+
+
ब्लग :

२१ वर्षे युवाले देखेको देश

देशले परिवर्तन खोजेको छ। तर के अहिलेको रफ्तार उपयुक्त छ त ? यसको रफ्तार ढिलो हो भने राज्यको भूमिका अब गति बढाउने होइन त ?

सौरभ खड्का सौरभ खड्का
२०८१ पुष ९ गते १६:४५

म आफ्नो देशलाई सम्मान गर्ने एक २१ वर्षे इन्जिनियरिङ अध्ययनरत छात्र हुँ। देशमै केही गर्छु भनेर आफ्नो कदम अघि सार्दै हिंडेको एक युवा हुँ। र म मान्छु विकास हुँदैछ, देशले परिवर्तनको खुड्किलो चढ्दैछ। तर प्रश्न आउँछ, के विकासको रफ्तार उपयुक्त छ त? विकास त जानी नजानी अवश्य भइनै हाल्छ, राज्यको काम भनेको त यसको रफ्तार बढाउने हैन र?

मैले यहाँ राख्न खोजेको विषय भनेको, हामी नेपालीहरु भ्रम नै भ्रमको अन्धकार भुमरीमा फसेका छौं, र हामीलाई यो विषयको झिनो पत्तो पनि छैन। अनि यो भन्दै गर्दा म स्वयम् यो भुमरीको एउटा मूल सिकार भएको मैले महसुस गरेको छु। के मेरो कुराको विश्वास गर्न मुस्किल भइरहेको छ?

एउटा उदाहरण, प्रख्यात ग्रीक दार्शनिक अरिस्टोटलले आफ्नो किताब ‘पोलिटिक्स्’ मा लेखेका छन्–राज्य र सरकारको मूल उद्देश्य भनेकै आफ्ना नागरिकको सुखी जीवनलाई प्रवर्धन गर्नु हो। यति सिधा काम छ राज्यको, तर जुन प्रकारले कुर्सीमा बस्नुभएका हाम्रा वरिष्ठ व्यक्तित्वहरुले हामीलाई अनेक थरी विषयहरुमा झुलाइरहनुभएको छ जसले गर्दा हामी साधारण जनतालाई लाग्न थालेको छ कि हामी नागरिकलाई सुखी जीवन दिलाउनु उनीहरुको सबैभन्दा गाह्रो र अन्तिम उद्देश्य हो।

अहिले त हामी नेपालीले जानी नजानी स्वीकारिसकेका छौं कि, आफ्नो जीवन आफ्नै संघर्षले सुखी बनाउने हो, सरकार आफ्नै निजी काममा अस्तव्यस्त छ। अब आफैं सोच्नुस् हामी नेपाली भ्रम नै भ्रमले बाँचेको एउटा बिचरा नागरिक होइन त? अनि बिचरा नागरिकको देशलाई बिचरा देश भन्न किन जिब्रो चपाउनु त!

कुरा जति जटिल देखिन्छ नि खासमा त्यति सरल तर गम्भीर छ। सरल किन भन्दाखेरि, हामी नागरिकले पारदर्शितापूर्वक बुझ्नुपर्छ कि हाम्रो जिम्मेवारी के हो भनेर। हामीले सरकारबाट के खोज्ने हो त! के गफ हो र के सत्य, त्यसको भिन्नता कसरी छुट्याउने त! हामीले यति विषयलाई मात्र मनन् गरे पनि अहिलेको अवस्थामा हामीलाई एक सचेत र चलायमान नागरिक बनाउन प्रमुख भूमिका खेल्दछ। पक्कै पनि सकुञ्जेलसम्म सरकारबाट खोज्ने हो, नत्र पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले एक अन्तर्वार्तामा भनिनै सक्नुभयो, सरकारबाट सुरुमा खोज्ने हो, केही सीप नलागे युवा युवा मिलेर सरकारबाट खोस्ने हो।

अब केही वर्ष उता फेरि चुनावी माहोल सुरु हुन्छ, फेरि म कुर्सीको हकदार भन्नेहरु तपाईंको ठाउँमा यो गर्दिन्छु, त्यो गर्दिन्छु भन्दै मोहनी लाग्ने गुणगान गर्दै आउने तह छ, रंगीचंगी कार्यसूची र एजेण्डा फर्फराउँदै हिंड्ने निश्चित छ। तर योपालि हामीले ठूलो आवाजमा अगाडि नै भन्न सक्नुपर्‍यो, यो पालि चैं देश बनाउने कार्यसूची र एजेण्डा लिएर आउनुस् है, चुनाव जित्ने कार्यसूची र एजेण्डा देखेर हामी वाक्कदिक्क भइसक्यौं।

यो पालि “मैले जिते भने यो यो गर्छु” भनेर गुणगान मात्र दिने होइन, “यो यो काम यसरी गर्छु, यति समयमा गर्छु, यी फुर्तिला र सक्षम व्यक्तिको समूहसँग मिलेर काम गर्छु” भनेर यथार्थ पस्किनु होस् हाम्रो मत तपाईंलाई, अनि फेरि छल्न पाउनु हुन्न नि, हामी के गफ के सत्य सरासर छुट्याउन सक्छौं है ! हामी जनताले अगाडि नै यति वाक्य प्रष्ट रूपमा भन्ने हो भने, चुनावी परिणाम केही हदसम्म फरक पर्ला कि ?

