+
+

शान्ति र खुशीका लागि केही मिनेटको ध्यान

ध्यान मस्तिष्कको एक किसिमको तालिम हो जसले मानसिक प्रक्रियालाई सही अवस्थामा राख्ने, शरीरलाई तन्दुरुस्त बनाउने र अनेकौं फाइदा दिन्छ । तनाव घटाउने, आन्तरिक रूपमा सचेत गराउने र वास्तविक शान्ति प्रदान गर्दछ । तनाव र थकानमा ध्यानले फाइदा पुग्छ ।

डा. नरनाथ पाण्डे डा. नरनाथ पाण्डे
२०८१ पुष ९ गते ९:०९

संसारमा पछिल्ला केही दिनमा जीवनशैलीमा आएको अस्तव्यस्तताका कारण अधिकांश व्यक्तिमा तनाव, अशान्ति, चिन्ता, अल्जाइमर्स, डिप्रेसन, मधुमेह, मुटु रोग, क्यान्सर, मोटोपन, बाँझोपन आदि जस्ता जनस्वास्थ्यसँग सम्बन्धित रोगहरू बढ्दै गइरहेका छन् । दीर्घकालीन रूपमा हुने यस्ता रोगहरूलाई जीवनशैलीसँग सम्बन्धित रोगहरू पनि भन्ने गरिन्छ ।

यी सबै खालका समस्याबाट समाधान पाउन ध्यान, शारीरिक व्यायाम, पोषणको आपूर्ति र खानामा नियन्त्रण जस्ता कुराहरूमा ध्यान दिनुपर्छ भन्ने गरिन्छ ।

यी बाहेक यस्ता दीर्घकालीन समस्याको समाधानको अर्को माध्यम योग हो जसले मन, शरीर र मस्तिष्कलाई जोडेर एकाकार बनाउँछ । कम्तीमा पनि ३ देखि १२ हप्तासम्मको नियमित योग अभ्यासबाट जीवनशैली सम्बन्धी समस्याको समाधान हुन्छ । योग अभ्याससँगै मनमस्तिष्कलाई तरोताजा राखी विविध जीवनशैलीसँग सम्बन्धित दीर्घ रोगहरू समाधान गर्ने अर्को निकै महत्वपूर्ण विधि हो ध्यान । ध्यानलाई निकै जटिल अध्ययनको क्षेत्र मानिन्छ तापनि विगत ४० वर्ष अघिदेखि नै यस विषयमा विभिन्न अनुसन्धान भई महत्वपूर्ण उपलब्धिहरू समेत हासिल भएका छन् ।

व्यक्तिलाई शारीरिक, मानसिक, संवेगात्मक तथा सामाजिक स्वास्थ्यको उच्चतम तहसम्म पुर्‍याउन जतिसुकै सुख–सुविधा प्राप्त भए पनि जीवनशैलीका कारण प्रायः असम्भव भएको छ । यस्तो अवस्थामा ध्यान एउटा त्यस्तो सशक्त माध्यम हो, जसले व्यक्तिको सर्वाङ्गीण विकास र स्वस्थता कायम गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

यस कुरालाई मध्यनजर गरी भर्खरै संयुक्त राष्ट्रसंघको सभाले यही २०२४ डिसेम्बर २१ तारिख अर्थात् पुस ६ गते संसारमै पहिलो पटक विश्व ध्यान दिवस मनाउने निर्णय गरेको छ र यसका लागि संसारभर व्यापक तयारी समेत भइरहेको छ । यस वर्षको विश्व ध्यान दिवसको थिम ‘आन्तरिक शान्ति, विश्वव्यापी सद्भाव’ भन्ने रहेको छ । यो थिमबाटै हामीले ध्यान त्यस्तो माध्यम हो जसले व्यक्तिको आन्तरिक तनाव, चिन्ता, डिप्रेसन, अल्छीपन आदिको निवारण गरी खुसी, सुखी, आनन्दित र सक्रिय व्यक्तित्वमा परिणत गराइदिन्छ जसका कारण घरपरिवार, छिमेकी, समुदाय र राष्ट्र हुँदै विश्वमा समेत सद्भाव कायम गराइदिन्छ भनेर बुझ्न सक्छौं । त्यसकारण यस आलेखमा विश्व ध्यान दिवसका अवसरमा ध्यान सम्बन्धी केही विषयवस्तु उठान गर्ने जमर्को गरिएको छ ।

