८ पुस, काठमाडौं । अन्तर्राष्ट्रिय च्यालेन्ज ब्याडमिण्टनमा क्षितिज खनालसँगै नेपाली खेलाडीको यात्रा छनोट चरणमा नै सिमित भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमबारदेखि शुरु भएको ब्याडमिण्टन च्यालेन्जको मेन्स सिंगल्समा नेपालका क्षितिज क्वालिफेकसन राउण्ड पार गर्न असफल भएका हुन् ।
नेपाल ब्याडमिण्टन संघको आयोजनामा नेपालमा दोस्रोपल्ट भएको अन्तर्राष्ट्रिय च्यालेन्ज ब्याडमिण्टनमा नेपालबाट ९ पुरुष र ७ महिला खेलाडीले चुनौति प्रस्तुत गर्दैछन् । तीमध्ये प्रिन्स दाहाल र रशिला महर्जनले छनोट खेल्नु परेन । अन्यले भने क्वालिफिकेसन गर्नुपर्ने प्रावधान हुँदा पहिलो दिन सबै खेलाडीको प्रदर्शन सुखद् बन्न सकेन ।
क्षितिजले क्वालिफिकेसनको पहिलो खेलमा भारतका चरन केलाभाथुलाई २१–१४, १७–२१ र २१–१७ ले हराउँदै सुखद् सुरुआत गरेका थिए । तर उनी दोस्रो खेलमा भने भारतकै सिद्धान्त सेलासँग पराजित हुन पुगे । क्षितिज सिद्धान्तसँग २१–१४ र २१–१५ ले सहजै पराजित भएका हुन् ।
त्यसअघि सिद्धान्तले नेपालकै देवराज रानालाई हराउँदै दोस्रो चरणको खेल तय गरेका थिए । देवराजले भने सिद्धान्तसँग समान २१–११ को नतिजा सामना गरेका हुन् । पुरुष सिंगल्सको क्वालिफिकेसनमा नै भोजबहादुर गुरुङ, जीवन आचार्य र प्रफूल महर्जनले पनि पहिलो खेलमा नै हार व्यहोरेका छन् ।
भोजबहादुरले भारतका मोहिथ पलाक्षसँग २१–९, २१–१०, जीवनले भारतकै प्रणव रामसँग २१–१२, २१–१५ तथा प्रफूलले खान्दोकर अब्दुससँग २१–१५, २१–१८ ले हार सामना गरेका हुन् । यसै विधामा नेपालका अमन महर्जन र सुनिल जोशीको यात्रा पनि छनोट चरणमा नै सिमित भयो । अमन भारतका अतुल माथ्वेसँग २१–१५, २१–९ तथा सुनिल श्रीलंकाका शेनुक सामरारत्नेसँग २१–१८, २१–८ ले पराजित भए ।
महिला सिंगल्समा पनि नेपालकी रशिला महर्जन राउण्ड अफ ३२ मा नै पराजित भएकी छिन् । उनी भारतकी अदिति भाटसँग २१–१२ र २१–१४ ले पराजित भएकी हुन् ।
नेपाल ब्याडमिण्टन संघको आयोजनमा नेपालमा दोस्रोपल्ट आयोजना भएको यस च्यालेन्जमा नेपालसहित भारत, अमेरिका, थाइल्याण्ड, सिंगापुर, श्रीलंका, बंगलादेश, भियतनाम, क्यानडा, मलेसिया, इन्डोनेसिया, ईरान, ईटाली, संयुक्त अरब इमिरेट्स (युएई), जाम्बिया, युगाण्डा, इङ्ल्याण्ड, न्युजिल्याण्ड, म्यानमार, अस्ट्रेलिया, युक्रेन र जापानका कुल एक सय ७४ खेलाडीले यस च्यालेन्जमा प्रतिस्पर्धा गरिरहेका छन् ।
च्यालेन्जमा पुरुष/महिला एकल तथा युगल र मिक्स युगल गरी पाँच विधामा प्रतिस्पर्धा भइरहेको छ । १५ हजार अमेरिकी डलरको पुरस्कार राशि रहेको प्रतियोगिताका विजेता, उपविजेता, सेमिफाइनलिस्ट र क्वाटरफाइनलिस्टले क्रमशः १२ सय डलर, ७२० डलर, ६ सय डलर र ४८० डलर प्राप्त गर्नेछन् । – न्युज एजेन्सी नेपाल
प्रतिक्रिया 4