+
+

जानकी गाउँपालिकाले कार्यविधि बनाएर विद्यालयलाई दियो अनुदान

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ९ गते २०:१६

९ पुस, कैलाली। जानकी गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार गर्न नतिजाका आधारमा विद्यालयलाई अनुदान दिन सुरु गरेको छ ।

गाउँपालिकाले नतिजामा आधारित अनुदान कार्यक्रम कार्यविधि कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकाले विद्यालयलाई विद्यार्थीले हासिल गरेको नतिजाका आधारमा अनुदान दिन सुरु गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले बताए ।

उनका अनुसार नतिजाकै आधारमा गाउँपालिकाले चालु आर्थिक वर्षमा विद्यालयलाई अनुदान दिएको हो। उनले भने, ‘आधारभूत तहमा कक्षा ८ को परीक्षा र एसइईको नतिजामा धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयलाई अनुदान दिएका हौं। ‘

गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले विद्यालयको गुणस्तर सुधार गर्न र विद्यार्थीको सिकाइ उपलब्धि बढाउनका साथै विद्यालयलाई प्रतिस्पर्धी बनाउन गाउँपालिकाले विद्यालयलाई नतिजामा आधारित अनुदान कार्यक्रम सुरु गरेको बताए ।

उनले भने, ‘पहिलो वर्ष आधारभूत तह र माध्यमिक तहको कक्षा ८ र १० लाई प्राथमिकतामा राखिएको थियो । आउँदो वर्षदेखि कक्षा ५ को परीक्षा नतिजाका आधारमा पनि विद्यालयले अनुदान पाउनेछन्’, अध्यक्ष चौधरीले भने, ‘यस कार्यक्रमले शैक्षिक गुणस्तरमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास लिएका छौँ।’

प्रमुख प्रशासकीय अधिकृत चौधरीका अनुसार माध्यमिक तहतर्फ भृकुटी मावि प्रथम भएको छ । उसले चार लाख अनुदान प्राप्त गरेको छ । यस्तै जनता नमूना मावि मुनुवाले दोस्रो भएर २ लाख ५० हजार प्राप्त गरेको छ भने अरुणोदय मावि खैरीफाँटाले तेस्रो भएर १ लाख ५० हजार प्राप्त गरेको छ ।

यसैगरी आधारभूत तहतर्फ राष्ट्रिय आधारभूत विद्यालय खैरीपुर प्रथम भएको छ । राष्ट्रिय आधारभूत विद्यालयले रु. तीन लाख नगद पुरस्कार प्राप्त गरेको छ । त्यसैगरी दोस्रो हिमालय राष्ट्रिय मावि अमरावतीले रु दुई लाख प्राप्त गरेको छ । यसले विद्यालयलाई प्रतिस्पर्धामा ल्याउने विश्वास गाउँपालिकाको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?