
नेपालका सबै राजनीतिक दलहरूको उपस्थिति र तथ्याङ्क हेर्ने हो भने अहिले पनि महिला निर्णायक तहमा कमै छन् । अहिले देखिएको सङ्ख्याले राजनीतिक पार्टीमाथि उठिरहेको प्रश्नलाई सम्बोधन त गर्ला तर महिलाको समग्र विकासतर्फ अझै पनि पार्टीहरू उदार देखिंदैनन् ।
हाल प्रतिनिधिसभा र राष्ट्रिय सभामा गरी ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने प्रावधान अनुरूप नै प्रतिनिधिसभामा महिलाको सहभागिता लगभग ३३ प्रतिशत छ । प्रदेश सभाहरूमा महिलाको सहभागिता ३० देखि ३५ प्रतिशत रहेको छ । त्यस्तै स्थानीय तहमा ४० प्रतिशत अनिवार्य रूपमा महिला सहभागिता हुनुपर्ने व्यवस्था अनुरूप महिलाहरूको सहभागिता ४० प्रतिशत छ ।
यो महिलाको सामाजिक जीवनलाई अगाडि ल्याउन हाम्रो जस्तोे विकासोन्मुख देशले हासिल गरेको महत्वपूर्ण उपलब्धि हो । तर त्यतिले मात्र सबै महिलाको जीवनमा परिवर्तन आउँछ त ? यसतर्फ गम्भीर भएर सोच्न जरूरी छ ।
नेपालको संविधानले महिलाको समान अधिकारको बारेमा स्पष्ट बोलिदिएको छ तर के समाजमा महिलाको अवस्था संविधानले व्याख्या गरे अनुरूप छ त ? आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक, मानसिक दृष्टिकोणबाट नेपाली महिला आजको समयमा विश्व परिवेशसामु कहाँ छन् ? यी सबै सवालको जवाफ खोज्न पनि आउने निर्वाचनमा महिला सहभागिताको अवस्था र सङ्ख्या बढ्न जरूरी छ ।
दुई वर्षपछि फेरि स्थानीय निर्वाचन आउँदैछ, यो पल्ट नेपाली राजनीतिमा महिलाको सहभागिता र जितको सुनिश्चितता कति होला ? यसको निम्ति दलहरू कति उदार भएर आउलान् ? सम्बन्धित निकायहरूले यस विषयमा कसरी सोचिरहेका छन् ?
नागरिक समाज र महिला अभियन्ताहरूले यसलाई कसरी हेरिरहेछन् ? महिलालाई समान स्थानमा ल्याउन तपाईं–हामी सबैको भूमिका के रहनुपर्छ यस विषयमा समयसँगै सोच्न र सचेत रहन जरूरी छ, जसको कारण आउने दिनमा नेपाली महिलाको जीवन परिवर्तनको निम्ति ठूलो भूमिका खेल्छ ।
त्यसैले दलका महिला नेतृ, अभियन्ताहरू सचेत हुन जरूरी छ । पहिलो संविधानसभाताका जसरी चुरा बेच्दाबेच्दै आएका महिलाहरू अहिले आएर निकै परिपक्व भइसकेको अवस्था छ— उनीहरूले नजिकबाट पितृसत्तालाई चिनेका छन् । महिलाको अवस्थाको विषयमा सचेत र जानकार छन् ।
पार्टीमा लामो समयदेखि निरन्तर क्रियाशील महिलाहरू महिला समानताको निम्ति आधारस्तम्भ हुन्, तिनलाई जिम्मेवारी प्रदान गर्ने उदारता पार्टीभित्र रहिरहनुपर्छ । महिला उम्मेदवारहरूको निम्ति लचिलो नीति अवलम्बन गर्नुपर्छ, पार्टीहरूले हौसला र प्रेरणा दिइरहनुपर्छ किनभने नेपालमा लोकतन्त्र आएकै कति भयो ! त्यसमा पनि महिला बहुलरूपमा सामाजिक जीवनतर्फ अग्रसर भएकै कति भयो !
