
काठमाडौं । ‘पुष्पा २’ को प्रिमियरका क्रममा भएको भागदौड मामिलाबारे अभिनेता अल्लु अर्जुनमाथि प्रहरीले आजदेखि बयान लिन सुरु गरेको छ । बयानका लागि उनी हैदाराबादको चिक्कडपल्ली प्रहरी चौकी पुगेका छन् ।
रिपोर्टका अनुसार अल्लु अर्जुनलाई एसीपी रमेश कुमार र सीआई राजुको निगरानीमा सोधपुछ भइरहेको छ । सोधपुछका क्रममा अभिनेताका वकिल अशोक रेड्डी पनि उपस्थित छन् ।
योसँगै अल्लु अर्जुनको घरबाहिर सुरक्षा ब्यवस्था कडा पारिएको भारतीय संचारमाध्यमले जनाएका छन् । आइतनबार जुबली हिल्सस्थित अभिनेताको घरमा केही व्यक्तिले तोडफोड गरेका थिए । यो घटनामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
वकिलको बहस सुनेपछि अदालतले सबै ६ जना अभियुक्तलाई विना सर्त र जरिवाना धरौटीमा छाड्न आदेश दिएको छ । यसैबीच अभिनेताको घरबाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ ।
डिसेम्बर ४ मा हैदरावादमा ‘पुष्पा २’ को स्क्रिनिङका क्रममा भागदौड हुँदा एक महिलाको मृत्यु भएको थियो । ती महिलाका छोरा गम्भीर घाइते भएका थिए । यस मामिलामा अभिनेता पक्राउ परेका थिए । तर, एक दिन जेलमा बिताएपछि भोलिपल्ट बिहान धरौटीमा छुटे ।
भागदौडमा मारिएकी महिलाका पतिले अल्लु अर्जुनविरुद्धको मुद्दा फिर्ता लिन तयार रहेको बताएका छन् । उनीहरु अल्लु अर्जुनलाई घटनामा दोषी मान्दैनन् । एनडीटीभीका अनुसार भास्करले छोराको उपचारका लागि अभिनेताबाट पूर्ण सहयोग पाएको बताएका छन् ।
प्रतिक्रिया 4