गर्न भनिरहेको छ । छानबिन समितिको आवश्यकता देख्दैनन् उनी । ‘स्ववियुमा सबै विद्यार्थीका प्रतिनिधि छन् । स्ववियुमै छलफल गर्न भनेका छौं । हामीले समिति बनाउनुको औचित्य छैन,’ उनले भने । स्ववियु सभापति ओझा पनि आफूले पटक पटक कुरा गर्न बोलाएको तर नआएको बताउँछन् ।
‘बोलाउँदा पनि आउनुभएको छैन । राजनीतिक प्रतिशोध साधेको देखियो । ताला लगाउनु पर्ने आवश्यकता छैन,’ उनले भने । शुल्क उठाउने विषयमा स्ववियुका पदाधिकारीको समेत संलग्नता रहेकाले स्ववियुमा छलफल गर्न नसकिने तर्क आन्दोलनरत विद्यार्थीको छ । विद्यार्थी संगठनहरू आरोप प्रत्यारोपमा उत्रिएका छन् ।
भौकितशास्त्र विभागमा पनि ताला
माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आइतबार भौतिकशास्त्र विभागमा पनि ताला लगाएको छ । विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई शोधपत्रमा सहभागी नगराई अनुसन्धानात्मक गतिविधिबाट वञ्चित गरेकाले विभागमा ताला लगाएको संगठनका अध्यक्ष दिनेश ऐर बताउँछन् ।
‘विद्यार्थीहरुलाई अनिवार्य रुपमा शोधपत्रमा सहभागी गराई अनुसन्धानमा जोड्नुको साटो कुनै एक विषयमा फेल भएकै आधारमा उक्त शोधपत्रवाट वञ्चित गराइएको छ । अनुसन्धानात्मक गतिविधिमा सहभागी गराउन पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि ताला लगाउन बाध्य भएका हौँ,’ उनले भने ।
कर्मचारी पनि आन्दोलनमा

त्रिविका कर्मचारी पनि आन्दोलनमा छन् । कार्यालय समय सुरु भएपछि आ–आफ्नो कार्यालय अगाडि भेला भएर पुस १ देखि ५ गतेसम्म एक घण्टा धर्ना दिए । कार्यरत कार्यालय सहयोगी, सवारी चालक र सम्पूर्ण करारका कर्मचारीलाई स्थायी गर्न गर्नुपर्ने माग कर्मचारीको छ । नेपाल स्वास्थ्य सेवा ऐन अनुसार त्रिविमा कार्यरत नर्सिङ र प्राविधिक कर्मचारीको स्तरवृद्धि तुरुन्तै लागू गर्न कर्मचारीले माग गरेका छन् । रिक्त दरबन्दीमा विज्ञापन गर्नुपर्ने, लामो समयसम्म एउटै पदमा कार्यरत कर्मचारीको एक तह पदोन्नती सुनिश्चित गर्नुपर्ने माग कर्मचारीको छ ।
त्ययैगरी संचित विशेष तलबी बिदाको रकम सेवा निवृत्त हुदा सम्पूर्ण कर्मचारीले पाउने व्यवस्था लागू गर्नुपर्ने र विगतमा खोसिएका सेवा सुविधा पुनः सुचारू गर्नुपर्ने माग कर्मचारीको छ ।
थप आन्दोलनको मोडालिट तय गर्न सोमबार बैठक बस्ने विश्वविद्यालय क्याम्पस एकाइ समिती सभापति अनन्तप्रसाद पौडेलले बताए । ‘आइतबार त्रिविको सभा भएकाले स्थिगित गरेका थियौं । आन्दोलनको थप मोडालिटी सोमबार तय गर्छौं,’ उनले भने ।
प्रतिक्रिया 4