ध्यान संस्कृत भाषाबाट आएको हो जसको अर्थ सावधान र चिन्तन भन्ने हुन्छ । यसको क्षेत्र निकै फराकिलो छ र यसमा स्व–सचेतनाको महत्वपूर्ण अभ्यास गरिन्छ र आन्तरिक शान्ति प्राप्त गरिन्छ । ध्यान एक किसिमको मानसिक अभ्यासको पाटो हो त्यसले सतर्क, सचेत बनाउनुका साथै व्यक्तिलाई मानसिक, संवेगात्मक र आध्यात्मिक रूपले तन्दुरुस्त बनाई परिपक्व बनाउँछ ।

ध्यान मस्तिष्कको एक किसिमको तालिम हो जसले मानसिक प्रक्रियालाई सही अवस्थामा राख्ने, शरीरलाई तन्दुरुस्त बनाउने र अनेकौं फाइदा दिन्छ । यसले गहिरो मात्र नभई धेरै गहिरो ज्ञान प्रदान गर्दछ । साथै तनाव घटाउने, आन्तरिक रूपमा सचेत गराउने र वास्तविक शान्ति प्रदान गर्दछ । यदि चिन्ता, तनाव र थकान भयो भने ध्यानमा बस्नाले फाइदा पुग्छ । केही मिनेटको ध्यानले शान्ति र खुशी प्रदान गर्दछ । ध्यान जो–कोहीले पनि गर्न सक्ने अभ्यास हो । यो निकै सरल र खर्चरहित हुन्छ । यसका लागि कुनै उपकरणको समेत आवश्यकता पर्दैन र जुनसुकै समयमा पनि गर्न सकिन्छ ।

ध्यान सम्बन्धी इतिहास

ध्यानको अभ्यास हुन लागेको हजारौं वर्ष (करिब ३ हजार वर्ष) भइसकेको छ । सबैभन्दा सुरुमा प्राचीन कालमा ध्यानको प्रारम्भबारे वेदमा उल्लेख भएको पाइन्छ । भगवान् शिवलाई ध्यानका आदियोगी मानिन्छ । विल्सन भन्ने विद्वान्ले वेदको उल्था गर्दा यो कुरा भेट्टाएको पाइन्छ । वैदिक मन्त्र गायत्रीमा समेत ध्यानको कुरा पाइन्छ । यसैगरी ई.पू. छैटौंदेखि पाँचौं शताब्दीमा ध्यानका अन्य विधिहरू चीनमा कन्फ्युसियस् र ताओ तथा हिन्दु, जैन, बुद्ध जस्ता व्यक्तित्वहरूले विकास गरेको इतिहास छ । त्यस्तै तेस्रो शताब्दीमा प्लोटिनुसदले ध्यानका प्रक्रियाहरू विकास गरेको पाइन्छ ।

पहिलो शताब्दीमा बुद्धको ध्यान सबैभन्दा परिष्कृत पाइएको छ । चीन, भियतनाम र कोरियामा समेत बुद्धको प्रभाव परेको पाइन्छ । मध्ययुगमा पश्चिममा क्रिश्चियनको प्रभाव बढेको र बाइबलमा ध्यानको प्रयोग गरेको पाइन्छ । यसरी ध्यान विभिन्न तरिकाले विभिन्न धर्म र संस्कृति अनुसार गरेको पाइन्छ । आधुनिक समयमा पश्चिम हुँदै पूर्वका एशियन देशहरूमा समेत ध्यानको प्रभाव बढेको पाइन्छ । पूर्वीय दर्शनको उपज योग र ध्यानलाई मुख्यतया स्वामी विवेकानन्दले पश्चिमाहरूलाई पूर्वीय दर्शन र खासगरी वेदान्त दर्शनको बारेमा परिचय गराई यसमा थप अध्ययन–अनुसन्धानको बाटो खुलाएका हुन् ।

ध्यानका प्रकार

आराम अवस्थामा रहिरहने तरिकामध्ये ध्यानलाई एक छाता (अब्रेला टर्म) को रूपमा हेरिन्छ । ध्यान र आराम तथा आसनका विभिन्न तत्वहरूले शरीरको आन्तरिक शान्ति कायम गर्दछन् । एकाग्रता र सचेतताका दृष्टिले ध्यानका विभिन्न प्रकार हुन्छन् । ध्यानका प्रकारहरू निम्नलिखित रहेका छन् ।

