काठमाडौं । आकस्मिक गर्भनिरोधक चक्कीको प्रयोग असुरक्षित यौन सम्पर्क हुँदा वा परिवार नियोजनको अस्थायी साधनको असफलतापछि अनावश्यक गर्भ रोक्ने सुरक्षित र सरल तरिका हो । यद्यपि यो चक्की नियमित रुपमा भने सेवन गर्न मिल्दैन । त्यसैले त यसलाई आकस्मिक चक्की भनिएको हो ।
यसको दीर्घकालीन व्यवस्थापनका लागि गर्भनिरोधक चक्की अर्थात् बर्थ कन्ट्रोल पिल्स उपयोगी हुन्छ । तर चिकित्सकको सल्लाह र परामर्श विना जथाभावी पिल्सको प्रयोग गर्ने क्रम बढेको चिकित्सकहरू बताउँछन् ।
आकस्मिक गर्भनिरोधक औषधिको धेरै मात्रामा सेवन गरेका कारण महिनावारीमा गडबडी भएर अस्पताल आउनेको संख्या बढेको स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. बालकृष्ण साह बताउँछन् । ‘यो औषधिको सेवन आपतकालीन अवस्थामा प्रयोग गर्न बनाइएको हो,’ उनले भने, ‘यसको बढी सेवनले महिलाको स्वास्थ्यमा नकारात्मक समस्या निम्तिन सक्छ ।’
आकस्मिक गर्भनिरोधक चक्की असुरक्षित यौन सम्पर्क भएको अवस्थामा मात्रै प्रयोग गर्ने साधन भएको उनले स्पष्ट पारे । तर यसको दुरुपयोग बढेको छ । ‘धेरैजसोले यसलाई नै परिवार नियोजनको अस्थायी साधन जसरी प्रयोग गरिरहेका छन्,’ डा. साह भन्छन्, ‘आकस्मिक गर्भनिरोधक साधन हर्मोनल औषधि हो, महिलाले एक महिनामा धेरै पटक यसको प्रयोग गर्दा स्वास्थ्यमा असर पर्छ ।’

आकस्मिक गर्भनिरोधक औषधिले कसरी रोक्छ गर्भ ?
यसले डिम्बाशयबाट निस्कने डिम्बलाई रोक्न सक्छ । डिम्बलाई शुक्रकीटसँग मिलेर भ्रूण बनाउन रोक्न सक्छ । साथै बनिसकेको भ्रूणलाई पाठेघरमा टाँसिन र भ्रूणलाई बढ्नबाट रोक्ने प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. सचिनकुमार यादव बताउँछन् ।
प्रभावकारिता कम हुने अवस्था
डिम्ब गर्भाशयमा जोडिसकेको छ भने आकस्मिक गर्भनिरोधक चक्कीले काम गर्दैन । त्यसैले शारीरिक सम्पर्क भएको कति घण्टाभित्र यसलाई प्रयोग गरे यो प्रभावकारी हुन्छ भन्ने थाहा पाउनु आवश्यक हुने डा. यादव बताउँछन् ।
‘असुरक्षित सम्पर्क भएको छ र गर्भवती हुन चाहनुहुन्न भने चाँडोभन्दा चाँडो आकस्मिक गर्भ निरोधक चक्की प्रयोग गर्नुपर्छ,’ उनी भन्छन्, ‘सम्पर्क भएको ७२ घण्टाभित्र यो चक्की खाइसक्नुपर्छ । नत्र यसको प्रभावकारिता कम हुन्छ ।’

यस्ता स्वास्थ्य समस्या देखिनसक्छ
आकस्मिक गर्भनिरोधक चक्की हर्मोनकै औषधि भएकाले यसले हर्मोन गडबडी वा महिनावारी अनियमित गराउन सक्ने स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. साधना शाह बताउँछिन् ।
‘गर्भ नबसे पनि महिनावारी पर भने सार्न सक्छ । यो तीन–चार महिनासम्म हर्मोन सन्तुलन नियन्त्रण हुँदैन,’ उनी भन्छन्, ‘आकस्मिक गर्भ निरोधक औषधिले त्यस्तो दीर्घकालीन असर केही नगरे पनि महिनावारी चक्रको समयमा परिवर्तन आउने, महिनावारीको समयमा धेरै पेट दुख्ने, धेरै रक्तस्राव हुने जस्ता समस्या हुन सक्छ । जुन केही समय पछि हराएर जान्छ । तर यो औषधिको धेरै प्रयोगले भने यसको प्रभावकारिता पनि घटेर जान्छ ।’
आकस्मिक गर्भनिरोधक चक्कीमा उच्च मात्रामा हर्मोन हुन्छ, जसले गर्दा यसको अत्यधिक उपयोगले प्रजनन् जीवनमा समेत समस्या उत्पन्न गर्न सक्ने डा. शाह बताउँछिन् ।
पिल्स सेवन कति समयको अन्तरालमा गर्नुपर्छ ?
यो औषधि कति समयको अन्तरालमा कति पटक खान सकिन्छ भनेर पुष्टि भइसकेको छैन । त्यसकारण यति समयावधिमा यति पटक खान मिल्छ भन्न सकिंदैन । तर धेरै मात्रामा यसको सेवन गर्न नहुने डा. शाह बताउँछिन् ।
‘खानै परेमा एक पटक चिकित्सकको सल्लाह लिन राम्रो हुन्छ । जति धेरै खायो त्यति साइड-इफेक्ट भने बढ्न सक्छ । महिनावारी गडबड, शारीरिक परिवर्तन, मोटोपन जस्ता धेरै समस्या उत्पन्न हुने हुँदा सकेसम्म कम खाने र खानुअघि चिकित्सकको सल्लाह लिनुपर्छ,’ उनी भन्छिन् ।

सहज उपलब्धताका कारण सहवासपछि आकस्मिक गर्भनिरोधक चक्कीको सहारा लिने युवायुवतीको संख्या बढ्दो छ । जसकारण स्वास्थ्य जोखिम लिएर स्वास्थ्य संस्था आउने सङ्ख्या पनि बढेको उनी बताउँछिन् ।
परिवार नियोजन साधनको रुपमा यसको प्रयोग गर्ने होइन
यो औषधिको प्रयोग आकस्मिक गर्भ रहन नदिन प्रयोग गर्ने हो । तर केहीले यसलाई परिवार नियोजनको रुपमा नै प्रयोग गर्ने गरेका छन् । यसो गर्दा विभिन्न स्वास्थ्य समस्या हुनसक्छ । बजारमा विभिन्न प्रकारको परिवार नियोजनका साधन उपलब्ध छन् । त्यसैले यसको प्रयोग आकस्मिक अवस्थामा मात्र प्रयोग गर्न उपयोगी हुने डा. यादवको सुझाव छ ।
‘ओभुलेसनको पिरियडमा यौन सम्पर्क भयो र सन्तानको योजना छैन भने मात्र आकस्मिक गर्भनिरोधक चक्की पिल्सको प्रयोग गर्ने हो । पिल्स वर्षको एक वा दुई पटकभन्दा बढी नखानु नै राम्रो हुन्छ,’ डा. यादव भन्छन्, ‘यदि सन्तानका लागि योजना छैन भने २१ दिनसम्म खाने ओरल पिल्स छ । त्यसको प्रयोग गर्नु राम्रो हुन्छ ।’
प्रतिक्रिया 4