अब के भ्रम के सत्य, को ठग को साधु भन्ने विषयमा अझ दूधमा दूध पानीमा पानी बनाउन म अर्को यथार्थ पस्कन्छु। हाम्रो देशमा हरेक वर्ष बर्खायाम आरम्भ हुनासाथ अनेकौं प्राकृतिक विपत्तिले पनि ढोका ढक्ढक्याउने गर्दछ, बर्खायामभरी थुप्रै निर्दोष जनताले अकालमा ज्यान गुमाउने गर्दछन्।

अहिले हरेक युवाको सुझाव उही छ, प्रधानमन्त्रीदेखि कर्मचारीसम्म, व्यापारीदेखि उपभोक्तासम्म सबैले आफ्नो कर्म इमानदारीपूर्वक गरे, यो देशले मुहार फेर्न धेरै समय लगाउँदैन।

हजारौंको घरबार तहसनहस हुने गर्दछ, कैयौं टुहुरो हुन्छन्, कैयौंले आफ्नो सन्तान गुमाउनुपर्दछ। देश दु:ख र त्रासले भरिभराउ हुन्छ। त्यस्तो बेला हाम्रा माननीयहरु दौडधुप गरे झैं गर्छन् नगर्ने होइन, उद्धार टोलीदेखि आश्वासन दिने काममा कोही पछि हट्दैनन्। अब हामी पर्‍यौं सिधा साधा जनता, हामी पनि मक्ख पर्न बेर लगाउँदैनौं।

तर जब यो बर्खायाम समाप्त हुन्छ, सबै माननीयहरूले अब बर्खायाम कहिल्यै नआउने जसरी यी सब घटना भुसुक्कै बिर्सिहाल्छन्, न सरकारमा भएकाहरुले यी विपत्ति आगामी वर्ष अलि कम विनाशकारी बनाउन कदम चाल्छन्, न विपक्षमा भएकाले उठाउनुपर्ने आवाज उठाउँछन्। अघि भने जस्तै सरकार आफ्नो निजी काममा अस्तव्यस्त हुन थाल्दछ। दु:खलाग्दो कुरा त के हो भन्दा, अर्को बर्खाले देशमा यो पालि भन्दा बढी भयावह स्थिति लिएर नआउला भन्न सकिंदैन, अनि फेरि त्यो बेला हामी नेपालीले त्यही आश्वासनको भरमा रमाउनुपर्ने हो र?

असोजदेखि जेठ महिनासम्म भनेजस्तो समय थियो त, अहिलेको समय भनेको त विज्ञहरुसँग समन्वय गरेर, इन्जिनियर, प्राविधिक टोली खटाएर, बर्खायाममा आउने विपत्ति न्यूनीकरण गर्न टुप्पी कसेर कदम अघि सार्ने बेला होइन र यो? अब आफैं विचार गर्नुस् के भ्रम रहेछ र के सत्य।

त्यसैले म भन्छु हामी जनताको बोली र बोली सँगैको आक्रोस पोख्ने बेला आइसकेको छ। यो राष्ट्र कोही माइकालालको निजी खेलमैदान होइन। हाम्रो नेपाल भारी इतिहास र अनगिन्ती सम्भावना बोकेको एक सुन्दर राष्ट्र हो।

फेरि पनि गलत नसोच्नुहोला, मलाई कोहीसँग केही रीस–राग छैन, अलि अलि गुनासो होला र त्यो गुनासो भित्र लुकेको आशाको दियो निभ्न लागिसकेको छ। अहिले मात्र आत्मविश्वासले यो मुहार अज्यालो छ।

आत्मविश्वास चैं केको भन्दाखेरि जब देशको भार हामी युवाको काँधमा सुम्पिन्छ, हामी यो देशलाई प्रेम र जोसजाँगरका साथ इमानदारीपूर्वक रफ्तारमा अगाडि लैजाने छौं। समय आइसकेको छ, अब कहिले हाम्रा वरिष्ठज्यूहरु कुर्सीको मोहले अघाउनु हुन्छ र हामीलाई सुम्पिनुहुन्छ भनेर हामी कुरेर बसिराखेका छौं।

अहिले हरेक युवाको सुझाव उही छ, प्रधानमन्त्रीदेखि कर्मचारीसम्म, व्यापारीदेखि उपभोक्तासम्म सबैले आफ्नो कर्म इमानदारीपूर्वक गरे, यो देशले मुहार फेर्न धेरै समय लगाउँदैन।

हामीसँग संविधान छ, एक साझा अभिभावक हामीसँग छ, सबै जना आफ्नो मर्यादामा रही, कर्तव्यपरायण भई आफ्नो कदम सार्ने हो भने, हाम्रो नेपाल आमा हर्षमा रम्नेछिन्। अनि हाम्रो देश बिचरा रहँदैन, मात्र एक सुन्दर, प्यारो, भारी इतिहास बोकेको र अनगिन्ती सम्भावना बोकेको राष्ट्र हुन्छ। र एक २१ वर्षे युवा फेरि ठूलो आवाजसँग भन्दछ, अब पालो युवाको!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?