  • निर्देशनात्मक ध्यान : गन्ध, दृश्य, आवाज र अन्य संवेदनाहरूको प्रयोग गरी गरिने ध्यान गाइड, गुरु वा शिक्षकहरूबाट गराइन्छ ।
  • मन्त्र ध्यान : यस्तो ध्यान गर्दा कुनै पनि मन्त्र जप्दै गरिन्छ र ध्यान केन्द्रित गरिन्छ ।
  • एकाग्र ध्यान : यसमा कुनै एक विन्दुमा ध्यान केन्द्रित गरिन्छ । यसमा मन्त्र भनेर, मैनबत्ती बालेर, मधुर आवाज सुनेर, माला जपेर वा गन्ती गरेर ध्यान गर्न सकिन्छ ।
  • मस्तिष्क सक्रिय राखेर गरिने ध्यान : वर्तमानमा गर्न सकिने वा यही क्षणमा एकाग्र हुनसक्ने क्षमता बढाउन गरिने ध्यान । यस्तो ध्यानले सचेतना बढाउँछ । यसमा ध्यान गरिरहँदा के अनुभव भइरहेको छ त्यसैमा केन्द्रित गरी श्वास–प्रश्वास फेरिन्छ । यतिबेला आफ्नो संवेग र सोचलाई सूक्ष्म अनुभव गरिन्छ तर कुनै पनि निर्णयबिना त्यस्ता कुराहरू छाड्दै गइन्छ ।
  • स्वर्गिक वा अलौकिक ध्यान : यो साधारण र प्राकृतिक ध्यानको विधि हो । यसमा शान्तपूर्वक आफ्नो मन्त्र दोहोर्‍याउँदै ध्यान गरिन्छ । यसबाट शरीर र दिमाग शिथिल र शान्त हुन्छन् र आन्तरिक शान्ति प्राप्ति हुन्छ ।
  • अन्य ध्यानका विधि : यी बाहेक दैनिक ध्यानमा बुद्धको ध्यान, चीनमा गरिने परम्परागत निर्मल ध्यान आदि महत्वपूर्ण छन् ।
  • ध्यानका फाइदा
    ध्यानले शान्त, आनन्द र सन्तुलन प्रदान गरी संवेगात्मक विकास गराउँछ । तनाव र दबाब बढाउने सूचना, समाचार त्यस्ता कुराहरू लगायत अन्य तनावका अवस्थाहरूमा फाइदा पुर्‍याउँछ । चिन्ता, दमरोग, क्यान्सर, दीर्घ दुखाइ, डिप्रेसन, मुटु रोग, पेटका समस्या, अनिद्रा र तनावका कारण टाउको दुख्ने जस्ता रोगहरू समेत ध्यानले निको पार्छ । यी बाहेक ध्यान गर्नाले हाम्रो शरीरमा निम्न फाइदा हुन्छन् :

१) शारीरिक स्वास्थ्यमा हुने फाइदा

  • मस्तिष्कको क्षमता विकास हुन्छ ।
  • मस्तिष्कमा अझ राम्रो रक्तसञ्चार हुन्छ ।
  • कोर्टिसोल नामक तनाव गराउने हर्मोनको उत्पादन घटाउँछ ।
  • रक्तसञ्चारमा सुधार र सामान्य रक्तचाप कायम राख्छ ।
  • सिकाइको क्रममा निकै प्रभावकारी तरिकाले स्नायु परिचालन हुने र मस्तिष्कको क्षमता बढाउँछ ।
  • मूड राम्रो र फूर्तिलो गराउने हर्मोन सेरोटोनिन र डोपामाइनहरूको उत्पादन बढ्छ र डिप्रेसन जस्ता मानसिक रोग निको बनाउँछ ।
  • प्यारासिम्पाथेटिक स्नायु प्रणालीलाई सन्तुलित बनाई तनावबाट आराम गराउनुका साथै उपचार गराउँछ ।
  • रोग विरुद्धको प्रतिरोध क्षमता बढाउँछ ।
  • मांसपेशीमा आरामको अनुभव गराउँछ ।
  • बुढ्यौलीपन ढिलो गराउँछ र तरोताजा अनुभूति गराउँछ ।

२) मानसिक स्वास्थ्यमा हुने फाइदा

  • चिन्ता, तनाव र डिप्रेसन घटाउँछ ।
  • तनाव भइहालेमा तुरुन्तै घटाउने गरी स्नायु प्रणाली विकसित हुन्छन् ।
  • सकारात्मक संवेगहरू बढाउँछ ।
  • एकाग्र बनाउने र वर्तमानका सावधानीहरूको बारेमा सचेत गराउँछ ।
  • संवेगात्मक क्षमता, निरन्तर ताजापन र बौद्धिक क्षमताको विकास गराउँछ ।
  • समानुभूति तथा दया, माया र ममताको विकास गराउँछ ।
  • स्वयम् आफूसँग र अन्य परिस्थितिसँग इन्द्रियहरूको संयोजन गराउने प्रक्रियामा वृद्धि गर्छ ।
  • आफू को हो र जीवनको उद्देश्य तथा अर्थको बारेमा परिचित गराउँछ ।
  • सामाजिकपनको विकास गराउँछ ।

