
९ पुस, काठमाडौं । काठमाडौं उपत्यकामा यस वर्षको पहिलो हिउँदे वर्षा भएको छ । अहिले सिमसिम पानी परिरहेको छ ।
पश्चिमी वायुको प्रभावले पानी परेको मौसमविद्ले बताएका छन् । पानी परेसँगै चिसो बढेको छ ।
यो प्रणालीको प्रभाव सबैभन्दा बढी पश्चिम नेपालका भूभागमा परेको छ ।
सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा बदली भएकामा विस्तारै मुलुकभरि यो प्रणालीको प्रभाव पर्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार राति र बिहान उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने र अन्य केही क्षेत्रमा हल्का वर्षा हुनसक्ने सम्भावना छ ।
महाशाखाले सार्वजनिक गरेको विवरणमा हाल देशमा पश्चिमी वायुको प्रभाव रहेका तथा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव हुने देखिएको छ ।
आगामी २४ घण्टामा बागमती प्रदेश र मधेश प्रदेशको थोरै स्थान तथा कोशी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बुधबारदेखि भने यो प्रणाली केही कमजोर हुँदै जानेछ ।
प्रतिक्रिया 4