
काठमाडौं । तीन चर्चित बलिउड अभिनेत्रीहरू सन्नी लियोनी, इशा गुप्ता र निया शर्मा आइतबारसम्म नेपालमा थिए । पछिल्लो सप्ताहन्तमा यी तीन सेलेब्रिटीले भैरहवामा खुलेको क्यासिनो रविको ओपनिङमा मनोरञ्जन दिए ।
प्राप्त भिडियो र तस्वीरमा यी तीनै एक्ट्रेसले धमाकेदार नृत्य प्रस्तुति दिएको देखिन्छ । उनीहरूले बलिउडका हिट गीतमा प्रस्तुति दिए । महंगो पारिश्रमिक दिएर यी तीन कलाकारलाई भैरहवामा प्रस्तुतिको लागि ल्याइएको स्रोतले जनायो ।
डिसेम्बर २०, २१ र २२ तारिखमा यी तीन कलाकारको प्रस्तुति तय गरिएको थियो । नेपाल आएकी लियोनीले पर्वतीय उडान पनि भर्दै नेपालका हिमालको सौन्दर्यको प्रशंसा गरेकी छन् । उनले इन्स्टाग्राम स्टोरीमार्फत ‘नेपाल, सो ब्युटीफुल’ भन्दै प्रशंसा गरेकी थिइन् ।
लियोनी यसअघि ४ पटक नेपाल आइसकेकी छन् । ब्राण्ड प्रवर्धन र एक फिल्मको प्रिमियर समारोहमा भाग लिन उनी क्यूएफएक्सको तत्कालिन कुमारी हलमा पुगेकी थिइन् । लियोनी यतिबेला एमटीभीको रियालिटी शो ‘स्पिल्ट्सभिल्ला’को होस्टमा ब्यस्त छिन् ।
इशा बलिउड अभिनेत्री, मोडल र मिस इन्टरनेसनल २००७ की विजेता हुन् । निया बिग बोस, उडान, नागिन, खतरोँका खेलाडीजस्ता चर्चित भारतीय टिभी कार्यक्रम र रियालिटी शोकी अभिनेत्री हुन् ।
प्रतिक्रिया 4