ध्यान गर्ने विधि

ध्यानका विभिन्न विधि हुन्छन् । सुरुमा ध्यान गर्न आरामपूर्वक घण्टौं बसेर कुनै कुरा सोच्न खाली मस्तिष्क प्रयोग गर्नु कठिन समेत हुन्छ । ध्यान गर्नु भनेको श्वासलाई केन्द्रित गरी सकेसम्म एकाग्र हुनु हो । आजकाल ध्यानलाई आराम र चिन्तित दिमागको उपचारका लागि प्रयोग गरिन्छ ।

जे–जसरी ध्यान गरे तापनि मनलाई एकाग्र राख्न सक्ने गरी कुनै वस्तु वा आकृतिमा केन्द्रित रही ध्यान गर्न सकिन्छ । ध्यान जुनसुकै अवस्थामा पनि गर्न सकिने र यसको कुनै निश्चित समय वा परिस्थिति हुँदैन । लेख्दा, पढ्दा, हिंड्दा, बस्दा, पूजापाठ गर्दा आदि जुनसुकै अवस्थामा पनि ध्यान गर्न सकिन्छ । ध्यान गर्दा आफ्नो सीप राम्रो भयो कि भएन भनी विचार गर्नुहुँदैन यसले तनाव बढाउँछ । ध्यानलाई आफ्नो आवश्यकता र क्षण अनुसार गर्न सकिन्छ । ध्यान गर्ने तरिका राम्रो वा नराम्रो कुनै हुँदैन । आफूलाई तनाव घटाउने र राम्रो महसुस गराउने विधि हो । तैपनि ध्यान एउटा सीप हो, यसका लागि निम्न विधि अवलम्बन गर्न सकिन्छ :

१. ध्यानका लागि राम्रो कुसन वा म्याटमा राम्रोसँग सजिलो गरी बस्ने ।

२. आँखा बन्द गर्ने ।

३. सामान्य तरिकाले प्राकृतिक रूपले श्वास–प्रश्वास गर्ने ।

४. श्वास लिएको र छाडेको प्रक्रियामा ध्यान केन्द्रित गर्ने । श्वास–प्रश्वास गर्दा शारीरिक चालको अवस्था हेर्ने । अनि आफ्नो छाती, काँध, करङ्ग तथा पेट हेर्ने । ध्यान अन्यत्र जान थालेमा पुनः श्वास–प्रश्वास प्रक्रियामा केन्द्रित हुने । यसरी ध्यान गर्दा सुरुमा २ देखि ३ मिनेटसम्म गर्ने र विस्तारै लामो समयसम्म गर्न सकिन्छ ।

५. मन्त्र उच्चारण गर्दै ध्यान गरेको भए मन्त्र दोहोर्‍याइरहने वा प्रार्थनामा नै सीमित हुनुपर्छ ।

६. हिंड्दै ध्यान गर्न पनि सकिन्छ तर हिंडाइ विस्तारै हुनुपर्छ । आफू पुग्नुपर्ने स्थानमा ध्यान दिने होइन कि आफ्नै खुट्टा, जमिन र प्रभावित अङ्गहरूमा ध्यान दिई हिंड्नुपर्छ ।

७. आफ्नो ध्यान कुनै आदर्श व्यक्ति वा इष्ट देवताप्रति केन्द्रित गरी आँखा बन्द गरी उक्त आकृतिप्रति कल्पना गर्दै कृतज्ञ हुनुपर्छ ।

अन्त्यमा, ध्यान एउटा अस्तव्यस्त दैनिकीका लागि राम्रो वरदान नै हो । मस्तिष्कलाई ऊर्जा दिने वा चार्ज गर्ने सबैभन्दा उत्तम विधि नै ध्यान भएको हुनाले यो अति व्यस्त व्यक्तिले दैनिक कम्तीमा एक घण्टा गर्ने र व्यस्त व्यक्तिले आधा घण्टा कम्तीमा गर्नुपर्छ । थप तनाव र दबाब भएमा मस्तिष्कलाई आराम राख्नको लागि ध्यानको मात्रा बढाउँदै लैजान सकिन्छ । ध्यानले मस्तिष्कलाई आराम दिने मात्र नभई यो एउटा त्यस्तो विधि हो जसले व्यक्तिको अन्तरनिहित क्षमता प्रस्फुटन गराइदिन्छ, ज्ञानको तह बढाइदिन्छ, स्मरण क्षमता बढाइदिन्छ, मनमा आनन्दको अनुभूति ल्याइदिन्छ र तनावबाट मुक्त गर्दछ । अतः आजैदेखि ध्यान गर्नतिर लागौं, सांसारिक अस्तव्यस्तको दुनियाँबाट केही क्षण आराम गरौं ।

(लेखक जीवनशैली व्यवस्थापनमा विद्यावारिधि, प्राध्यापक तथा सेवानिवृत्त जनस्वास्थ्य निरीक्षक हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?