बल्ल घर बाहिर निस्किएर समाजमा के भइरहेछ ? देश कसरी चलिरहेछ ? विश्व परिवेशमा महिलाको अवस्था के छ ? महिलामाथि मात्रै किन यति धेरै प्रश्न भनी प्रश्न गर्न सुरु गरेका छन् । यो आफैंमा राम्रो संकेत हो । शासन, सत्ता र शासनसम्म रहेको पितृसत्ताको दबदबामाथि प्रश्न गर्नु भनेको नेपाली समाज विस्तारै चेतनाको दृष्टिकोणबाट माथि उठ्नु हो ।
समग्र महिलाको अवस्थामा सुधार गर्न के गर्नुपर्ला भन्दा पार्टीभित्र स्थापित महिला नेतृहरूले राजनीतिमा आउन चाहने युवा महिलाहरूको निम्ति सकारात्मक र सहयोगी भावना राख्न जरूरी छ जहाँबाट निर्णायक भूमिका खेलिन्छ समग्र देश र समाजलाई अघि बढाउन । तर के त्यसैगरी अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई मार्गप्रशस्त गरिरहेको छ त ? के पछिल्लो पुस्ताहरू सचेत रूपमा अगाडि आइरहेका छन् त ? अहिले पनि कतिपय प्रश्नको हामीसँग स्पष्ट जवाफ छैन ।
पुस्ता हस्तान्तरणको परम्परा पुरुषभित्रै कमजोर अवस्थामा रहेको छ भने महिला नेताहरूमा निकै कमजोर छ । यो अवस्थालाई सुधार गर्न राजनीतिमा छवि बनाइसकेका अग्रणी महिलाहरूको ध्यान यता गएको देखिंदैन ।
निरन्तरको दबाव, आन्दोलन र अभियानहरूले वर्तमान समयमा नेपाली महिलाले हासिल गरेका उपलब्धिहरू महत्वपूर्ण छन् । समानताको हक, महिलाको हक, महिला हिंसा विरुद्धको हक, समान राजनीतिक हक, समान पारिश्रमिक र रोजगारको हक, समान नागरिक अधिकार, प्रजनन् स्वास्थ्य सम्बन्धी अधिकारलाई कार्यन्वयन गर्न निरन्तर बहस गर्न जरूरी छ ।
जबसम्म दान र अनुदान भन्दा माथि उठेर महिला मुक्ति र परिवर्तनको विषयमा एक भएर सोच्न सकिन्न, हाम्रो आन्दोलन बाटैमा कहीं विलीन हुने सम्भावना रहन्छ । यो हुनु भनेको फेरि पनि आउने कैयौं पुस्तासम्म यो देशमा छोरीहरू म पनि मान्छे हो भनेर पितृसत्तासँग लडिरहनु हो । यो सबै अवस्थालाई सम्बोधन गर्न निर्णायक तहमा महिलाको उपस्थिति समान नभई सम्भव छैन ।
आज पनि लालपुर्जा हातमा भएर मात्रै भएन भोगचलनको अधिकार महिलासँग छैन । नेपालकै सुदूर बस्तीहरूमा महिलाले मिहिनेत गरेर बाख्रा पाल्ने, कुखुरा पाल्ने, घर, खेत, बारी सम्हाल्ने, अन्न उत्पादन गर्ने गर्छन् तर त्यसलाई भोग गर्ने विषयमा महिलाको अधिकार हुँदैन । त्यसो त सरकारदेखि दातृ निकाय सबै नै महिलाको विकासलाई केन्द्रमा राखेर योजना तथा बजेट बनाउन सचेत देखिन्छन् तर पींधमा रहेका महिलाहरूलाई यस विषयमा हेक्का नै छैन, यो संविधानले मेरो निम्ति के के अधिकारहरू सुरक्षित गरेको छ भन्ने ।
समानताको हक सम्बन्धी धारा ३८ ले महिलालाई हिंसाबाट संरक्षण दिने अधिकार, सम्पत्तिमा महिला र पुरुषलाई समान अधिकार, सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्यको हक, राजनीतिक सहभागितामा समान हकको विषयमा स्पष्ट बोलेको छ। तर, जातकै आधारमा आज पनि यो समाजमा मान्छेले मान्छेलाई विभेद गरिरहेछ। छोरीहरू गर्भमै मारिनुपर्ने अवस्था अद्यापि छँदैछ । तसर्थ यस्ता अनगिन्ती सवाललाई राज्यले सम्बोधन गर्न र महिला कुनै सघाउ उपकरण होइन, यो समाजको हरेक आयामहरूमा उसको समान उपस्थिति, योगदान र सहभागिता छ भन्ने सरकारले बुझ्न जरूरी छ ।
तर समाजले त्यसो भनेन । हाम्रो मूल्य–मान्यताहरूले त्यसो भनेन । हाम्रो संस्कारहरूले त्यसो भनेन । साँच्चै भन्ने हो यो समाजले महिलाको अस्तित्वलाई समान रूपमा स्वीकार नै गरेको छैन । उल्टै यी मूल्य र मान्यताहरूले महिलालाई दुःखको भुमरीमा यसरी धकेल्यो कि यी सबै परिस्थितिहरूबाट माथि उठ्न महिलालाई शताब्दीऔं लाग्छ भन्ने भर्खरै अमेरिकामा सम्पन्न चुनावको नतिजाले स्पष्ट गरेको छ ।
यो समाजमा कैयौं कारणले पुरुष पीडित छन्, तर महिलाले बाँचिरहेको जीवन त्योभन्दा कैयौं गुणा कष्टकर छ । कुनै पुरुष बलात्कृत हुनु परेको छैन । छोरा नजन्माएको कारण घरपरिवारबाट परित्यक्त हुनु परेको छैन । दाइजो नल्याएको कारण जलेर मर्नु परेको छैन । मुम्बईको कोठीमा बेचिनु परेको छैन । छाउ बार्नुपर्ने कारणले गर्दा सर्पले डसेर मर्नु परेको छैन । काखको बच्चासँगै कोशीको भङ्गालोमा आत्महत्या गरेको समाचार यो समाजले सुन्नुपरेको छैन । सरकारले बुझ्न जरूरी छ आत्महत्या कमजोरी होइन यो अवस्था राज्य र समाजको व्यवस्थाहरूले सृजित गर्ने गर्छ ।
यी सबै सामाजिक अवस्थाबाट माथि उठ्न के गर्नुपर्ला ? पक्कै पनि नेपाली महिलाहरू आफैंले हिंडेर आएको बाटोतर्फ पुनः फर्केर आत्म–आलोचना गर्न जरूरी छ । दलगत ह्वीप भन्दा माथि उठेर महिलाको मुद्दामा एक हुन जरूरी छ । नेपालको महिला सशक्तीकरण र आन्दोलनतर्फ फर्किएर हेर्दा १९४७ मा स्थापना भएको नेपाल महिला संघले महिलाको राजनीतिक र सामाजिक अधिकारको विषयलाई उठान गरेको थियो । जुन समयमा महिलाहरू घरबाट बाहिर निस्कन सक्नु नै ठूलो उपलब्धि मानिन्थ्यो । तर आजको अवस्थामा नेपाली समाजको विभिन्न आयाममा महिलाहरूले लडेर, संघर्ष गरेर उपस्थितिलाई मजबुत बनाएका छन् । यो महिलाले गर्न सक्छन् भन्ने दह्रो प्रमाण हो ।
घर कस्तो छ भन्ने बुझ्न त्यो घरको छोरी र बुहारीको अवस्था हेरे थाहा हुन्छ रे ! सायद देशको अवस्था कस्तो छ यो बुझ्नको निम्ति समग्र महिलाहरूको सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक जीवन कस्तो छ भन्ने अवस्थाले निर्धारण गर्दछ । अतः यो अवस्थामा सुधार ल्याउन समग्र महिला विचार, वाद, धर्म, राजनीति र दृष्टिकोणहरूको अन्तरविरोधबाट माथि उठेर एक हुन जरूरी छ ।
प्रतिक्रिया 4